एकीकृत समाजवादी कालीकोट उपाध्यक्ष खाँडाचक्रको मेयरमा विजयी

सुर्खेत, २ जेष्ठ ।
नेकपा एकीकृत समाजवादी कालीकोटका जिल्ला उपाध्यक्ष खाँडाचक्र नगरपालिका कालीकोटको मेयर पदमा विजयी भएका छन् ।
कालीकोट जिल्ला सदरमुकाममा पर्ने खाँडाचक्र नगरपालिकाको नगर प्रमुखमा समाजवादीका कमल बहादुर शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका गणेश बहादुर शाही विजयी भएका छन् ।
सत्ता गठबन्धन रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागबण्डामा खाँडाचक्र नगरपालिका नेपाली काँग्रेसको भागमा परेको थियो । कालीकाेटका स्थानीय तहहरुमा नेकपा एमाले र नेपाली काँग्रेसले सहकार्य गरेपछि गठबन्धन भत्किएकाे थियाे ।
गठबन्धनको भागमा एकीकृत समाजवादीलाई नपरेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका हुन ।
प्रमुखमा कमलबहादुर शाहीले २ हजार ९१९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गणेशबहादुर शाहीले २ हजार ९२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खाँडाचक्र नगरपालिकामा २०७४ सालमा नेकपा एमालेले जीत हाँसिल गरेको थियो । प्रमुखमा जसीप्रसाद पाण्डे र उपप्रमुखमा बिजया बिष्ट निर्वाचित भएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार खाँडाचक्र नगरपालिकामा ८ हजार ३१३ मत खसेको थियो । नगरपालिकामा जम्मा मतदाता संख्या ११ हजार ३३८ रहेका छन् ।







