संर्घष र सफलता :  चप्पलको भरमा घरबाट हिडेका हरि बने जुत्ता साहु

सिर्जना बुढाथोकी
सुर्खेत,२८ कात्तिक ।

अभावपूर्ण बाल्यकाल

मेरो नाम हरिकुमार श्रेष्ठ हो । वि.सं. २०३४ साल फागुन ५ गते धादिङ्ग जिल्लाको मुरली भन्ज्याङ्ग मा मेरो जन्म भएको हो । मेरो बाल्यकाल धादिङ्गमै बित्यो । सामान्य किसान परिवारमा हुर्किएको म धेरै अभावमा बाँचेको मान्छे हुँ । न गतिलो लाउने न मीठो खाना नै पाउने । सधै काम, खेतबारी, गाईवस्तुकै रेखदेख गरेर जीविका चलाउने मेरो परिवारमा बाबाआमासंगै हामी ७ भाईबहिनी हौ ।

३ भाई ४ बहिनी हो हामी । जसोतसो काम धन्दा गर्दै आमाबाबालाई सघाउँदै मैले गाउँकै विद्यालयमा कक्षा ८ सम्म पढेको हुँ । अनि मेरो बुवाले अब छोरालाई पढाउनु प¥यो राम्रोसंग भनेर काठमाडौं पठाउनुभयो । म पनि काठमाडौं पुगेर कक्षा ९ मा पढ्नका लागि नाम त लेखाएँ तर अंग्रेजी अलि कमजोर भएकाले मलाई पढाईमा समस्या हुन थाल्यो ।

त्यसपछि मैले पढाईमा मेहेनतका गर्नका लागि ट्युसन कक्षा पढ्नुपर्छ भन्ने सल्लाह मेरो शिक्षकबाट आएपछि मैले पढाई छोडे । पढ्का लागि समस्या होइन् तर पैसाको समस्याले मलाई सतायो ।

दुःखले सिकाएको संघर्ष

मेरो गाउँमा दुःख सुख गरेर बसेका बाआमाले मलाई सबै कुरा पुर्याउन सक्ने अवस्था थिएन् । दुःखले नै संघर्ष गर्न सिकाउँदो रहेछ । पैसाको अभावमा हुर्किएको र पढाई छोडेको म कामका लागि बिरानो शहरमा भौतारिन थाले । काम खोज्ने क्रममै मैले एक जना साहु भेटे जो मेरा लागि भगवानको रुपमा आएका रहेछन् ।

मैले काठमाडौंको एक जुत्ताचप्पल पसलमा काम पाएँ । एकाबिहानै पसल खोल्नेदेखि दिनभरी जुत्ताचप्पलमा भएका फोहोर सफा गर्दै ग्राहकको मन बुझेर विक्रि गर्न थाले । यसरी मैले निरन्तर एउटै साहुसँग ८ वर्षसम्म काम गरे । मैले शुरुमा तलब १२ सय रुपैयाँबाट काम गर्न सुरु गरेको हुँ ।

आजभन्दा २२ वर्ष पहिले मेरो तलब मासिक १२ सय रुपैयाँ थियो जसले काठमाडौंमा खान र कोठाभाडा तिर्न पनि धौ–धौ हुन्थ्यो । कयौँ दिन चामल किन्ने पैसा नभएर भोकै बस्नु परेको पीडा पनि मसँग छ । तर दुःखले नै सुख दिंदो रहेछ । एकछिन फुर्सद भएपछि साहुबाट पुराना जुत्ता–चप्पल बजार लगी बिक्री गरेर खर्च व्यवस्थापन गर्थे मैले ।

पछि बिस्तारै मेरो तलब ३५ सय रुपैयाँसम्म पुग्यो त्यसले मलाई अल्ली सहज भयो । मलाई सानैदेखि व्यापारी बन्ने इच्छा थियो । सानोमा चकलेट विस्कुट किन्न जाँदा पनि मपनि यस्तै बेच्ने कहिले हुँला भनेर सोच्ने गर्थे । तर परिवारसँग व्यापार गर्ने आर्थिक हैसियत थिएन त्यसैले मैले सानै उमेरमा संघर्ष गर्ने अवस्थामा पुगे ।

सफलतातिरको पहिलो पाईला

यसरी काम गर्दै जाँदा मैले साहुको उधारो पैसा उठाउने मार्केटिङ्गको काम पाएँ । साहुले मेरो इमान्दारिता र लगनशिलता देखेर मलाई विश्वासका साथ जिल्ला जिल्लामा उधारो रकम उठाउन पठाउन थाले । मैले एक रुपैयाँ तलमाथि नगरेर साहुको विश्वासमा हिंडे । साहुको पसलमा काम गर्ने क्रममा मलाई व्यवसाय गर्दा कसरी फाइदा हुँदो रहेछ भन्ने अनुभव भयो ।

जसले गर्दा व्यवसायमा लाग्न थप ऊर्जा मिल्यो । यहि क्रममा म पैसा उठाउनकै लागि सुर्खेत आएको थिएँ । सुर्खेत आएपछि मैले ठाउँ मन पराएर यहाँ व्यापार गरे राम्रो हुन्छ भन्ने भावना मेरो मनमा आयो । मलाई सधैँभरि एउटा मात्र चिन्ता लाग्थ्यो ‘म कहिले साहुजी बनुँला’? तर त्यो सपना पूरा गर्न मलाई साहुकहाँ ८ वर्षसम्म काम गर्नुप¥यो ।

त्यहि ८ वर्ष कामको अनुभवले मैले संघर्षको पाठ सिकेका कारण अहिले आफैँ मालिक बनेको छु। मेरो वीरेन्द्रनगरको तल्लो बजारमा ‘भगवती स्टोर्स’ नाम गरेको जुत्ता चप्पलको व्यवसाय सञ्चालन गरेको छु। सात जना युवालाई रोजगारी समेत दिएको छु। महिनामा सबै खर्च कटाएर डेढदेखि दुई लाखसम्म फाइदा हुने गरेको छ र म असाध्यै खुशी छु।

मेरा परिवारमा अहिले मेरी श्रीमती, एक छोरा र एक छोरी छन् । छोराछोरीलाई मैले केहि कुरामा कमी गराएको छैन् किनकी मैले भोगेको अभाव उनीहरुमा पार्न चाहन्न । मेरो बुवाआमासंग त थिएन र मैले केहि गर्न सकिन तर अहिले मेरा छोराछोरीको लागि त मैले सबै थोक गरेको छु।

भगवानसरहका साहु

म सफल हुनुमा मेरै साहुको भूमिका छ । काम गरेर कमाएको ३० हजार रुपैयाँ बैंकमा जम्मा गरेर मैले आफैँ व्यवसाय गर्ने कुरा मेरा मालिक मधुसुदन मिश्रलाई सुनाएँ । उहाँले पनि सकारात्मक कुरा गरेपछि मसंग मेरो तलबबाट जम्मा गरेको जम्मा तीस हजार मसंग थियो तर मेरो साहुले मलाई सामान सबै उधारोमा सप्लाई गरिदिएपछि मैले व्यवसाय सुरु गरे । उहाँले सामान बेचेपछि पैसा दिने सर्तमा १७ लाख रुपैयाँ बराबरको सामान सुर्खेत पठाइदिनुभयो मलाई ।

बिस्तारै विक्री गर्दै साहुको रकम चुक्ता गर्दै गएँ । आजभन्दा १५ वर्ष अगाडि सुर्खेतमा जुत्ता–चप्पलको होलसेल पसल थिएन । जसका कारण मेरो पसल राम्रै चल्यो । सुरुमा ल्याएको सबै सामग्री एक महिनामै बिक्री भयो । मालिकको पैसा तिरेर पनि दुई तीन लाख खुद नाफा भयो । म सुर्खेतका लागि पुरानो व्यापारी भएका कारण ग्राहक मलाई र मेरो पसललाई नै खोजेर आउँछन् ।

अहिले मेरो आफ्नो स्टोर्सबाट नेपाली र इण्डियन ब्राण्डका जुत्ता–चप्पल कर्णालीका सबै जिल्लामा सप्लाई गर्दै आएको छु। आफैँ चाइना गएर ग्राहकको रुचि र माग अनुसारको सामान ल्याउने र आफ्नै मेसिन ल्याएर फ्याक्ट्री खोल्ने योजना छ मेरो अब । साहु र मेरो नाता अहिले पनि परिवारको सदस्यको जस्तो छ । उहाँहरु प्रति म सधै धन्य छु।

उहाँ मेरो भगवान हो । मानिसले आफ्नो धरातल कहिल्यै भुल्नुहुदैन । मैले जति धन्यवाद दिएपनि जे गरे पनि उहाँलाई पुग्दैन तर मैले उहाँको मन कहिल्यै दुखाइन् । सायद यसकै फल पाएको हुँ ।

संर्घष र सफलता :  चप्पलको भरमा घरबाट हिडेका हरि बने जुत्ता साहु

सुर्खेतमा ओलीको बोली : विपक्षीप्रति व्यंग्यात्मक, आफु

संर्घष र सफलता :  चप्पलको भरमा घरबाट हिडेका हरि बने जुत्ता साहु

चुनाव जिति सके प्रक्रिया पूरा गर्ने मात्रै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!