रुस–चीन, अमेरिका–युक्रेन लडाइमा भित्रि सहयोग गर्दै आरोप प्रत्यारोपमा उत्रिए

समाचार एजेन्सी
काठमाडौं, ३ चैत्र ।
अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८०० एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ ।

सैन्य सहायताको निर्णयमा संलग्न स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले दाबी गरेअनुसार स्विचब्लेड–३०० ड्रोन लगायतका घातक हतियार अमेरिकाले युक्रेनलाई सहयोग गर्नेछ । यसले धेरै टाढा रहेका दुश्मनमाथि पनि सटिक प्रहार गर्नसक्ने जनाइएको छ ।

अमेरिकी समाचार एजेन्सी एपीले दिएको जानकारीअनुसार निश्चित बिन्दुमा निशाना लगाएर प्रहार गर्न यस्ता ड्रोन निकै उपयोगी हुन्छन् । समाचारमा उल्लेख गरिएअनुसार उक्त ड्रोनले एक माइलभन्दा पनि टाढाबाट प्रहार गर्न सक्छन् ।

समाचारमा उल्लेख गरिएअनुसार स्विचेबल ड्रोनहरु एकपटक मात्र प्रयोग गर्न मिल्छ । मूल्यका हिसाबमा भने यस्ता ड्रोन अन्य मिसाइलभन्दा सस्तो हुन्छ । यी सबै ड्रोनको समग्र मूल्य ६ हजार डलरभन्दा पनि कम रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो मोडलका ड्रोन नेटोमा आबद्ध केही युरोपेली मुलुकमा रहेकाले उक्त मुलुकबाट ड्रोनहरु युक्रेन पठाइनेछ । बुधबार युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरुलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

सम्बोधनपछि अमेरिकी सांसदहरुले उठेर जेलेन्सीप्रति सम्मान व्यक्त गरेका थिए । त्यसलगत्तै अमेरिकाले मिसाइल लगायका सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने चर्चा सुरु भएको थियो । जेलेन्सीको सम्बोधनको केही घण्टालगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्ति सैन्य सहयोगमा मन्जुरी दिएका थिए ।

यसका साथै अमेरिकाको युक्रेनमा सैन्य सहयोगको राशी बढेर एक अर्ब डलर पुगेको बीबीसीले जनाएको छ । युक्रेनमा रुसले आक्रमण थालेपछि अमेरिकाले त्यसको विरोध गर्दै प्रतिबन्ध घोषणा गरेको छ । बुधबार मात्रै पत्रकारहरुसँगको भेटमा बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए ।

उनको यो अभिव्यक्तिको रुसले अस्वीकार्य र अक्षम्य भनेर आलोचना गरेको छ । अमेरिकाले युक्रेनलाई गरेको थप सैन्य सहयोग र अमेरिकी राष्ट्रपति बाइडनको पछिल्लो अभिव्यक्तिले रुस–युक्रेन युद्ध अझै लम्बिने अनुमान छ ।

रुसको आक्रमणमा युक्रनमा ५ सय अर्ब अमेरिकी डलरभन्दा बढी क्षति
युक्रेनले रुसी आक्रमणका कारण अर्बौंको क्षति भएको बताएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलले रुसको आक्रमणबाट ५ सय अर्ब अमेरिकी डलर (करिब ६१ खर्ब नेपाली रुपैयाँ) भन्दा बढीको क्षति भएको बताएका छन् ।

चेक रिपब्लिक, पोल्यान्ड र स्लोभेनियाका प्रधानमन्त्रीहरू उपस्थित कार्यक्रममा युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहल रुसी आक्रमणबारे जानकारी गराउँदै ।

रुसले फेब्रुअरी २४ देखि निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ । प्रधानमन्त्री श्मिहलले युद्धपछिको पुनःस्थापनाका लागि रुसले क्षतिपूर्ति दिनुपर्नेमा पनि जोड दिएका छन् ।

कसरी पुनःस्थापना गर्ने भन्ने कुरा नखुलाए पनि उनले विदेशमा रहेका रुसी सम्पत्ति कब्जा गरिनुपर्ने उल्लेख गरेका थिए । प्रधानमन्त्रीले चेक रिपब्लिक, पोल्यान्ड र स्लोभेनियाका नेतासँगको कुराकानीमा उक्त कुरा उल्लेख गरेका हुन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ता ’अझ यथार्थपरक’ हुँदै गइरहेको बताएका छन् । युक्रेनी वार्ता टोलीमा रहेका मिखाइलो पोडोल्याक दुई देशबीच आधारभूत कुरामा असहमति भए पनि निष्कर्षमा पुग्नका लागि बाटो बाँकी रहेको बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायता उपलब्ध गराउने एक विधेयकमा हस्ताक्षर गरेका छन् । रुसी आक्रमण सुरु भएयता युक्रेनबाट करिब ३० लाखले अन्य मुलुकमा शरण लिन पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

के रुसले चीनसँग सैन्य सहयोग मागेको हो ?
रुसले युक्रेनमाथि आक्रमण थालेको दुई साता नाघिसकेको छ । हातहतियार र सैन्य शक्तिका आधारमा विश्वकै शक्तिशालीमध्येको एक रुसले तीन/चार दिनमै युक्रेनमाथि नियन्त्रण कायम गर्ने र आफूअनुकूलको नेतृत्वमार्फत शासन सञ्चालन गर्ने अनुमान पश्चिमा देशहरूको थियो ।

तर पूर्वानुमानविपरीत युक्रेनले रुसी फौजको कडा प्रतिरोध गरिरहेको छ । जसका कारण रुसी आक्रमण लम्बिएर १९ औं दिनमा पुगेको छ । रुसले पछिल्ला दिनहरूमा भने युक्रेनमाथिको आक्रमण तीव्र पार्दै लगेको छ ।

उसले युक्रेनका सैन्य अखडा, तालिम केन्द्र तथा अन्य संरचनामा क्षेप्यास्त्र तथा हवाई हमला गरिरहेको छ । त्यस्तै, राजधानी किभबाट २५ किलोमिटरको दूरीमा रहेका रुसी सेनाका बख्तरबन्द ट्यांकमाथि आक्रमण गरी अघि बढ्न रोकेको बेलायत र अमेरिकी अधिकारीको दाबी छ ।

रुस–युक्रेन युद्ध अनुमानितभन्दा निकै बढी दिन लम्बिइरहेका बेला ‘रुसले चीनसँग सैन्य सहयोग मागेको’ अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । युक्रेनमा अतिक्रमण सुरु गरेदेखि नै ‘रुसले चीनसँग सैन्य उपकरण’ मागेको वासिङ्टन पोस्ट (अमेरिका) र फाइनान्सियल टाइम्स (बेलायत) अखबारमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।

चीनसँग सहयोग मागिएको दाबी गरे पनि अमेरिकी अधिकारीहरूले रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने केही नबताएका ती अखबारले जनाएका छन् । रुसी आक्रमण तेस्रो सातामा प्रवेश गरेसँगै रुससँग केही विशेष प्रकारका हतियार सकिएको ती अमेरिकी अधिकारीको दाबी छ ।

समाचार सार्वजनिक भएसँगै रुसलाई सहयोग नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ । मस्कोलाई सहयोग गरेको खण्डमा बेइजिङले ‘कठोर परिणाम’ सामना गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको चेतावनी छ । ‘रुसले भोगिरहेको क्षति चीन या अन्य कुनै पनि देशले पूर्ति गर्न सक्दैनन्,’ उनले भनेका छन् ।

सुलिभानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको शासनप्रति अमेरिका र उसका साझेदार देशहरूले लगाएका प्रतिबन्धको उल्लंघन नगर्नसमेत चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचारसँगै अमेरिकाविरुद्ध कडा रबैया अपनाउँदै आएका रुस–चीन सम्बन्धबारे समेत प्रश्नचिह्न खडा भएको छ ।

अमेरिकी दाबीको चीनले भने कडा शब्दमा आपत्ति जनाएको छ । युक्रेनमाथि जारी आक्रमणका लागि रुसले सहयोग मागेको भन्ने अमेरिकी अधिकारीहरूको भनाइ ‘मिथ्या सूचना’ भएको चीनले जनाएको छ ।

बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझाङले रुस–युक्रेन युद्धमा चीनको भूमिकाबारे अमेरिकाले ‘गलत नियत राखेर’ भ्रम फैलाइरहेको बताएका छन् ।

चीनले शान्ति र संवादमार्फत युद्ध अन्त्यका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता पनि रुसले हतियार मागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । बीबीसीसँग कुराकानी गर्दै उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु रहेको दाबी गरे ।

चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी अधिकारीहरूको दाबी रुसले पनि खण्डन गरेको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले आफ्नो देशले चीनसँग कुनै सैन्य सहयोग नमागेको भन्दै ‘युक्रेनमा विशेष कारबाही जारी राख्ने सामर्थ्य’ रुससँग रहेको बताएका छन् ।

युक्रेनमा जारी रुसी कारबाही पूर्वनिर्धारित समय अनुसार नै सफल हुने उनको दाबी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चाहेअनुसार युक्रेनमा कारबाही अघि नबढेको भन्ने अमेरिका र युरोपेली संघको दाबीलाई मस्कोले जानकारीमा लिएको पनि क्रेमलिनले जनाएको छ ।

अमेरिकी अधिकारीको दाबी केही हदसम्म ‘प्रोपोगान्डा’ भएको कतिपयको दाबी छ । अमेरिकाले र युरोपेली संघ (ईयू) ले युक्रेनलाई सहयोग गरिरहेको अवस्थामा चीनले रुसलाई सहयोग गर्न सक्छ भन्ने त्रासमा अमेरिकी नेतृत्व परेको देखिएको छ ।

जसका कारण जो बाइडेन प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई वरिष्ठ चिनियाँ कूटनीतिज्ञसँग वार्ताका लागि पठाएको ठानिएको छ । यसलाई चीनलाई थप दबाब दिने अमेरिकी कदमका रूपमा प्रयोग गरिएको बीबीसीको विश्लेषण छ ।

केही साताअघि चीनमा हिउँदे ओलम्पिक्स सुरु भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति पुटिनले नयाँ गठबन्धनको घोषणा गर्दै ‘त्यसको कुनै पनि सीमा नहुने’ बताएका थिए ।

अमेरिकी नेतृत्वमा विभिन्न देशले ‘रुस–युक्रेन युद्धमा आगोमा घिउ थपेका’ चीनको आरोप छ । यी सबै घटनाक्रमका बाबजुद चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन ।

रुस–चीन, अमेरिका–युक्रेन लडाइमा भित्रि सहयोग गर्दै  आरोप प्रत्यारोपमा उत्रिए

वडाअध्यक्ष बुढा एमालेमा फर्किए

रुस–चीन, अमेरिका–युक्रेन लडाइमा भित्रि सहयोग गर्दै  आरोप प्रत्यारोपमा उत्रिए

सम्पत्ति लिएर डिभोर्सपछि महिलाले विवाह गरे लिएको

Leave a comment

Your email address will not be published. Required fields are marked *