सुर्खेतमा ओलीको बोली : विपक्षीप्रति व्यंग्यात्मक, आफु रक्षात्मक

सिर्जना बुढाथोकी
सुर्खेत, २८ कात्तिक ।
एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रमहरुमा ठट्यौलो पारामा विरोधी र विपक्षीहरुको उछित्तो काढ्ने गरी आलोचना गर्न माहिर मानिन्छन् । विपक्षीप्रति आक्रामक र आलोचनात्मक बोल्ने ओली आइतबार सुर्खेतमापनि आफनो चिरपरिचित शैलीलाई निरन्तरता दिंदै सत्तारुढ दलका नेताहरुप्रति आक्रामक र आफनो कामहरुको बचाउ गर्दै रक्षात्मक रुपमा प्रस्तुत भए।
अघिल्लो चुनावताका रेल र पानीजहाजका विषय उठान गर्दै चुनाव जितेपछि समयावधि नपुग्दै संसद भंग गर्न खोजेका ओलीले यी सबै विषयमा रक्षात्मक बन्दै आफनो कामहरुको ‘जष्टिफाई’ गर्ने प्रयास गरेका छन् । ओलीले दुई दुई पटक संसद भंग गर्न खोजेर प्रतिगमनतिर देशलाई धकेल्न खोजेको आरोपको प्रतिकार गर्दै ओलीले भने, प्रतिगमन कस्तो हुन्छ ? संसदले बनाउने र फेर्नेे सरकार अदालतबाट बनाउनु प्रतिगमन हो ।’

तत्कालीन एमाले र माओवादी एउटै घोषणापत्रमा चुनाव लडेर पाएको जनमतविपरित प्रचण्ड हिड्न थालेपछि पुरानो जनमतअनुसारको संसद विघटन गरी नयाँ जनमत लिने कदम लोकतान्त्रिक र संवैधानिक रहेको जिकिरपनि उनले गरे । संसद विघटनको प्रयासपछि एक ठाउँमा उभिएका सत्तारुढ गठवन्धनले ओलीको उक्त कदमलाई प्रतिगमन र पश्चगामी कदम भन्दै चुनावी एजेण्डा बनाइरहेका बेला ओलीले भने, ताजा जनमतमा जाने कदम कसरी प्रतिगमन हुन्छ ? भन्दै प्रतिप्रश्न पनि गरे ।
दार्चुलाको कालापानीमा रहेको भारतीय सेनाको चेकपोष्ट हटाउनेदेखि मेलम्चीको पानी काठमाण्डौं ल्याउने र धरहरा बनाउनेसम्मको कामको जस लिंदै उनले भने, ‘एमाले भन्ने पार्टी हैन, गर्ने पार्टी हो ।’ पानीजहाजका बारेमा कुरा गर्दा ‘हावामा चल्छ पानीजहाज भन्दै खिसिट्यूरी गरिएको भन्दै ओलीले अहिले केहि युवाहरुले कोशी र गण्डकीमा स्टिमर चलाइरहेको र कर्णालीमा पनि चल्नसक्ने तर्क अघि सारे । ‘एमालेले रेलका कुरा गर्यो, रेलपनि भन्न पाइन्छ भनेर कतिपय उफ्रिए’, ओलीले भने, रेल भन्न पाइने मात्र हैन लिक बनाएर, रेल किनेर, रेल ल्याएर
जनकपुरमा कुदाएर म आफैले शुरु गरेर आफैले रेल चलाएँ आफैले टिकट काटेर यात्रापनि गरे ।’
शेरबहादुरले के गरे
एमाले अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा वृद्धभत्ता वृद्धि, सिनेटरी प्याडदेखि सुत्केरी हुँदाको सयमा सुनौला सय दिनसम्मका कार्यक्रम ल्याएको उल्लेख गर्दै शेरबहादुर देउवाले के गरे ? भन्दै प्रश्न पनि गरे । ‘पाँच पल्ट प्रधानमन्त्री भएका शेरबहादुरजीले के गर्नु भयो? भन्दै प्रश्न गरेका ओलीले देउवालाई चुनौति दिंदै एमालेले गरेका कामका बारेमा आपूmसंग सोध्न हाँकपनि दिए । भिएका ठाउँबा अगाडि हेर्नुस, दाँया बाँया हेर्नोस एमालेले गरेका काम देख्नुहुन्छ, ओलीले व्यंग्यात्मक पारामा भने ‘हेर्नै मन नलागे पछाडि हेर्नोस, उम्किन पाउनुहुन्न त्यतापनि एमालेले गरेका काम नै देख्नुहुन्छ ।
माधव नेपालको ‘देउवा’
सत्तापक्षीय गठवन्धनका पाँच दलका शीर्ष नेताहरुमध्ये देउवा र प्रचण्डसंगै नेकपा एकिृकत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि ओलीले आलोचना गर्न बाँकी छाडेनन् । केहि समयअघि चुनावी प्रचारका क्रममा फ्रि भिसा र फ्रि टिकटमा विदेश पठाई दिने भन्दै चुनावी भाषण गरेका नेपालको नक्कल गर्दै ओलीले दोहोर्याइ तेहर्याइ बिना ढेउवा भन्दै नेता नेपालको खिसीकाटे ।
‘एमाले फुटाएर पार्टी खोल्नुभाको छ एउटा चोइटो, एस कि उस् कि के भन्छन् त्यैपनि मंसिर ४ गतेसम्मका लागि ।’ओलीले भने, ‘मंसिर ४ गतेपछि माधव नेपालको पार्टी गयो भनेर शिर नझुकाउनु होला । एमालेमा आउनुस स्वागत छ ।’
‘म्यादी गठवन्धन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठवन्धनलाई म्यादी गठवन्धन भन्दै मंसिर ४ पछि गठवन्धन र सरकार दुबै नरहने दाबी गरे । ‘म्यादी प्रहरीको भाइबहिनीको म्याद मंसिर ४ गतेपछि अरु हप्ता दिन रहला तर यो सरकारको म्याद भनेको मंसिर ४ गतेसम्म मात्र हो । ’ उनले भने, ‘यसको म्याद सिद्धियो अब ।
यो समय गुज्रिएको औषधी हो ।’ एमालेलाई हराउनका लागि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर गठवन्धनका नामा आप्mनो पार्टीविरुद्ध मोर्चावन्दी र घेरावन्दी गरिएको उनले भने, सयवटा स्याल मिलेरपनि एउटा सिंहलाई घेरावन्दी गर्न सक्दैन । एमालेलाई कमजोर बनाउन गरिएको गठवन्धनलाई जनताले मुखभरीको नभई मुखमा नअटाउने जवाफ दिने टिप्पाीपनि उनले गरे ।
ओलीले भने, ‘टालाटुली बटुली कति राम्री कठ्पुतली बनाएझैं, फुटेका हाँडीका खपेटाखपेटी जोडेर कुनै राष्ट्रिय शक्ति हुनसक्दैन् ।’ आगामी चुनावपछि देउवा र प्रचण्डमध्ये को चाहिं प्रतिपक्षी दलको नेता बन्ने हो अहिले नै सल्लाह गरेर टुंगोमा पुग्न भन्दै ओलीले गठवन्धनको भविष्य नभएको दाबी गरे ।
‘प्रचण्ड राजनीतिक विचौलिया’
ओलीले सिद्धिन लागेका प्रचण्डलाई आफुले जोगाई दिएपनि प्रचण्डले आफुलाई सधैं अवरोध मात्र गरेको भन्दै प्रचण्डले राजनीतिक विचौलिया बनेर फाइदा मात्र लिएको आरोप लगाए । पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष हुँदा आफुलाई एउटाले खुट्टा, अर्कोले हात, अर्कोले कोटको बाहुला र अर्कोले कोटको फेरो समोतर हिंड्नै नदिएको टिप्पणीपनि ओलीले गरे ।
आफु जता गए उतै प्रधानमन्त्री बनाउनसक्छु भन्ने भ्रममा प्रचण्ड रहेको टिप्पणी गर्दै ओलीले राजनीतिक रुपमा दलाली र विचौलिया बनेर फाइदा लिने समय अब गुज्रिएको बताए । ‘प्रचण्डजी सिद्धिन लाग्या थिए, मैले समातेर ल्याएर संगै चुनाव लडाएँ । ओलीले भने ‘३६ सिट ल्याउनुभएको थियो प्रचण्डजी सुर्खेत आएर भन्नोस, चोक्टा खान जानुभएको थियो कति झोलमा डुब्नुहुन्छ ४ गते ।






