बाबुले १४ वर्षीया छोरीलाई बलात्कार गरेपछि ‍…

अमर सुनार
दैलेख, १० फागुन ।
यो समाजमा घटना पनि अनौठा हुन्छन । छोरीलाई बलात्कार गरेको घटना प्रमाणित भएपछि बाबुलाई जेल सजाय भएको छ । घटना पश्चिम नेपाल दैलेख जिल्लाको हो ।

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा दैलेखको जिल्ला सदरमुकाम नजिकैको एक गाउँका एक जना ३९ वर्षीय बाबुलाई कैद र जरिवाना सजाय भएको छ ।

दैलेख जिल्ला अदालतले शुक्रबार (फागुन ६ गते) ४३ वर्ष कैद र एक लाख रुपैंयाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ वर्ष कैद तथा एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (ख) मा लेखिए अनुसार ‘१० देखि १४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा जन्मकैद र थप सजाय समेत ४३ वर्ष कैद गरिएको फैसलामा व्याख्या गरिएको छ ।

करिब १५ महिना अघि २०७७ मङ्सिर १९ गते १४ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएको थियो ।

जाहेरीका आधारमा प्रहरीले त्यही दिन घरबाटै पक्राउ गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण २०७७ मङ्सिर १९ गते नै दैलेख अस्पतालमा भएको थियो ।

स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्वन्धी अभियोग दर्ता गराएको थियो ।

अभियोग सम्वन्धमा पुस १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख काराकारमा पठाइएको थियो ।

पीडित बालिकाले आफू माथि पटक पटक बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको वकपत्रमा दोहोरयाएर भनेकी थिइन् ।

पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र प्रतिरक्षामा दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले बहस गर्नुभएको थियो ।

यो घटनाको अलवा दैलेखमा ५ वर्ष अघि पनि एउटा र यो वर्ष दुई वटा मुद्दा बाबुबाट छोरी बलात्कृत भएको घटना अदालतमा बिचराधीन छन् । झण्डै वर्षेनी जन्मदिने बाबुबाट एक छोरी बलात्कृत हुने गरेको अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

‘जिल्लामा सामाजिक मर्यादा खस्केको, अशिक्षा र कानूनी ज्ञानको अभाव रहेको’ नागरिक समाजका जिल्ला संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले टिप्पणी गर्नुभयो । अदालतबाट जन्मकैदपछि पनि थप सजाय भएको यही सन्देश लिएर समाजमा सचेतना बढाउनुपर्ने अधिवक्ता सिजापतिको सुझाव छ ।

बाबुले १४ वर्षीया छोरीलाई बलात्कार गरेपछि ‍…

कर्णालीको विकास बजेट : सात महिनामा नौ

Leave a comment

Your email address will not be published. Required fields are marked *