२०८३ आश्विन १७ गते
×

Now Playing

कर्णालीमा शारिरीक अपाङ्ग बालबालिका सात हजारभन्दा बढि पुनःस्थापनाको पर्खाइमा

पुनम वि.सी.
सुर्खेत, १ असोज ।
राष्ट्रिय जनगणना २०६८ र नेशनल लिभिङ्ग स्ट्याण्डर्ड सन् २०११ को आधारमा कर्णालीमा शारिरीक अपाङ्गता भएका बालबालिकाको संख्या आठ हजार तीन सय सात जना रहेको छ । कर्णालीको अनुमानित बालबालिकाको जनसंख्या सात लाख ९० हजार दुई सय ४९ छ ।

राष्ट्रिय व्यापकताको तीन दशमलव ६ प्रतिशतका आधारमा कर्णालीमा आठ हजार बढी बालबालिकामा शारिरीक अपाङ्गता समस्या छ । जसमध्ये दुई हजार तीन सय ४२ बालबालिका उपचारको पहुँचमा पुगेका छन् । यो समग्रमा २८ प्रतिशत हो ।

अहिलेको समयमा एक हजार आठ सय ७७ जना शारिरीक अपाङ्गता भएका बालबालिका उपचाररत छन् । विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका अनुसार कर्णालीका चार सय ६५ जना बालबालिकाले शारिरीक अपाङ्गताको उपचार पूरा गरेका छन् । संस्थाको तथ्यांक अनुसार कर्णाली प्रदेशका सात हजार आठ सय ४२ जना शारिरीक अपाङ्गता भएका बालबालिकालाई पुर्नस्थापनाको जरुरत छ ।

कर्णालीको यो अवस्थालाई मध्यनजर गरी वीरेन्द्रनगरमा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र स्थापनाको तयारी थालिएको छ । काभ्रेपलाञ्चोकस्थित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले सेवालाई प्रदेशगत रुपमा पु¥याउने उद्देश्यले कर्णालीका लागि वीरेन्द्रनगर नगरपालिका–१ मार्फत आफ्नो सेवा प्रारम्भ गर्ने भएको हो ।

अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका सीबीआर संयोजक नेत्रबहादुर देउजाले भने, ‘कर्णालीमा शारिरीक अपाङ्गता भएका बालबालिकाहरुको संख्या धेरै छ । उनीहरुलाई पुर्नस्थापनाको आवश्यकता छ । आर्थिक अभाव तथा विभिन्न पहुँचमा अभावका कारण उनीहरुको पुनस्थापना हुन सकिरहेको छैन । त्यसैले कर्णालीको राजधानी माफृत सेवा प्रवाह गर्न सकिए धेरै बालबालिकाको पहुँच पुग्नेथियो ।’

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले यसअघि सल्यान, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, र मुगुमा आयोजना गरेको स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर मार्फत शारिरीक अपाङ्गता भएका आठ सय पाँच जना बालबालिकाको पहिचान गरेको थियो ।

जसमध्ये एक सय ३७ जना बालबालिकाको अपाङ्ग बाल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भईसकेको छ । उनीहरुको जटिल प्रकृतिको शल्यक्रिया गरिएको शिविर संयोजक देउजाले जानकारी दिए । उनका अनुसार उक्त शल्यक्रियामा सुर्खेतका २९ जना, सल्यानका २४, दैलेखका १९, जुम्लाका १२, मुगुका ११, जाजरकोटका ६, डोल्पाका चार जना, रुकुम पश्चिम र हुम्लाका क्रमश दुई–दुई जना रहेका छन् ।

सुर्खेत, दैलेख र सल्यानमा धेरै
कर्णालीका पुर्नस्थापना सेवा आवश्यक रहेका बालबालिकाको संख्या सुर्खेतमा धेरै छ । सुर्खेतमा एक हजार ६ सय ५२ जना शारिरीक अपाङ्गता समस्या रहेका बालबालिकालाई पुर्नस्थापनाको आवश्यकता छ । यसैगरी दैलेखमा एक हजार तीन सय ३४ जना, कालिकोटमा सात सय १० जना, जुम्लामा पाँच सय पाँच जना बालबालिकालाई पुनस्थापनाको आवश्यकता छ ।

मुगुमा दुई सय ८० जना, रुकुम पश्चिममा सात सय ९८ जना, जाजरकोटमा आठ सय ८८ जना, डोल्पामा एक सय ९२ जना, हुम्लामा दुई सय ६२ जना र सल्यानमा एक हजार दुई सय २० जना बालबालिका पुर्नस्थापनाको पर्खाइमा छन् ।

‘स्थानीय तहले अभिभाकत्व लिनुपर्छ’
शारिरीक अपाङ्गता भएका बालबालिकाको उपचार सम्भव छ । तर यसका लागि खर्च अलि बढी नै हुन्छ । सीबीआर संयोजक देउजाले भने, ‘उपचार महंगो हुने भएपनि यो असम्भव भने छैन । हामीहरुले अहिले सम्वन्धित पालिकाकासँगको सहकार्यमा काम गरिरहेका पनि छौँ । बालबालिकाका अभिभावक तथा सम्वन्धित पालिकासँग मिलेर जटिल प्रकृतिका शल्यक्रिया माफृत पनि उपचार सम्भव भने देखिन्छ ।’

यसका लागि सम्वन्धित पालिकाले अभिभावकत्व निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘शारिरीक अपाङ्गता भएका बालबालिकालाई पुर्नस्थापना सेवा दिनुपर्ने सम्बन्धित पालिकाको दायित्व हो । यस विषयमा सबै पालिकाले दायित्व निर्वाह गर्न सके हामी पाँच वर्षभित्र कर्णालीका सबै पालिकामा सेवा विस्ताार गर्न सक्छौँ ।’

सहकार्यको बाटोमा जनप्रतिनिधि
कर्णालीका लागि वीरेन्द्रनगरमार्फत पुर्नस्थापना सेवा प्रवाहका विषयमा सुर्खेतका जनप्रतिनिधिले स्वागत गरेका छन् । वीरेन्द्रनगरमा संस्थाको कार्यालयका लागि वीरेन्द्रनगर नगरपालिकाको १ नंम्वर वडा कार्यालयले भौतिक संरचना उपलब्ध गराउने भएको छ ।

वडास्थित स्वास्थ्य सेवा भवनको आठ कोठामध्ये पाँच वटा कोठा विकलाङ्ग मित्र समूह÷अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको कर्णालीमा प्रादेशिक कार्यालयको लागि उपलब्ध गराउने निर्णय गरिएको वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीले जानकारी दिए ।

उनले भने, ‘हाम्रा बालबालिकाको लागि यो आवश्यक थियो । जन्मजात भन्दा पनि जन्म पश्चात शारिरीक अपाङ्गता समस्या रहने बालबालिकाको संख्या कर्णालीमा धेरै नै छ । यस समस्यामा हामी सबैका दायित्वहरु जोडिन्छन् ।’

कर्णालीमा शारिरीक अपाङ्गता भएका बालबालिकाका लागि पुर्नस्थापना केन्द्रको स्थायी सञ्चानार्थ संस्थालाई जग्गा उपलब्ध गराउनतर्फ आफ्नो योजना रहेको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार बताउँछन् । उनले भने, ‘कर्णालीको यो समस्यासँग जुध्न हामी सबै एक हुनुपर्छ । सम्वन्धित निकायसँगको सहकार्यमा यस संस्थालाई कर्णालीमा सेवा प्रवाहमा थप सहजताका लागि जग्गा उपलब्धता तथा सेवा प्रवाह तर्फ हामीले पनि सहयोग गर्नेछौ ।’

स्वास्थ्य र पुनस्थापना घुम्ति शिविर
अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले सुर्खेतका तीन क्षेत्रमा घुम्ति शिविरको समेत आयोजना गर्देछ । सुर्खेतका चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा संस्थाले घुम्ति शिविर कार्यक्रमको आयोजना गरेको अपाङ्ग बाल अस्पतालका कर्णाली संयोजक होमराज केसीले जानकारी दिए ।

यी तीन पालिकामा क्रमशः असोज २ गते, ३ गते र ४ गते विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन हुने उनले बताए । शिविरमा जन्मजात खुट्टाको पैतलाभित्र र बाहिर फर्केको, आगोले पालेर अङ्गहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएकोलगायतका समस्यामा चेकजाँच हुनेछन् ।

यसैगरी जोर्नीहरु र घुडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुन्निने समस्या भएको, हड्डी पाकेर पिप आईरहने, औलाहरु उक आपसमा टाँसिएको वा बढी भएको, कृतिम हातखुट्टा वा अङ्गहरुको आवश्यकता भएको, हड्डीको टिवि रोग लागेको र शरिरका विभिन्न जोर्नीहरुको बाङ्गो तथा हाडजोर्नी सम्बन्धी समस्याका विषयमा शिविरमा जाँच गरिने केसीले जानकारी दिए ।

कर्णालीमा शारिरीक अपाङ्ग बालबालिका सात हजारभन्दा बढि पुनःस्थापनाको पर्खाइमा

कर्णाली प्रदेशसभाको ५ बर्षमा : ८३ विधेयक

कर्णालीमा शारिरीक अपाङ्ग बालबालिका सात हजारभन्दा बढि पुनःस्थापनाको पर्खाइमा

छिन्चुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *