कर्णाली प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको भिड, अस्पताल र फार्मेसी सञ्चालनको तयारी

सुर्खेत, २ फागुन ।
केहीबर्ष अघिसम्म वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालय सुनसान जस्तै हुन्थ्यो । प्रदेश अस्पताल सुर्खेतमा विरामीको भीड लागिरहँदा नजिकै रहेको आयुर्वेद औषधालयमा विरामी जान्थेनन् । कतिपयलाई त यो औषधालय छ भन्ने जानकारीसम्म थिएन ।
एक हिसावले उबेला आयुर्वेद उपचार पद्दतिप्रति नागरिकको विश्वास नै थिएन । तर अहिले अवस्था फेरिएको छ । कुनै समय सुनसान हुने यही औषधालयमा हिजोआज दैनिक एक सयसम्म विरामी उपचारका लागि पुग्न थालेका छन् ।
‘चार/पाँच बर्षअघि त उपचारका लागि मुश्किलले दैनिक दुईचार जना विरामीहरु मात्र आउँथे, कतिपयलाई औषधालयको बारेमा थाहा नै थिएन’ प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले भने, ‘हिजोआज औषधालयको स्वरुप बदलिएको छ, अहिले दैनिक ८० देखि एकसय जना विरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।’
आयुर्वेद उपचार पद्दतिप्रति नागरिकको विश्वास बढेपछि औषधालयमा विरामीको भीड लाग्न थालेको हो । उसो त नागरिकको विश्वास जित्न औषधालयले योगादेखि भिडियो एक्सरेसम्मका सेवा सुरु गरेको छ । औषधालयले हाल ओपीडी सेवा, प्रयोगशाला, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, एक्सरे, फिजियो थेरापी, अकुपंचर लगायतका सेवाहरु दिँदै आएको छ ।
त्यस्तै ४४ प्रकारका जडिबुटी औषधि वितरण, जेष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवर्दन कार्यक्रम र सुत्केरीलाई निःशुल्क स्तन्यवर्धक औषधी वितरण जस्ता गतिविधिहरु समेत गर्दै आएको छ । औषधालयको यही सक्रियताका सेवा लिन आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । सेवाग्राहीहरु बढ्न थालेपछि औषधालयले सेवा क्षेत्रसमेत विस्तार गर्ने रणनीति लिएको छ ।
औषधालयलाई अस्पतालका रुपमा विकास गर्ने योजनासहित भवन निर्माण सुरु गरिएको हो । अस्पतालका लागि झण्डै २० करोडको लागतमा भनव निर्माणको काम भइरहेको छ । त्यस्तै आयुर्वेदले फार्मेसीसमेत सञ्चालन गर्ने तयारी गरेको छ । फार्मेसी सञ्चालनका लागि औषधालयले प्रदेश सरकारसँग आवश्यक प्रक्रिय अगाडि बढाएको डाक्टर रिजालले जानकारी दिए ।
स्थानीय तहमा सेवा विस्तार गरिद
देश आयुर्वेद औषधालयले आयुर्वेद उपचार पद्दतिलाई स्थानीय तहसम्म विस्तार गर्ने भएको छ । पालिका स्तरमा सेवा विस्तारका क्रममा औषधालयले सुर्खेतको चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सुर्खेतका नौं स्थानीय तहमध्ये गुर्भाकोट र पञ्चपुरीमा पनि आयुर्वेद औषधालयको सेवा पुगेको छैन।
पञ्चपुरीमा डाँडादरा आयुर्वेद औषधालय, भेरीगंगामा जहरे आयुर्वेद औषधालय र सिम्ता गाउँपालिकामा बाँदेपिपल आयुर्वेद औषधालयबाट सेवा दिँदै आएको छ । आयुर्वेद औषधालय नभएका पालिकामा भने जेष्ठ नागरिक आरोग्य केन्द्रबाट सेवा दिँदै आएको जनाएको छ ।
कर्णालीका ७९ स्थानीय तहमध्ये ५१ स्थानीय तहमा अझै आयुर्वेद सेवा पुगेको छ । सदरकुमकामका पालिकामा जिल्ला आयुर्वेद औषधालयले सेवा दिँदै आएका छन् भने जिल्ला बाहिरका १८ वटा स्थानीय तहमा मात्रै आयुर्वेद सेवा पुगेको छ ।
तीन बर्षमा ८० हजारलाई सेवा
पछिल्लो तीन बर्षमा प्रदेश आयुर्वेद औषधालयले ८० हजारभन्दा बढी नागरिकलाई सेवा दिएको छ । औषधालयले तीन आर्थिक बर्षमा ८० हजार सातसय ४० जनालाई सेवा दिएको हो । जसमध्ये आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ९२ जना, ०७६/०७७ मा २७ हजार तीनसय ५५ जना र ०७७÷०७८ मा ३० हजार चारसय ३६ जना नागरिकलाई सेवा दिएको औषधालयका डाक्टर रिजालले जनाए ।
औषधालयबाट २०७५ देखि ०७७ सम्मको अवधिमा ५४ हजार पाँचसय ६४ जनाले ओपीडी सेवा, ११ हजार तीनसय ४४ जनाले जेष्ठ नागरिक सेवा, पाँच हजार तीनसय २७ जनाले पूर्वकर्म सेवा लिएका छन् ।
त्यस्तै गाउँघर क्लिनिकबाट चारहजार सातसय ३४ जना, निःशुल्क आयुर्वेद शिविरबाट दुई हजार चारसय ८४ जना, दुईसय २४ जनाले क्षारसुत्र सेवा, एक हजार नौसय ८९ जनाले स्तनपान सेवा र ८४ जना कोरोना संक्रमितले आइसोलेसन सेवा दिएको औषधालयले जनाएको छ ।
बेलामौकामा विभिन्न क्षेत्रमा शिविर नै गरेर औषधालयले आयुर्वेद उपचार पद्दतिको प्रचार–प्रसार गर्दै आएको छ । समयक्रम सँगै थपिएको सेवा र प्रचार–प्रसारको प्रभावकारिताका कारण आयुर्वेद उपचार पद्दतिप्रति आम नागरिकको जनविश्वास बढ्दै गएको हो ।






