हाजिर १२ महिना, तलब ११ महिना !

हस्त चौलागाँइ
कालीकोट।
१२ महिना हाजिर, तर तलब भने ११ महिनाको मात्रै ! वर्षभरि विद्यालयमा अध्यापन गराउने शिक्षकले एक महिनाको तलब नपाउँदा उनीहरूको श्रमको मूल्य कसले बुझ्ने ?
कालीकोट सदरमुकाम मान्ममा रहेको लोटस विकास एकेडेमीमा कार्यरत शिक्षकहरूले यस्तै समस्या भोग्दै आएको गुनासो गरेका छन् ।
विद्यालयमा १२ महिनाकै हाजिर लगाइने भए पनि दशैँ–तिहारको बिदा पर्ने एक महिनाको तलब भने नपाउने गरेको उनीहरूको भनाइ छ ।
अझ रोचक पक्ष त के छ भने, बिदाको समयमा विद्यार्थीबाट भने एक महिनाको शुल्कसमेत लिने गरिएको पाइएको छ । विद्यालय सञ्चालन तथा व्यवस्थापन, कर्मचारीको तलब तथा अन्य प्रशासनिक खर्च आवश्यक पर्छन् । तर, विद्यालयको आर्थिक व्यवस्थापनकै नाममा शिक्षकले आफ्नो एक महिनाको पारिश्रमिक गुमाउनुपर्ने अवस्था कति उचित हो ?
लोटस विकास एकेडेमीमा कार्यरत शिक्षक पार्वती मल्ल भन्छिन् हामीले ११ महिनाको तलब पाउछौ तर विद्यार्थीबाट दशै तिहारको एक महिना विदाको शुल्क लिन्छौ । कि विद्यार्थीबाट शुल्क नलिनु पर्ने लिए तलब दिनु पर्ने मल्लको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले भने कार्यालय व्यवस्थापन गर्न कठिनाइ भएकाले शिक्षकलाई ११ महिनाको मात्रै तलब भत्ता दिने गरिएको स्वीकार गरेका छन् ।
यता, केही निजी विद्यालयले भने शिक्षकको कार्यदक्षता, क्षमता र कार्यअवधिका आधारमा १२ महिनाकै तलबसहित थप सुविधा उपलब्ध गराउँदै आएका छन् ।
सुर्खेत स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्रधानाध्यापक हिमप्रकाश ढुंगानाले आफ्नो विद्यालयमा शिक्षकको कार्यदक्षता, क्षमता र कार्यअवधिलाई आधार मानेर १२ महिनाको तलब सहित अन्य भत्ता समेत उपलब्ध गराउने गरेको बताएका छन् ।
कालीकोटमै रहेको कर्णाली हर्ट इङ्लिस बोर्डिङ स्कुलमा समेत दशैँ–तिहारको एक महिनाको तलब भत्ता नपाएको शिक्षकहरूले गुनासो गर्दै आएका छन् ।
लोटस विकास एकेडेमीका नि वर्तमान कार्यरत शिक्षक खुमबहादुर शाही अहिले कर्णाली हर्ट बोर्डिङमा कार्यरत छन् । उनले लोटस विकास एकेडेमीमा कार्यरत रहँदा आफुले ११ महिनाको तलब खाने र १२ महिनाको हाजिर लगाउने गरेको बताउछन् । अहिले पनी उनी १२ महिनाको हाजिर लगाएर ११ महिनाको मात्रै तलब पाउने अवस्था रहेको बताउँछन् ।
कर्णालीका विभिन्न जिल्लामा सञ्चालित निजी विद्यालयहरूमा शिक्षकलाई दिइने तलब तथा सेवा सुविधामा एकरूपता नरहेको देखिन्छ। कतिपय विद्यालयले १२ महिनाकै तलब र अन्य सुविधा उपलब्ध गराउँदा कतिपयले ११ महिनाको मात्रै तलब दिने गरेको शिक्षकहरूको गुनासो छ ।
यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई, कालीकोटसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
वर्षभरि अध्यापन गराउने शिक्षकको हाजिर १२ महिनाको, तर तलब ११ महिनाको मात्रै हुनु कति न्यायोचित छ ? शिक्षकको श्रम, पारिश्रमिक र अधिकारको विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक देखिन्छ ।






