कर्णालीका ९ सयबढी किसानलाई ६ करोड व्याज अनुदान

सुर्खेत, ११ जेष्ठ ।
कर्णाली प्रदेशबाट किसानलाई अनुदान दिने प्रक्रिया केही रोकिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान वितरण प्रभावकारी नभएको भन्दै कृषि ऋणमा व्याज अनुदान दिने कार्य सुरु गरेको छ ।
२०७७ मंसिरमा सुर्खेतमा रहेका राष्ट्रिय क वर्गका ६ वटा बाणिज्य बैंकसंग सम्झौता गरेर बैंकबाट कृषि ऋण लिएका किसानलाई ७ प्रतिशत व्याज अनुदान दिन थालिएको थियो ।
त्यसैगरी २०७८ असारदेखि सुर्खेतमा रहेका विभिन्न ८ वटा सहकारी संस्थाहरु छनौंट गरी सहकारीका सदस्यहरुलाई समेत कृषि उत्पादनमा बृद्धि गर्न, कृषिको बजारीकरण गर्न कृषि ऋणको व्याजमा अनुदान दिन थालिएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट कृषि ऋणमा व्याज अनुदान कार्यक्रम लागु भएपछि कर्णाली प्रदेशका मुगु बाहेका ९ जिल्लाका कृषकहरु लाभान्वित भएका छन् । व्याज अनुदान दिने ६ वटा बैंकबाट २८९ जना र सुर्खेतका ८ वटा सहकारीबाट ६५० जना कृषकहरुले कृषि ऋण लिएर कृषि उत्पादन बढाईरहेको कार्यक्रमका फोकल पर्सन नवराज शर्मा रिजालले जानकारी दिए ।
१५ जनाभन्दा बढीले ५० लाखदेखि १ करोडसम्म ऋण लिएर त्यसको हुन आउने व्याज रकममा ७ प्रतिशत अनुदान लिइरहेका छन् । यसरी ९ जिल्लाका नौं सय ३९ जना किसानलाई व्याज अनुदान दिईएको छ । व्याज अनुदान पाउने अवधि ५ बर्ष तोकिएको छ ।
उनले भने ‘कृषि उत्पादन बृद्धि गर्ने, कृषिको बजारीकरण, औद्योगिकरण गरी कृषिलाई आधुनिकिकरण गर्ने उद्देश्यले व्याज अनुदान कार्यक्रम लागु गरिएको हो । यो कार्यक्रम प्रभावकारी देखिएको छ । थप प्रभावकारी बनाउन सबै क्षेत्रको निगरानी र अनुगमन हुन आवश्यक छ ।’
बैंकबाट ५ लाखदेखि १ करोडसम्म कृषि ऋण लिएका किसानहरुले व्याजमा ७ प्रतिशत र सहकारी संस्थाबाट ५० हजारदेखि ५ लाख सम्म कृषि ऋण लिएका किसानहरुले व्याजमा १० प्रतिशत अनुदान पाएका छन् ।
२०७९ असार मसान्तसम्म सम्झौता भएका ६ वटा बैंकबाट कृषि ऋण लिएका किसानहरुको व्याज अनुदान वापत करिव ४ करोड रकम सम्बन्धित बैंकहरुलाई भुक्तानी हुने जनाइएको छ । त्यसैगरी ८ वटा सहकारी संस्थाहरुबाट कृषि उत्पादन बृद्धि गर्न कृषि ऋण लिने सहकारीका सदस्य कृषकहरुको व्याज अनुदान करिव २ करोड भुक्तानी हुने फोकल पर्सन रिजालले जानकारी दिए ।
कृषि ऋणमा व्याज अनुदान दिने वित्तिय संस्था
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशसंग सम्झौता गरेर कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कृषि ऋण अनुदान वितरण गरिरहेको छ ।
सुर्खेतमा प्रदेश कार्यालय रहेका सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र निजी बैंक ग्लोबल आईएमई बैंक, सेन्चुरी कमर्सियल बैंक र सिद्धार्थ बैंकबाट कृषि ऋण लिने ऋणीले तोकिएको प्रकृया पुरा गरेपछि व्याज अनुदान पाउने सम्झौता गरिएको छ ।
बैंकले १० लाखदेखि १ करोड ऋण लगानी गरेर उक्त ऋणको ७ प्रतिशत व्याज अनुदान मन्त्रालयबाट भुक्तानी लिईरहेको मन्त्रालयका फोकल पर्सन नवराज शर्मा रिजालले जानकारी दिए । बैंकबाट १० लाखदेखि १ करोडसम्म ऋण लिने २८९ जना किसान ऋणिलाई व्याज अनुदान भुक्तानी गरिएको छ ।
सहकारी संस्था मार्फत व्याज अनुदान कार्यविधि २०७७ अनुसार प्रस्ताव आव्हान गरी प्रकृयाबाट छनौंट भएका सुर्खेतका ८ वटा सहकारी संस्थाहरुले समेत साना तथा मझौला कृषकहरुलाई ५० हजारेखि ५ लाखसम्म कृषि ऋण लगानी गरिरहेका छन् ।
सहकारीबाट लगानी भएको कृषि ऋणको व्याजमा १० प्रतिशत अनुदान मन्त्रालयबाट भुक्तानी लिइरहेको जनाइएको छ । आफ्ना कृषक सदस्यलाई व्याज अनुदान दिने सहकारीहरुमा गंगामाला स्वालम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. भेरीगंगा छिन्चु, शिखर बचत तथा ऋण सहकारी संस्था लि. भेरीगंगा रामघाट, चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लि लेकबेशी–१०, सृजना बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर–२, किसान बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–९ रहेका छन् ।
त्यसैगरी हरियो हिरा कृषि तथा जडिबुटी विकास सहकारी संस्था लि. वीरेन्द्रनगर–२, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–१ र ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–१२ रहेका छन् ।
कृषि ऋणको व्याज अनुदान लिने ठुला फर्म
कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले कृषि ऋणमा व्याज अनुदान कार्यक्रम ल्याइएको थियो । पूर्व मन्त्री बिमला केसीको नेतृत्वमा उक्त कार्यक्रम ल्याइएको थियो । कार्यान्वयन भैरहेको छ ।
केही प्रभावकारी देखिएको छ तर ऋणको व्याज अनुदान लिने राजनीतिक दलका नेता तथा कार्यकर्ता नै अग्रपंक्तिमा देखिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेता कृषि फर्महरुले कृषि ऋणको व्याज अनुदान लिनेका छन् ।
दैलेखबाट प्रदेश सभा सदस्य सुशिल थापाको कालिज फर्मदेखि एमाले नेता डम्मर तिवारीको कालिका बाख्रा फर्म लेकबेशी–१० सुर्खेतले व्याज अनुदान लिएका छन् ।
भट्टराई मसला उद्योग वीरेन्द्रनगर–११ ले १ करोड ऋण, माउण्टेन वाईलफुड प्रडक्ट वीरेन्द्रनगर–१४ ले १ करोड, कोपिला एग्रीकल्चर वीरेन्द्रनगर–९ ले १ करोड, कर्णाली एग्रोटिज फर्म वीरेन्द्रनगर–९ ले १ करोड कृषि ऋण लिएर उक्त ऋणको हुने व्याज मध्ये ७ प्रतिशत व्याज मन्त्रालयबाट अनुदान लिएका छन् ।
त्यसैगरी झरना नर्सरी उद्योग वीरेन्द्रनगर–३ ले ८५ लाख, भेरीकर्णाली कृषि फर्म वीरेन्द्रनगर–१४ ले ६५ लाख, पञ्चपुरी अग्रानिक कृषि फर्म पञ्चपुरी–२ ले ५० लाख, प्रेम कृषि फर्म वीरेन्द्रनगर–१३ ले ८६ लाख कृषि ऋण लिएर बैंकको ७ प्रतिशत व्याज अनुदान सम्बन्धित बैंकमा भुक्तानी भैरहेको जनाइएको छ ।
बैकबाट व्याज अनुदान लिने प्रक्रिया
उद्यमी कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदा प्रदेशमा कृषि उत्पादन बढाउने, कृषि उद्यमीहरु व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य हुने र युवाहरुले कृषिपेशाप्रति रुचि बढाउने उद्देश्य राखिएको छ ।
कृषि अनुदानमा असफलता बेहोरेपछि प्रदेश सरकारले अनुदानको सट्टा कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । जसअनुसार विपन्न वर्गका किसानहरुका लागि लक्षित वर्ग विशेष अनुदान, मध्यम तथा ठूला किसानका लागि ब्याज अनुदान, निम्न र निम्न मध्यम किसानका लागि सहुलियत कर्जा र प्रोत्साहन अनुुदान रहेका छन् ।
जसमध्ये ठूला तथा व्यवसायी कृषकलाई राहत पु¥याउने उद्देश्यले ल्याएको ‘किसानलाई ब्याज अनुदान’ कार्यक्रम कार्यान्वयनमा आएको हो । जसअनुसार कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गर्न चाहने र उत्पादन तथा उघम गर्न चाहनेका किसानले सस्तो व्याजदरमा ऋण पाउने छन् ।
बैंकबाट ऋण लिने कृषकले पाँच वर्षमा लिएको ऋण तिरिसक्नुपर्ने छ । ऋण लिंदा फर्म दर्ता, नविकरण, पान नम्बर, करचुक्ता कागजात र धितोलाई अनिवार्य गरिएको छ । एक करोडेभन्दा माथि ऋण लिएको खण्डमा भने सरकारले ऋणको ब्याज तिर्ने छैन ।
ऋणीले कर्जा पाँच वर्षसम्म तिरिसक्नु पर्नेछ । तोकिएको समयमा ऋण चुक्ता नगर्ने किसानलाई भने सेवाबाट बञ्चित गराउने र कालो सूचिमासमेत राखिने छ । ऋण लिँदा किसानले व्यवसाय गर्नुको उद्देश्य, चाहिने लगानी र गर्ने व्यवसायको विस्तृत विवरणसहित ऋण माग गर्नुपर्नेछ ।
किसानले गर्न चाहेको व्यवसाय र लाग्ने लगानीका आधारमा सम्बन्धित बैंकले ऋण किसानलाई उपलब्ध गराउनेछ । ऋण लिने किसान र रकमसहित विस्तृत विवरण बैंकले कर्णाली प्रदेश सकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई सिफारिस गर्नेछ । सोही आधारमा किसानले लिएको ऋणको सात प्रतिशत ब्याज सरकारले सम्बन्धित बैंकमा भुक्तानी गरिदिने छ ।
सहकारीका सदस्यलाई व्याज अनुदानको प्रक्रिया
कृषि ऋणमा व्याज अनुदान सुविधा दिन छनौंट भएका कर्णालीका ८ वटा सहकारी संस्थाहरुले न्यूनतम ५० हजारदेखि ५ लाखसम्म कृषि ऋण लगानी गर्नुपर्ने हुन्छ ।
विपन्न सदस्यहरुलाई सामूहिक जमानी वा बचत धितोमा कृषि कर्जा कम व्याजदरमा ऋण लगानी गरिरहेका सहकारी संस्था छनौंट गरिएको छ । व्याज अनुदान प्राप्त गर्ने सदस्य छनौंट गर्दा संस्थामा सदस्य भई कम्तिमा ३ महिनादेखि नियमित बचत गरिरहेको, विगतमा संस्थाबाट ऋण लिई निर्धारित समयभित्रै साँवा, व्याज चुक्ता गरेको हुनुपर्नेछ ।
त्यसैगरी स्पष्ट व्यवसायीक योजना भएको, ऋण तिर्न सक्ने प्रयाप्त आधार भएको, जमानत वा धितोको पूर्णता, प्रयाप्तता र विश्वसनियता भएको सहकारीका शेयर सदस्यलाई छनौंट गरी व्याज अनुदान पाउने कृषि ऋण लगानी गर्नुपर्ने प्राव्धान राखिएको छ ।







