ठेकेदार कम्पनीलाई कारबाही

हुम्ला,२८ मंसिर  ।

हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोलामा चार वर्षसम्म पनि पक्कीपुल निर्माण नगर्ने कम्पनीलाई कारबाही अघि बढाएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माणको काम सुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो।

आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले सम्झौता भएको लामो समयसम्म निर्माणको काम सुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए । पुल निर्माण कार्य अगाडि नबढाएको र निर्माण स्थल याङ्गार खोलामा निर्माण सामग्रीसमेत पु–याउन नसकेपछि बाध्य भएर ठेक्का रद्दको प्रक्रियामा लगिएको जनाइएको छ।

आयोजनाले बोलपत्र आह्वान प्रक्रियाबाट कम्पनी छनोट गरेर २०७६ सालमा धुलिखेल निसान जेभीसंग याङ्गार खोलामा मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो।

उनले पटकपटक म्याद थप गरेर निर्माणको काम अघि बढाउन ताकेता गर्दा पनि निर्माण कम्पनीले कामै सुरु नगरेपछि आयोजनाले कारबाही प्रक्रिया अघि बढाएको बताए । आयोजनाले निर्माण कम्पनीसंग पुल निर्माणका लागि चार करोड रुपियाँको लागतमा सम्झौता गरेको थियो।

कारबाही प्रक्रिया अगाडि बढाउनका लागि कम्पनीले सम्झौतापछि आयोजनाबाट लिएको अग्रिम भुक्तानीबापतको ४१ लाख रुपियाँ फिर्ता माग्नका लागि पत्राचारसमेत गरिसकेको छ। केही दिनमा ठेक्का रद्दका लागि सूचना पनि जारी गर्ने तयारी गरेको जनाइएको छ।

उहाँले आयोजनाको निर्णयपछि निर्माण कम्पनी पक्षले आयोजनासँग सम्झौता गर्दा राखिएको धरौटीबापतको डेढ करोड रुपियाँ जफत गर्ने र कालोसूचीमा राखिने बताए । कालोसूचीमा परेपछि उक्त कम्पनीले आयोजनाका कुनै पनि ठेक्का लिन पाउने छैन। पुल निर्माण नभएपछि हाल सो खोलामा काठेपुलबाट यातायातका साधन आवतजावत गर्दै आएका छन्।

ठेकेदार कम्पनीलाई कारबाही

रँगाइँदै प्रदेश सभा भवन

ठेकेदार कम्पनीलाई कारबाही

लिमीमा सार्वजनिक विकासको काम गर्न पाउने उमेर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!