चुनावी प्रतिबद्धतापत्र : भौतिक पूर्वाधार प्राथमिकतामा

सुर्खेत,२८ कात्तिक ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै घरदैलो गरिरहनुभएको छ । उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धतामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग स्थापना, रोजगारलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
सुर्खेत क्षेत्र नं १ प्रदेश सभा (ख) का उम्मेदवार एमालेका दण्डीप्रसाद शर्माले आफ्नो प्रतिबद्धतापत्रमा मदन भण्डारी राजमार्ग, धुलियाविट भेडावारीलाई सम्पन्न गर्न पहल गर्ने विषय उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा खानेपानी, ग्रामीण सडक, विद्युतीकरण, सिँचाइ, आवासविहीनहरुका लागि पक्की छानासहितको आवास निर्माण गृह, नमुना बस्ती निर्माण, टेलिफोन इन्टरनेटको सुविधा उपलब्ध गराउने उल्लेख छ ।
यस्तै, सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) का उम्मेदवार नेकपा एकीकृत समाजवादीका मोहन बडुवालले पनि आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएका छन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कृषि तथा पशुपंक्षी, पर्यटन, उद्योग तथा व्यापार व्यवसाय र निजी क्षेत्र र सहकारीमार्फत आर्थिक विकास गरिने बताए ।

सुर्खेतमा नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धन छ । सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार कांग्रेसका हृदयराम थानी र प्रदेश सभा (क) मा कालिप्रसाद शाक्य र प्रदेश सभा (ख) का उम्मेदवार माओवादी केन्द्रका विन्दमान विष्टले साझा प्रतिबद्धता ल्याएका छन् । उनिहरुले ल्याएको प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधार, पर्यटन, उद्योग, सञ्चार, विद्युतलाई प्राथमिकता दिइएको छ ।
सुर्खेत उपत्यकाको खानेपानी समस्या समधान गर्ने, वीरेन्द्रनगर चक्रपथ निर्माण गर्ने, वीरेन्द्रनगरको फोहोर व्यवस्थापन, १३२ केभीए विद्युतलाइन प्रसारण, कोहलपुर सुर्खेत सडक स्तरोन्नति गर्ने, सुर्खेत विमानस्थलको समस्याको उपयुक्त निकास खोज्ने, बड्डीचौर गुटु बेनिघाट सडक स्तरोन्नति गर्ने, फलाँटे, तेलपानी, भुरीगाउँ सडक निर्माण गर्ने, चौकुने सिमेन्ट र लखरपाटा सिमेन्ट उद्योग स्थापना गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत क्षेत्र नं २ प्रदेश सभा (ख) प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेलले २८ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रदेश राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक सहरका रूपमा विकास गर्नेसहित योजनाहरू समेटिएका छन् ।
वीरेन्द्रनगरको चक्रपथ निर्माण सम्पन्न गर्ने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी कर्णालीका हिमाली जिल्लामा नियमित उडानको व्यवस्था गर्न पहल गर्ने, मेडिकल कलेजको पूर्वाधार तथा प्रदेशस्तरीय रङ्गशाला समयमै निर्माण सम्पन्न गर्ने, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न जग्गाधनी पुर्जा वितरणमा पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यस्तै, सुर्खेत क्षेत्र नं १ प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवार दीपेन्द्रनाथ योगीले सुशासन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुभएको छ । उहाँले आफूले सांसद भएपछि पाउने पारिश्रमिकको ४९ प्रतिशत शिक्षामा लगानी गर्ने, विद्यालय सुधार गर्ने र कृषिलाई आधुनिकीकरण गर्नेलगायतका प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
गोरखापत्र






