वीरेन्द्रनगरका छाडा चौपायाको व्यवस्थापन गर्न गौशालालाई जग्गाको खोजी

सुर्खेत, ४ चैत ।
वीरेन्द्रनगरमा रहेका छाडा चौपायाको व्यवस्थापन गर्न सामूहिक प्रयास थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्था, वडा नं. १० र ११ को वडा कार्यालय र स्थानीयले छाडा चौपायको व्यवस्थापनमा जुटेका हुन् ।

छाडा चौपायाका कारण वीरेन्द्रनगरमा समस्या बढ्दो छ । छाडा चौपायाका कारण सकडमा सवारी साधनको दुर्घटना बढेको छ भने चौपायाले स्थानीयको बाली खाइदिने गरेका छन् । यही समस्या समाधान गर्न वीरेन्द्रनगरमा छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि सामूहिक प्रयास थालिएको हो ।

जसका लागि भेरी नदीको समैजीघाट नजिकै सामुदायिक गौशाला निर्माण गर्ने प्रयास सुरु भएको छ । नदी नजिकै भएकाले पानी खुवाउन र चराउन सहज हुने भएपछि समैजीघाटमा गौशाला निर्माण प्रक्रिया थालिएको हो ।

गौशाला निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले डिभिजन वन कार्यालय सुर्खेतसँग जग्गा माग गरेको छ । गौशालाको प्रयोजनका लागि नगरपालिकाले वडा नं. १० र ११ मा पर्ने (समैजीघाट) को जग्गा माग गरेको वडा नम्बर १० का वडाध्यक्ष रत्नबहादुर बुढाले जानकारी दिए ।

‘गौशाला निर्माणका लागि वनसँग जग्गा माग गरेका छौँ’ उनले भने, ‘व्नले अनुमति दिएपछि गौशाला निर्माणको काम सुरु हुन्छ ।’ गएको माघ १६ गते बसेको कार्यापालिका बैठकले समैजीघाट गौशाला निर्माण गर्नका लागि वनसँग जग्गा माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नगरपालिकाले वनलाई पत्राचार गरेको हो ।

चौपायाको व्यवस्थापन भए सडकमा हुने दुर्घटना न्यूनिकरण हुने, शहरी सौन्दर्यता बढ्ने र सामुदायिक पशुको सुरक्षा हुने र किसानलाई समेत ठूलो राहत मिल्नेछ । छाडा चौपायाको व्यवस्थापनमा हालसम्मका प्रयासहरु सफल हुन सकेका छैनन् ।

छाडा चौपाया नियन्त्रणमा लिएर राख्न भन्दै नगरपालिकाले सञ्चालन गर्दै आएको कान्जिहाउस पनि वर्षौंदेखि प्रयोगविहीन बनेको छ । कर्णाली प्रदेश सरकारको अनुदान लिएर पशुचौपाया पाल्ने प्रयास गरिए पनि सफल भएको छैन ।

यहीकारण अब सामुदायिक गौशालाविना चौपाया व्यवस्थापन गर्न नसकिने निष्कर्ष निकाल्दै नगरपालिकाले गौशाला बनाउन अग्रसर बनेको हो । कर्णाली स्वयंसेवक दलको अग्रसरतामा गौशाला बनाउन नगरपालिकाले पहल थालेको हो ।

चौपाया व्यवस्थापनको लागि स्वयंसेवक दल आबद्ध युवाहरुले ‘सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्था’ नै दर्ता गरेका छन् ।

वन क्षेत्र प्रयोगको अनुमति पाउनेवित्तिकै गौशाला निर्माणको सामुहिक प्रयास सुरु गर्ने सहकारीका उपाध्यक्ष प्रवाशकुमार शाक्यले बताउँछन् । हाल चौपायाकै कारण वीरेन्द्रनगरमा सवारी साधनको दुर्घटना बढ्दो छ ।

दुर्घटनामा परेर एकातर्फ मानवीय क्षति हुने गरेको छ भने अर्कोतर्फ चौपाया पनि मर्ने र घाइते हुने गरेका छन् । छाडा चौपायाको व्यवस्थापन भएको खण्डमा ट्राफिक व्यवस्थापनमा पनि राहत मिल्ने प्रहरीको विश्वास छ ।

सडकबाट चौपाया हटाउन सकेको खण्डमा सवारी साधनको दुर्घटना घट्ने, आवागमनमा पनि सहज हुने र पशुहरु पनि सुरक्षित हुने सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताउँछन् । विगतमा बजार क्षेत्रमा छाडिएका चौपायालाई नगरपालिकाले काजिहाउसमा राख्ने र भेरी नदी कटाउने गरेको थियो ।

सर्वपक्षीय कार्यदल गठन
गौशाला निर्माण प्रक्रिया अगाडि बढाउन सर्वपक्षीय कार्यदल (समिति) गठन गरिएको छ । प्रशान्ति बृद्धाश्रम सुर्खेतका अध्यक्ष बालकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।

कार्यदलमा वडा नं. १० र ११ का वडाध्यक्ष, देउती सामुदायिक वनका अध्यक्ष र ‘सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि छन् ।

देउती सामुदायिक वन क्षेत्रमा पर्ने समैजीघाटको १७ हेक्टर वनक्षेत्र केही बर्षअघि आश्रमलाई भोगाधिकार दिइएको थियो । भोगाधिकार आश्रमलाई दिएका कारण गौशाला निर्माणकाका लागि नेतृत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलले गौशाला निर्माणको लागि समग्र कानूनी र व्यवहारिक प्रक्रिया अगाडि बढाउने छ ।

वीरेन्द्रनगरका छाडा चौपायाको व्यवस्थापन गर्न गौशालालाई जग्गाको खोजी

चुनाव नहुँदै हुम्लाका लिमीवासीले चुने जनप्रतिनिधि

वीरेन्द्रनगरका छाडा चौपायाको व्यवस्थापन गर्न गौशालालाई जग्गाको खोजी

छोरीको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामाग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *