उहिले हाम्रा पालामा : ७५ रुपैयाँ तलब खाने असइ

 

प्रस्तुती : सृजना बुढाथोकी

मेरो जन्म वि.सं. १९९३ साल कार्तिक १६ गते बुवा मुखिया, प्राधानपञ्च माधव सिंह चन्द बोहरा तथा आमा गंगादेवी बोहराको ज्येष्ठ पुत्रको रुपमा (तत्कालीन बाग्लुङ्ग जिल्ला) अग्लुङ्ग गाउँको पैयुँपाटा वडा नं. ५ मा भएको हो । मेरो नाम बालकृष्ण चन्द बोहरा । मेरो आमा विफरको खोपको कारणले म ५ वर्षको कलिलो उमेर छँदै वि.सं. १९९८ ज्येष्ठ महिनामा देहान्त भएको भन्ने मेरा बुवाबाट मैले थाहा पाएको थिए ।

मेरो लालनपालन मेरी हजुरआमा तुलसादेवी बोहराबाट भएको हो । मैले सानै उमेरमा आमालाई गुमाउनु परेको हुँदा आमाको माया ममताबाट बञ्चित हुनु परेकोले अहिले पनि मलाई अत्यन्तै पिँडाबोध भएको अनुभुती गरिरहेको छु। संसारमा सबै भन्दा महान आमानै हुने रहेछन् भन्ने कुराको मलाई अनुभव भैरहेको छ । मेरो पहिलो शिक्षाः २००७ साल सम्म पनि हाम्रो गाउँमा कुनै स्कुल पाठशाला थिएन गाँउका केटाकेटीहरु सबै पढ्न लेख्नबाट बञ्चित थियौं ।

म समेतका ५/७ जना केटाहरु हाम्रै घरमा जम्मा भएर पढ्न लेख्न सिक्ने गर्दथ्यौं । मेरो बुवाले ठुलो वर्णमाला भन्ने किताब ल्याईदिनु भएको थियो । त्यो अवस्थामा गाउँमा अहिलेको जस्तो कापी कलम मसि केहि हुन्न थियो । हामीहरुले काठको पाटीमा कालो मोसो दलेर कमेरो(माटो) को मसि बनाएर निगालाको कलमले पाटीमा कखरा, ककाकीकि लेख्ने गर्दथ्यौं । २००६ सालको कुरा हो एकजना बृद्ध खालका सल्यान तिरका मानिस कताबाट हो कुन्नी हाम्रो घरमा आउनुभएको थियो ।

सायद उहाँ पहिले कुनै जागिर आए जस्तो लाग्थ्यो । उहाँ हाम्रो घर आएपछि बुवाले लौ अब तपाईले हाम्रा केटाकेटीहरुलाई लेख्नपढ्न सिकाउनु प¥यो भनेर उहाँलाई हाम्रै घरमा बस्ने खानेको व्यवस्था समेत गरिदिन भयो । त्यसपछि गाउँका अरु केटाकेटी पनि केही संख्यामा पढ्न आउन थाले । हामीहरु गाउँकै भूमेथान भन्ने ठाउँको चौरमा बसेर पढ्न थाल्यौ । हामीहरुलाई पढाउने गुरीको नाम चाही के थियो थाहा भएन तर गूरुजीले हामीलाई कखरा, बारखरी, अआइई, अंक, दुना सम्म पढाउनु हुन्थ्यो ।

त्यसबखत संँगै पढ्ने साथीहरु गाउँकै पूर्व रा.प.स. बैकुण्ठ बहादुर चन्द, हिम बहादुर बोहरा, गंगा बहादुर, बिष्णु भक्त थिए । यसप्रकार मेरो शिक्षा पनि गाउँमा बस्दा त्यतिमै सिमित रह्यो । म १० वर्षको हुदा घरबाट हामी तिनचार जना केटाहरु राजा बसने जंगलमा काफल खान जान्थ्यौ, काफल आन जाँदा नून र लसुन पाकेटमा हालेर जाने गथ्र्यौ । नून र लसुनसँग काफल खाँदा निकै स्वादिलो हुन्थ्यो । एकदिन हाम्रो पैयूँपाटाको घरदेखि पश्चिम पट्टिको भीरको फेदीमा एउटा कुकुर मरेको रहेछ ।

कुकुरको दाह्राको माला लगायो भने भूत पिँचास लाग्दैन भन्ने कुरा हामीले सुनेका थियौं । विष्णुभक्त दाई, गंगा बहादुर समेत गरी ३ चार जना केटाहरु त्यही मरेको कुकुरको दाह्रा फुकाल्न लागेका थियौं । कति कोशिस गर्दा पनि कुकुरको दाह्रा फुकाल्न सकिएन । ढुंगाले जति हानेपनि दाह्रा फुक्लेन, दिनको १२ बजेको थियो होला । उता घरमा हजुरआमाले यति बेला सम्म खान पनि आएन भनेर खोजखबर गर्नुभएछ ।

अनि कान्छा बुवा गोपी चन्द बोहरा आउनुभयो र तिमी बाँदरहरु यो कुकुरलाई के गरेको भनेर एक सोट्ठा लठ्ठी लगाउनुभयो अनि हामी भागेर घर आयौ । मलाई अझै याद छ । मेरो शिक्षा दिक्षाको बारेमा भन्नुपर्दा एउटा कहानी जस्तै छ किन भने म एक ठाँउमा स्थिर भएर बसेर पढ्न पाएको छैन । राणाकालीन समयमै मेरो जेठो बुवा प्रतिमान चन्द जागिरको शिलसिलामा पाल्पामा नेपाली सेनामा जागिर खानु भएको र त्यहाँनै बस्नु भएकोले बुवाले मलाई पढ्नको लागि जेठा बुवाकै संरक्षणमा पाल्पा पठाउनुभयो ।

प्यूठानको विजुवार स्थित रातामाटे भन्ने स्थानमा जेठाेबुवाले स्थापना गरेको मुक्ति विद्यालय हाइस्कुलमा मैले प्राथमिक तहसम्म अध्ययन गरेको हो । स्कुल जानेबेला एक रुपियाँ खाजा खर्च दिने गर्नुहुन्थ्यो त्यसबखतमा एक रुपिया भनेको त कता हो कता धेरै हुन्थ्यो । केहि समय पछि २०११ सालतिर मलाई काठमाडौंमा पढ्न पठाउने व्यवस्गा मिलाउनुभयो बुवाले । मेरो मावली हजुरबुवा ओम बहादुर खत्री माता तिर्थ औंसीको मौका पारेर पशुपतीको जंगतमा सतबीउ छर्न भनेर काठमाडौं जान लाग्नुभएको थियो ।

बुवाले मलार्य हजुरबुवासँगै काठमाडौं पठाउनुभयो । त्यतिबेला बाटोघाटो सवारी साधन केही थिएन ७/८ दिनको पैदल यात्रापछि काठमाडौं (उसबखत काठमाडौंलाई नेपाल भन्ने गर्थे) पुगेका थियौं । मलाई मामा सँग बसेर पढ् भन्दै बुवाले लैनचौरको शान्ति विद्या गृह हाइस्कुलमा ५ कक्षामा भर्ना गरिदिनुभयो । मेरो पढाईका लागी खर्चपर्च पठाउन पनि बाटोघाटो नभएकाले अत्यन्तै कठिन अवस्था भएकाले साह्रै समस्या भयो ।

काठमाडौंमा बस्दा कुनै दिन भोकै बसियो, कुनै दिन एक छाक खाएर बसियो तर कसैसँग मागेर आइन जस्तो सुकै अवस्थामा पनि मामाले जेनतेन मलाई म्याट्रिक सम्म पढाउनुभयो । मेरो बुवाको इच्छा छोराले उच्च शिक्षा हासिल गरोस् भन्ने थियो तर त्यस बखतको परिस्थितिले पनि साथ दिएन र मेरो पनि पढ्ने चाहना अधृुरै रहन गयो । त्यतिबेला संचारको सुविधा नभएकाले पनि मेरो हजुर वुवाको मृत्यु भएको खबर महिनौ पछि त्यहि पनि चिठ्ठि मार्फत थाहा पाएको थिए ।

मेरो प्रहरी जीवन
मेरो पढ्ने इच्छा सपना जस्तै भएपछि चिन्तित भएर के गरुँ कसो गरुँ भनेर बसेको थिए, त्यसै अवस्थामा म २०१३ साल पौष महिनामा नेपाल पुलिस विभागमा क्याडेटमा नयाँ भर्नाको विज्ञापन खुलेको हुँदा मैले पुलिसमा नयाँ भनाईको लागि निवेदन दिएको र भनाईको लागि नाप तौल मेडिकल टेष्ट इत्यादी सबै प्रकारका भनाई भएपछि हामीहरु म समेतका अन्य साथीहरुलार्य तत्कालिन कृष्ण शम्शेरको घोडा बाध्ने तबेला भएको शितल निवासको चौरमा (हालको प्रहरी तालिम केन्द्र) दिनभरि तालिम गराउने बेलुकी आ-आफ्नो घर डेरामा जान्थ्यौं ।

विहान १० बजे शितल निवासको चौरमा जाने र बेलुकी ४ बजेसम्म तालिम हुन्थ्यो । हाम्रो ड्रेर चाहि सेतो कमिज खाकी रंगको कपडाको पाइन्ट, सेतो कपडाको जुत्ता, कालो भादगाउले टोपी थियो । सो सबै लत्ताकपडा आफ्नै निजी खर्चमा बनाउनु परेको थियो ।

हामीहरुलाई भर्ना गर्दाको बदतको विज्ञापन तालिम अवधि ६ महिनाको हुनेछ पकेट खर्च बापत महिनाको १३ रुपैयाँ र रासन बापत १७ रुपैया दिने भन्ने उल्लेख थियो । तालिम केन्द्रबाट पास आउट भएपछि २०१५ साल भदौ महिनामा भैरहवा एन.ए.सि. कम्पनिको रिक्त रहेको असई पदमा मेरो पोष्टिङ्ग भएको हो ।

त्यस बखत मैले आफ्नो घर पायक पर्ने हुँदा भैरहवा रोजेको हुँदा सोही अनुसार भैरहवामा मेरो पोष्टिङ्ग भएको थियो । त्यतिबेला असईको तलब ७५ रुपैया थियो । पुलिसलाई अहिलेको जस्तो राशन सुविधा, लत्ता कपडा, तलब, भत्ता सवारी साधन जस्ता कुनै पनि सुविधा उपलब्ध थिएन ।

म नयाँ भएकोले कामकाज प्रति त्यति अनुभव थिएन। म गुल्म कम्पनीमा हुँदा जुनजुन ठाउँमा डकैतिका घटनाहरु हुन्छन् त्यहीँ ठाउँहरुमा मलाई गस्ति गर्न खटाउँथे । म पनि भरखरको जवान केटा कसैको डर त्रास नमान्ने हुँदा खुशिराथ जान्थेँ । मलाई प्राय किन हो कुन्नि एस.पि. अफिसले नै पत्र लेखेर गस्तिमा खटाउने गर्थे म सिधा सादा व्यक्ति भएको हुँदा मैले बुझ्नै सकिन ।

मैले रातको समय गस्ति कै अवस्थामा नेपालको विभिन्न ठाउँमा डाकाहरु मानिसलाई मारेर फरार भएका भारतिय डाँका नाटे अहिर, नयिम मुसलमान जस्ता खुङ्गखार डाकाहरुलाई भारतिय भूमी भित्रै प्रवेश गरेर रातको समयमा पक्राउ गरेको थिए । यस्तै गर्दै जादा, वि.स २०४९ सालमा बझाङ जिल्लाबाट प्रहरी नायव उपरीक्षक पदमा रिटायर्ड भएर घर फर्किए । घरमा आएपछि पनि २०५५ साल देखि २०६० सालसम्म सामाजिक सेवा र धार्मिक कार्यहरुमा समेत संलग्न भए ।

सुर्खेत जिल्लाको बालसंगठनको निर्वाचित सभापति भै निरन्तर रुपमा काम गरे । त्यहाँ बसेर काम गर्दा पनि बालमन्दिर भवन र बालमन्दिर प्रा.वि.को हालत उस्तै अव्यवस्थित स्कुल भवनको कोठाहरुमा बाख्राहरुको मलमुत्र भएको, स्कुलको खेलमैदान भेडा बाख्रा भराउने चरण जस्तै भएको, स्कुलको कोठाहरुमा स्थानीय व्यक्तिले बाख्रा थुनेर राख्ने गरेको देखिएको हुँदा मलाई कसरी सफा बनाउने भन्ने कुरामा मेरो ध्यान गयो र केहि व्यापारीहरुबाट चन्दा उठाएर बालमन्दिर स्कुलको पुर्व र दक्षिण पश्चिम गरी १५० मितर कम्पाउण्ड वाल निर्माण गरेको थिए मैले ।

म गुल्मी जिल्लामा जन्मेको मानिस २०३९ साल सम्म म सुर्खेत सशस्त्र प्रहरी गुल्मको गुल्मपति भएर सुर्खेतमा बसे । अनि मेरी सासुका २ वटी छोरी रत्ना र टिका बोहरा मात्र भएको र उहाँको हेरचाह गर्ने कोही नभएको कारण पनि सुर्खेतमा बसोवास गर्नु परेको मेरो अवस्था हो ।

उहिले हाम्रा पालामा : ७५ रुपैयाँ तलब खाने असइ

भेरिगंगा सहकारीमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

उहिले हाम्रा पालामा : ७५ रुपैयाँ तलब खाने असइ

डोल्पामा डोजर दुर्घटना,चालकको घटनास्थलमै मृत्युु

Leave a comment

Your email address will not be published. Required fields are marked *