भूमिहीनलाई लालपुर्जाको सधैं आश्वासन

सल्यान,३० कात्तिक ।
छत्रेश्वरी गाउँपालिकास्थित भोटेचौरका सन्देश नेपालीले सुकुम्बासी आयोगअन्तर्गत ०३८ सालमा घर बनाउने जग्गा पाए । जग्गा पाएको १० वर्षपछि उनले घर बनाए । बनाएको घरमा उनी बस्दै आएका छन् । उनले २०५२ देखि बेलाबेलामा गठन भएको सुकुम्बासी आयोगको कार्यालयमा फाराम भर्दै आएका छन् ।
त्यसयताका उनीसँग भेट भएका सबै उम्मेदवारहरूसँग पनि उनले पुर्जाकै बाचा मागे । ‘सधैं पुर्जा दिन्छु भनेर भोट लिन्छन्,’ उनले भने, ‘तर नेताहरूको आश्वासन कहिल्यै पूरा हुँदैन ।’ ०५४ मा छत्रेश्वरी गाउँपालिकाकै लान्तीका गणेश भारतीले पाँच मिटर चौडाइ र १० मिटर लम्बाइ भएको जग्गा पाए । २० वर्षअघि सात लाख रुपैयाँ खर्च गरी उनी घर बनाएर बसोबास गर्दै आएका छन् ।
![]()
तर अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनन् । ‘निर्वाचनका बेला सधैं उम्मेदवारहरूले विभिन्न विकासका साथै लालपुर्जाको आशा देखाउँछन्,’ उनले भने, ‘तर अहिलेसम्म कसैले पुर्जा दिएनन ।’ स्थानीय तहहरूले संकलन गरेको लगतअनुसार जिल्लामा भूमिहीनहरूको संख्या झन्डै ५ हजार छ ।
०३८ र ०५४ पटकपटक गठन भएको सुकुम्बासी आयोगले घर बनाउने जग्गा त उपलब्ध गरायो । तर अहिलेसम्म भूमिहीनहरूले अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनन् । उम्मेदवारको घोषणापत्र तथा प्रतिबद्धता कागजमा मात्र सीमित भएको लान्तीका अकवीर विकले बताए । ०५४ सालमा जग्गा पाएपछि मजदुरी तथा माछा मारेर कमाएको रकमबाट घर बनाएका छत्रेश्वरी गाउँपालिका–६ लान्तीकै भुवन बादीले उम्मेदवारको घोषणापत्र र प्रतिबद्धत्ता भोट माग्ने आधारमा मात्र रहेको बताए ।
‘हामीले निर्वाचित भइसकेपछि पनि सांसद र नेताहरूलाई भेट्यौं, भूमि आयोगको कार्यालय स्थापना भएपछि छिट्टै समस्या समाधान हुन्छ भनी आश्वासन दिए, त्यहीअनुसार फाराम पनि भ¥यौं,’ उनले भने, ‘तर हामीले भरेको फाराम अहिले कहाँ छ केही अत्तोपत्तो छैन, लालपुर्जा नभएपछि अहिले हामीलाई घरजग्गा हुनु र नहुनु बराबरजस्तै छ ।’
विगतदेखि ऐलानी जग्गामा घर बनाएर बस्दै आएका कालीमाटी गाउँपालिका–७ घुइँयाबारीका नारायण सुनारले लालपुर्जाका बारेमा दलका उमेदवारलाई भने पनि नसुनेजस्तै गरेको गुनासो गरे । जिल्लाको सबैभन्दा दुर्गम तथा विकट मानिने काप्रेचौरमा दलका नेताहरू निर्वाचनका बेला मात्र देखिने गरेको र त्यसपछि फर्केर नआउने गरेको उनले गुनासो गरे ।
कान्तिपुर





