अकर्मण्यताको परिणाम

उमालाल आचार्य
संघर्षको दौरानमा अनगिन्ती हण्डरठक्कर खानुपर्यो होला ।अनेकन कमि कमजोरी होलान्, सन्तान पनि विरासत थाप्ने काबिल र ल्याकतका नहोला् तथापि स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिको प्रथम शिखर पुरुष हुन भन्दा केही अत्युक्ति हुँदैन । तब नेपाली कांग्रेसले आफ्ना आदर्श नेतालाई महामानवको उपमा दिएको होला । तिनै वीपीको सपना भजाएर आफ्नो स्वार्थ सिद्ध गरिरहन र सदाकाल प्रधानमन्त्रीको कुर्सीमा बसेर बागडोर समाउन केही पात्रहरु हात धोएर लागिपरेका थिए । अनेक सन्धि सम्झौता गरेर देश र जनतालाई धोका दिइरहेका थिए । ठूला भ्रष्टाचार र कमिसनका काण्डहरु न्यायीक निकायहरू विचाराधीन छन विचाराधीन भैरहन्छन । जसको कारण कांग्रेस पार्टी बदनाम हुन पुग्यो । यसो भन्दा कसैलाई आपत्ती लाग्न सक्छ, लागे लागोस् किनकी यथार्थ यही हो ।
राजाको इशारामा पार्टी फुटालेका कांग्रेस नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतबाट तोकिएको मितिमा चुनाव गर्न नसकेपछि राजाले असक्षम भन्दै कलंकको टीका टाँसेर निकाले । भाँतिबिन्ती गरेर फेरि प्रधानमन्त्री पदमा आसिन हुन पुगेपछि प्रफुल्ल भै गोर्खाली राजाले मलाई न्याय दिए भनेर चाकरी बजाए । त्यो चाकरी मिडियामा ट्रोल भएको थियो । गणतन्त्र आएपछि फेरि यी पात्र अग्रपंक्तिमा उभिएर निकै ठूलो गणतन्त्रवादी देखिए । हामीलाई थाहा छ परिवर्तनपछि पहिलो पटक कोही पनि निर्वाचन नलडी कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालासँग अंगालो हाल्दै हुलका हुल कथित क्रान्तिकारी सिंहदरबार छिरेर शासक हुने सौभाग्य पाइरहेका थिए । खासमा भन्ने हो भने राजा विरुद्धको त्यो आन्दोलन भएपछि भद्रगोलको राजनीति यहि विन्दुबाट शुरु भएको छ ।
संविधानसभाले संविधान बनाउने कि नबनाइ समय अवधि लम्बाएर शासक भैरहने भन्ने खिचातानीका बीचमा देउवाले फेरि प्रधानमन्त्री हुने मौका पाए । त्यतिबेला देउवाका केही उपासकहरुले देउवालाई निकै देवत्वकरण गरे । जस्तो कि प्रजातन्त्रका लागि लडेका देउवालाई राणा शासकले जिब्रो मा करेन्ट लगाएर बोल्न नमिल्ने बनाए । जस्तोकि डडेल्धुरा को गरिब परिवारका देउवा काठमाडौं आएर पढ्दै प्रजतन्त्र को लडाइँ लडिरहे । देउवाले हिजो त्यसरी नलडेको भए देशमा आज प्रजतन्त्र आउँदैनथ्यो आदि इत्यादि । कस्तो विरोधाभास दलिल २००७ सालमा समाप्त भएको राणा शासनले २००४ सालमा जन्मेका देउवालाई यातना दिई जिब्रोमा करेन्ट लगाए होला ? आमाको काखमा खेल्ने ३/४ वर्षको बच्चाले राजनीति बुझेको होला ? एकातिर उनलाई गरिब परिवार भनेर सहानुभूति देखाउन खोजिएको छ भने अर्कोतिर राजधानीमा आएर पढेको भनिएको छ । के साँच्चै दुरदराजको गरिब परिवारबाट बाटोघाटो केही नभएको त्यस्तो परिस्थितिमा त्यतिबेला राजधानीसम्म आएर पढ्ने हैसियत राख्छ ? राख्छ भने गरिब कसरी भन्न सकिन्छ ? देउवा त बेलायतमा पनि पढेको चर्चा छ । कसरी पढे त्यो व्याख्या अर्को लेखमा चर्चा गरौंला यहाँ विषयान्तर नगरौं ।
देउवाको देवत्त्वकरण हुँदै गएपछि उनका आकांक्षा चुलिदै गए । प्रधानमन्त्री पद प्राप्तिका लागि उनी बिल्कुल धृतराष्ट्र बन्न थाले । उनको आड पाएर पत्नीले भित्री सारमा पार्टी चलाउन थालेपछि कांग्रेसमा भाँडभैलो नै शुरु हुन थाल्यो ।
महामन्त्रीहरुले पार्टीमा पेश गरेको प्रतिवेदनलाई मानमर्दन गर्दै देउवा पत्नीले एनजीओको प्रपोजल जस्तो पो भयो भन्न सम्म पछि परिनन् । राज्यका राजकीय पदहरु उनैले मोल मोलाइ गर्छिन भन्ने आसयका लेख रचना र व्यङ्ग्य चित्रहरु मिडियामा महत्त्वका साथ प्रसारण भैरहन्थे । समानुपातिक कोटा प्रणालीको खिल्ली उडाएर देउवाले पत्नीलाई सांसद मात्र बनाएनन् मौकामा शक्तिशाली परराष्ट्रमन्त्री पनि बनाइ दिए । सारा दुनियाँले छर्लङ्ग बुझ्ने कुरा कार्यकर्ताले बुझ्दैनन्त ? बुझेर के गर्ने बोल बोल माछा मुखभरी पानी । देउवाको प्रतिष्ठामा यसले ठुलै स्खलन ल्याइदियो ।
आदर्श सिद्धान्त विचार नीति कतै केही नमिल्ने संधै छत्तीस को आँकडामा रहिरहने माओवादीसँग गठबन्धन गर्न हुँदैन, जनता रिसाउँछन पार्टीको साख गिर्छ र अन्तमा माओवादी का प्रचण्डले हामीलाई ठूलो धोका दिन्छन् भनेर पार्टीका नेता कार्यकर्ताले जति सम्झाए पनि देउवाले टेरेनन् । हिजो माओवादीले हाम्रो हात काटिदिएको हो, रुख छोडेर तिनै माओवादीलाई यही हातले कसरी भोट हाल्ने भनी कांग्रेस कार्यकर्ताले नमान्दा देउवाले पार्टीबाट निकाल्ने धम्किसम्म दिएका थिए । प्रष्ट बहुमत नल्याए पनि चुनावमा कांग्रेस सबै भन्दा ठूलो पार्टी भएको थियो ।
देउवालाई थाङ्नामा सुताइ एमालेका प्रमुख खड्ग ओलीले तेस्रो पार्टीका प्रमुख पुष्प कमल दाहाल प्रचण्डलाई घाँस हाले । पदका लागि हिरिक्क प्राण हाल्ने प्रचण्डले नभन्दै देउवालाई ठूलो धोका दिए । प्रचण्डलाई सत्ताबाट गलहत्याउन र प्रधानमन्त्री पद प्राप्त गर्न देउवाले ओलीसँग चोचोमोचो मिलाए । देउवालाई कन्याएर ओलीले प्रधानमन्त्री पद फुत्काए आफै सत्तासीन भए । पछिल्लोपटक अर्थात आधा कार्यकाल प्रधानमन्त्री पद देउवालाई दिने भन्ने आश देखाएर स्वार्थसिद्ध गरिरहे । आशावादी देउवाले त्यो सुखद समयको व्यग्र प्रतीक्षा गरिरहे । अकर्मण्यता देखाइरहे तर समयलाई त्यो मञ्जुर थिएन ।
समय यस्तो आयोकी परिस्थितिले प्रधानमन्त्रीको पद होइन देउवा दम्पतिलाई मरणासन्न भकुरेर घाउ चोट र निलडाम दियो । मैमत्त शासकका कारण जनतामा चुलिएको घृणा वितृष्णा र अपमानको बदला देउवासँग असुल गर्यो जेनजी आन्दोलनले । राज्य आतंक मच्चाउने अराजकहरु कोही हेलिकप्टरमा भागे कोही मुसाको दुलोमा छिरे । धन पैसाको मायाले घर कुरेर बस्दा घानमा परे देउवा । कस्तो विडम्बना हो,ठूलो पार्टी भएर पनि सत्ता चलाउन नपाउनु उल्टै भकुरी माग्नु ।
घरमा थुपारेको अथाह पैसा पोलिएर खरानी हुन जनाक्रोशको पराकाष्ठा थियो । पोलिएको पैसा होइन एआइ प्रविधि प्रयोग गरेर हामीलाई बदनाम गर्न खोजिएको हो भन्ने दावीलाई कसैले विश्वास गर्न सकेका छैनन । देउवा पक्षबाट हुँदै होइन झुठो हो भन्ने दाबी आएपछि चोट खाएको के हो ? घर पोलिएको के हो ? गाडी मोटर जलेको पनि के हो ? भन्ने किसिमका प्रश्न स्वतः खडा हुन्छन् । ती प्रश्नमा पनि एआइ नै प्रयोग गरिएको हो भन्न सक्नुपर्ने हुन्छ ।
महामन्त्री गगन थापा लगायतले महत्त्वकासाथ कांग्रेसको विशेष महाधिवेशन तयारी गरिरहेका थिए तर देउवा पक्षले पत्याएको थिएन र पत्याउने फुर्सद पनि थिएन । किनभने फेरि देउवाले सत्ता प्राप्तिका लागि चुनावमा तिनै धोखेबाज सँग तालमेल गर्न खोजिरहेका थिए । देउवाका बदनाम पाँच भाइ ग्याङ मध्ये कसैले न्वारानदेखिको बल झिकेर विशेष महाधिवेशन भाँड्न खोजिरहेका थिए तर पानी घाँटीमाथी पुगेपछि आत्तिएर निर्वाचन आयोग घेर्न पुगे । विधि विधान को रित पुर्याउँदै महाधिवेशन सम्पन्न भएकोले निर्वाचन आयोगले फरक निर्णय गर्न सकेन । सानेपा पार्टी कार्यालय कब्जा गरेर नयाँ सभापति गगन थापालाई छिर्न नदिने भन्ने कुरा बालहट मात्रै थियो जो धेरै दिन टिकेन । गजबको कुरा त के भने, निर्वाचन आयोग समेतका विरुद्ध अदालतमा मुद्दा पर्यो, मुद्दाको छिनोफानो नहुँदै निर्वाचन हुने तिथि मिति आयो । मुद्दा हाल्ने मध्यका केही अवसरवादी कांग्रेसी पुरुष सभापति थापाको हस्ताक्षरित टिकटबाट चुनाव लडे पराजित भए, फेरि देउवा कित्तामा गएर थापाको निन्दामा आफ्नो उर्जा लगाए ।
पार्टी थापाको नेतृत्वमा गएपछि आफ्नो हैकम र स्वार्थ गुम्ने डरले आत्तिएका निन्दकहरुले नयाँ जुक्ति निकाले । देशभर का नेता कार्यकर्ता राजधानीमा खेडेर विदेशमा लुक्दै हिंडेका देउवालाई बोलाउने र कांग्रेसको विशाल आकार हामीसँगै छ भनी थापालाई तर्साउने । सहमतिमा आफ्नो हात माथिपार्दै मिल्न बाध्य बनाउने । आफ्नो माहोल बलियो बनाउन देउवा पक्षबाट निर्णय सुनुवाइको अवसर नपाएको भन्ने किसिमको मुद्दा हाली अदालतले निस्सा दिएको कुरा मिडियामा आएको थियो । पार्टीमा पहिरो जान नपाओस भनी कार्यकर्तालाई अलमल्याउन त्यो निस्सा नै ठूलोआधा भाग फैसला हो भन्ने ढंगले गलत प्रचारप्रसार गरियो ।
यसै बीचमा थापा पक्षले १५ औं महाधिवेशनको मिति घोषणा गरेपछि देउवा पक्षका नेतस हर्ताकर्ताहरुको सातोपुत्लो उड्यो हंसले ठाउँ छोड्यो । महाधिवेशन रोक्न हतार हतारमा अर्को मुद्दा दर्ता गरियो । तर रोक्न नमिल्ने भनी अदालतले खारेज गरिदिएपछि देउवा पक्षले असोजमा हुने महाधिवेशनमा नेता कार्यकर्ताले भाग नलिनु भन्ने उर्दी जारी गर्दै मंसिर महिनामा महाधिवेशन गर्ने जनायो । तर कतिपय दोधारे नेता १५ औं महाधिवेशनमा देउवालाई लोप्पा खुवाउँदै गगन थापाको खुट्टा समाउन पो आए । नैतिकताको थोपो छिटो केही नभएको धन्य हो राजनीति !
हिजो आफ्नो स्वार्थसिद्ध पार्न देउवाले प्राडो पजेरो नामका महंगा गाडी मोटर किन्न सांसदहरूलाई भन्सार छुट दिएको, कसैलाई पाँचतारे होटलमा राखेको, कसैलाई सुरा र सुन्दरी मा डुबाएको जस्ता अनेक हत्कण्डा गरेर देउवा बदनामको गरुङ्गो भारी बोकिसकेका व्यक्ति हुन । यस्तै कर्तुतका कारण राजाले उनलाई असक्षम भनी कलंकको टीका लगाइदिए, भ्रष्टाचारी भनि थुने । यहाँ राजा असल थिए भनेर गुणगान गाएको हुँदै होइन, उनले त तानाशाहको अभ्यास गरिरहेकै थिए । तर प्रजातन्त्र लगेर राजाको पाउमा बुझाउने देउवा धिक्कारै धिक्कार हुन भन्ने खोजिएको हो । नेता कार्यकर्ता को ठूलो असहमतिका बाबजुद पनि देउवाले पार्टीको नेतृत्व प्रचण्डलाई दिए । आखिर प्रचण्डले धोका दिएका कारण पार्टी पनि नेतृत्व बाहिरै रहनु पर्यो । तब देउवा दम्पतीको हैकमवादसँग नैतिकवान नेता कार्यकर्ताको आक्रोश चुलिदै। गएको थियो ।
एउटा प्रसिद्ध भनाइ पुरुषको सफलतामा महिलाको हात हुन्छ । तर यहाँ देउवालाई बर्बाद पार्न उनकै श्रीमतीको ठूलो हात रहेको छर्लङ्ग छ । सत्तासुख र शक्तिको भोकले सतायो भने मान्छे यतिसम्म पतित हुँदारहेछन भन्ने उदाहरण बनेका छन देउवा दम्पती । आन्दोलनमा रक्ताम्य चुटिएपछि सबैसँग सल्लाह लिएर मार्ग प्रशस्त गरिदिएको भए प्रजातन्त्रको एक सेनानी भन्ने ढंगबाट उनको थोरै कतै इज्जत कायम रहन सक्थ्यो । अघिल्ला काण्ड र बदमासी पनि ओझेलमा पर्न सक्थे । सत्ता र पार्टी सम्प्रभुताको भोकले देउवालाई यति उफार्योकी पार्टीको विधि विधान अनुसार हिंडेका गगन थापासँग पङ्गा लिन कसिए । जसको कारण पार्टीको झण्डा र चुनाव चिन्हबाट बेदखल बन्नुपर्ने परिस्थिति निर्माण भयो । देउवा कांग्रेसले पार्टी राजनीतिको लागि अब नयाँ सिर्जना गर्नुपर्ने हुन्छ तर त्यो सजिलो छैन ।समय यति ढिलो भयो कि उमेरको उत्तरार्धमा अकर्मण्यताका कारण इतिहासले देउवा लाई खलपात्रका रूपमा मात्रै चित्रण गर्ने देखिन्छ ।
(लेखक : वीरेन्द्रनगर–१२, नेवारे निवासी हुनुहुन्छ)






