चाडपर्व लक्षित सुरक्षा योजना तयार पाँच हजार बढी प्रहरीको निगरानीमा कर्णाली

ओम शाही

सुर्खेत, २२ असोज ।

कर्णाली प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना तयार भएको छ । विशेषगरी दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने सुरक्षा जोखिमको विश्लेषण गरेर सुरक्षा योजना तयार गरिएको हो । प्रदेश प्रहरीले तयार पारेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठपर्व अवधिभर (२५ असोज २०८३ घटस्थापनादेखि ३० कार्तिक २०८३ छठ पर्व) लागु हुनेछ । 

कर्णालीमा चाडपर्वका समयमा हुन सक्ने सुरक्षा चुनौती तथा सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सामान्य, सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरूमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको हो । चाडपर्वको नाममा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापहरूको रोकथाम एवम् नियन्त्रण गर्दै नागरिकले सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण सृजना गर्ने उद्देश्यले सुरक्षा योजना तयार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठारैले जानकारी दिए ।

त्यस्तै, सार्वजनिक स्थल, मेलापर्व लगायतका स्थानहरूमा झै–झगडा, हुलदंगा लगायतका कुनै पनि आपराधिक तथा अवाञ्छित गतिविधि हुन नदिई भरपर्दो शान्ति सुरक्षा कायम गराउन प्रहरीले सुरक्षा योजना तयार गरेको हो । बैंक तथा वित्तीय संस्था, सुनचाँदी र गरगहना पसल लगायत आर्थिक कारोबार हुने स्थानहरू र बढी भिडभाड हुने स्थानहरूमा चोरी, लुटपाट तथा पाकेटमारका घटनाहरूलाई नियन्त्रण गर्न प्रहरीको विशेष तालिम प्राप्त जनशक्ति खटिने छ । 

बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने, सवारी दुर्घटनाका घटनाहरूलाई न्यूनीकरण गर्ने, तोकिएको भन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउन सुरक्षा योजना तयार गरिएको प्रवक्ता राठौरले जानकारी दिए । अवैध हातहतियार तथा विस्फोटक पदार्थहरूको ओसारपसार र प्रयोगमा नियन्त्रण गर्ने, धार्मिक एवम् साम्प्रदायिक घटनाहरू हुन नदिने, फरार प्रतिवादी तथा जेन–जी आन्दोलनको क्रममा विभिन्न कारागारहरूबाट फरार रहेका कैदीबन्दीहरूको पक्राउलाई तीव्रता दिने लगायतका योजना प्रहरीले बनाएको छ । 

त्यस्तै, अवैध लागूऔषध ओसारपसार तथा बिक्री वितरणलाई कडाइका साथ नियन्त्रण गर्ने, अवैध भन्सार चोरी तस्करी, पटका, आतशबाजी, विस्फोटक पदार्थ लगायतका कुनै पनि वस्तुहरूको आयात, ओसारपसार तथा प्रयोग हुन नदिन कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउने, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण, जुवातास, लंगुरबुर्जा जस्ता गतिविधिहरूलाई पूर्ण रूपमा निस्तेज पार्ने लगायतका विषय सुरक्षा योजनामा समावेश छन् । 

पाँच हजार प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत कर्णाली प्रदेशमा पाँच हजार बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न एक हजार चा सय ६२ वटा ड्युटीमा पाँच हजार तीन सय १४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । १० वटा जिल्लामा विभिन्न प्रकारका गस्ती, चेकजाँच, अनुगमन जस्ता कार्यमा प्रहरी परिचालन गरिएको हो । 

धार्मिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय स्थल, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, वित्तीय संघसंस्था, व्यवसाय लगायतको सुरक्षा, खाद्यान्न तथा अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति, हातहतियार, पटका लगायतका विस्फोटक पदार्थहरुको आयात तथा प्रयोगलाई नियन्त्रण, जुवातास जस्ता सट्टेबाजी खेलहरुको नियन्त्रण, लुटपाट, ठगी जस्ता घटनाहरु नियन्त्रण गर्नेलगायत योजनासहित चाडपर्वलक्षित सुरक्षा योजना बनाईएको प्रहरी प्रवक्ता राठारैले जानकारी दिए ।

‘चाडपर्वको समयमा हुन सक्ने कुनैपनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापहरु हुन नदिन योजनावद्ध रुपमा प्रहरी परिचालन गरिएको छ । चाडपर्वका नाममा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापकहरुको रोकथाम, नियन्त्रण गर्दै नागरिकले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो,’ प्रवक्ता राठौरले भने । 

कर्णाली प्रदेशका दश वटा जिल्लाहरुमा २८ वटा मोवाईल गस्ती, ९८ वटा मोटरसाईकल गस्ती, एक सय ४८ वटा पैदल गस्ती, दुई सय चार वटा लामो तथा छोटो दूरीका गस्तीमार्फत प्रदेशभर अपराधिक गतिविधिको निगरानी गरिने छ । यस्तै, ६० वटा क्युआरटी (क्विक रेसपोन्स टिम), १७६ स्थानमा पिकेट तथा ६७ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ राखिएको छ । एसएसपी राठौरका अनुसार ४७ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ राखिएको छ ।

३८ स्थानमा महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा प्रबन्ध मिलाइएको छ भने अन्तर्राष्ट्रिय सीमासहित ३७ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएकोछ । २४ स्थानमा माइकिङ तथा प्रचार प्रसार, ३१ स्थानमा बैंक, वित्तीय संघसंस्था सुरक्षा तथा बजार अनुगमन टोली परिचालन गरिएको छ । १० वटा विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि टोली परिचालन गरिएको उनले जानकारी दिए । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका चाडपर्वलक्षित सुरक्षा योजनाले अपराध रोकथाम तथा नियन्त्रण, सार्वजनिक सवारी साधनहरुले बढी भाडा असुल्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु र सामान राखेर सवारी साधन चलाउने गतिविधि नियन्त्रण लगायतका चाडवर्पलक्षित अवाञ्छित क्रियाकलापहरुको नियन्त्रण हुने अपेक्षा गरिएको एसएसपी राठौरले बताए ।

चाडपर्व लक्षित सुरक्षा योजना तयार  पाँच हजार बढी प्रहरीको निगरानीमा कर्णाली

हर्मुजको चिन्ताले तेल महँगियो

चाडपर्व लक्षित सुरक्षा योजना तयार  पाँच हजार बढी प्रहरीको निगरानीमा कर्णाली

रामलीला मञ्चनमा युवा पुस्ताको साथ खोजिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!