सुर्खेत उपत्यकामा खानेपानीकै पीरलो

सुर्खेत, ३० फागुन ।
गर्मी मौसम सुरु हुन थालेसँगै वीरेन्द्रनगरमा खानेपानीको पीरलो पनि बढ्न थालेको छ । वीरेन्द्रनगरमा खडेरीको समयमा बर्सेनि खानोपानीको हाहाकार नै हुन्छ ।

यसपाली पनि गर्मी मौसम सुरु भएसँगै मुहानमा पानीको स्रोत पनि घट्न थालेको छ । मुहानमा स्रोत घट्न थालेपछि खानेपानी वितरणको नयाँ कार्यतालिका बनाउन लागिएको छ ।

केही हप्तायता वीरेन्द्रतनगरका धारामा नियमित पानी आउन छोडेको छ । दैनिक साँझ र विहान पानी आउने धारामा पछिल्लो समय साँझ वा विहानमा मात्रै पानी आउन थालेको हो ।

मुहानमै पानीको स्रोत घटेपछि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अब नयाँ कार्यतालिका अनुसार पानी वितरण गर्ने तयारी थालेको छ । संस्थाले अब पानीको स्रोतअनुसार नै पानीको वितरण गर्ने रणनीति बनाउन लागेको हो ।

‘गर्मी सुरु भएसँगै मुहानमा पनि पानीको स्रोत घटेको छ, तत्काल नयाँ स्रोतहरु थपिने सम्भावना छैन’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘अहिलेलाई जेजति पानी छ, त्यसैलाई समानुपातिक हिसावले वितरण गर्ने तालिका बनाउन लागेका छौं ।’

अहिले प्राविधिक टोलीले नयाँ कार्यतालिका बनाइरहेको उनले बताए । हप्ता दिनभित्रै पानीको स्रोत नापचाँग गर्ने र सोहीअनुसार धारामा पानी वितरण गर्ने संस्थाको तयारी छ ।

‘अहिले प्राविधिक टोलीले पानी वितरणको खाका तयार बनाउँदै छ’ अध्यक्ष देवकोटाले भने, ‘सम्भवतः हप्ता दिनभित्र नयाँ तालिका अनुसार पानी वितरण हुन्छ ।’

वितरण प्रणालीसँगै थप स्रोतकोसमेत खोजी भइरहेको उनले बताए । संस्थाले खडेरी मौसमका लागि अल्पकालीन स्रोतको खोजी गरिरहेको छ । तर गर्मीयामसम्म नयाँ स्रोतबाट पानी आउने कुनै सम्भावना छैन ।

संस्थाका अनुसार धन्धुरेखोला आयोजना निर्माणाधिन अवस्थामा छ । तर खडेरी मौससम्म धन्धुरेखोलाको पानी वीरेन्द्रनगरमा ल्याउन सम्भव छैन । ‘जेठ/बैशाखसम्म धन्धुरेखोलाको पानी कुनै पनि हालतमा आउन सक्दैन’ संस्थाका एक कर्मचारीले भने, ‘यसपाली पनि चार÷पाँच दिन विराएर पानी वितरण गर्नुपर्ने भयो ।’

खडेरीसम्म निर्माणाधिन आयोजना सम्पन्न नहुने र नयाँ विकल्प पनि नभएपछि जेठ÷बैशाखमा पानीको हाहाकार हुने देखिन्छ । अघिल्लो बर्ष खडेरीमा संस्थाले ९४ घण्टा (चार दिनको) फरकमा पानी वितरण गरेको थियो । यो बर्ष वितरणको तालिका झन् बढ्ने संकेत देखिएको छ ।

एक बर्षको अवधिमा धाराको संख्या पनि बढेका कारण पानीको थप समस्या हुने संस्थाको आंकलन छ । ‘एक बर्षमा झण्डै दुई हजार धारा थपिएको अनुमान छ’ संस्थाका ती कर्मचारीले भने, ‘धाराको संख्या बृद्धि भएपछि यसपाली अझ हाहाकार नै हुन्छहोला ।’

नयाँ धारा वितरण अनिश्चित
वीरेन्द्रनगरमा नयाँ धारा वितरण अनिश्चित बनेको छ । हालकै धारामा पानी पु¥याउन नसक्ने अवस्था भएपछि नयाँ धारा वितरण अनिश्चित बनेको हो ।

खानेपानीको धारा वितरण गर्न भन्दै २०७४ मा आवेदन दिएका सात हजार दुईसय ६७ मध्ये झण्डै चार हजारले धारा पाएका छैनन् । उनीहरुले कहिले धारा पाउँछन् भन्ने निश्चित छैन ।

०७४ सालमा आवेदन स्किम नं. १ बाट ६८ जना, स्किम न २ बाट एक हजार एकसय तीन जना, स्किम न ३ बाट पाँचसय १८ जना र स्किम नम्बर ४ बाट एकसय ६४ जना, स्किम नं ५ बाट तीन सय ७६ जना, स्किम नम्बर ६ बाट चारसय ३० जना, स्किम नम्बर ७ बाट एक हजार ३० जनाकाे अावेदन परेकाे छ ।

स्किम नम्बर ८ बाट एक हजार तीनसय पाँच जना, स्किम नम्बर ९ बाट एक हजार सातसय ८७ जना र स्किम नम्बर १० बाट चारसय ९४ जनाले नयाँ धारा जडानका लागि आवेदन दिएका छन् । तर संस्थाले पानीको स्रोत अपुग भएको भन्दै नयाँ धारा वितरण गर्न सकेको छैन । संस्थाले भने अब बर्षदिनभित्र सबैलाई धारा वितरण गरिसक्ने दाबी गर्दै आएको छ ।

सुर्खेत उपत्यकामा खानेपानीकै पीरलो

हुम्ला सदरमुकामलाई नगरपालिका बनाउन सिफारिस

सुर्खेत उपत्यकामा खानेपानीकै पीरलो

शिवालयमा गर्भवतीको ज्यान गयो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!