सल्यानमा एकीकृत समाजवादीको निर्वाचन केन्द्रित जिल्लाव्यापी भेला–प्रशिक्षण

सल्यान, १० फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सल्यानको आयोजनामा पालिका स्तरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जारी राखेको छ ।
कालीमाटी, सिद्धकुमाख, छत्रेश्वरी, बनगाड कुपिण्डे गाउँपालिका तथा नगरपालिका स्तर र तल्ला वडा, टोलस्तरमा समेत भेला, बैठक, छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् ।
पार्टीको निती, कार्यक्रम, योजना, आउँदो स्थानीय तह निर्वाचनको व्यापक तयारी तथा एमसीसी परियोजनाको बारेमा जनस्तरमा सन्देश पुरयाउने उद्देश्यले जिल्लाव्यापी भेला, प्रशिक्षण जारी राखिएको हो ।
आइतबार कपुरकोट गाउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । भेलामा बोल्दै एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले स्थानीय निर्वाचनमा पार्टीलाई जिल्लामै एक नम्बर बनाउने गरी सबै नेता तथा कार्यकर्ता सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभएको थियो ।
उहाँले भन्नुभयो ‘छिट्टै स्थानीय तहको निर्वाचन घोषणा भएको छ । हामी निर्वाचनमा श्रेष्ठता हाँसिल गर्न गाउँ–गाउँ टोल टोलबाट सबै नेता कार्यकर्ता जुट्नुपर्ने, सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको छ ।’
उहाँले भन्नुभयो ‘एमसीसी परियोजना एउटा दातृ निकायले दिने अनुदान सहयोग हो । त्यसबाट विकास पूर्वाधार निर्माण गरिनेछ । संसदमा पेश भएको परियोजना भएकाले त्यसमा केही संशोधन गरेर मात्रै कार्यान्वयनमा जान सकिने पार्टीको स्पष्ट धारणा रहेको छ ।’
कपुरकोट गाउँ कमिटीका अध्यक्ष दुर्गा पुनको अध्यक्षता एवंम् एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यता, राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराको विशेष आतिथ्यतामा भेला तथा प्रशिक्षण सम्पन्न भएको थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भद्रसिह वुढा, केन्द्रीय सदस्य शारदा परियार, केन्द्रीय परिषद सदस्य हरि केसी, प्रदेश कमिटी सदस्य एवं पार्टी जिल्ला कमिटी उपाध्यक्ष रामकुमार खड्गी, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्य वुद्धा केसी, जिकस तथा कपुरकोट गाउँ पालिका उपाध्यक्ष तिला वुढा, युवा संघका प्रदेश सदस्य प्रताप कुवर लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन पालिका कमिटी सचिव तिलक शर्माले गर्नुभएको थियो भने स्वागत पार्टी पालिका कमिटी उपाध्यक्ष नन्दलाल महतराले गर्नुभएको थियो । सोही असवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका दर्जनौ ब्यक्तिहरुलाई स्वागत गरिएको थियो ।






