१९ सय मेगावाट उत्पादनको सम्भाव्यता अध्ययन

पुनम वि.सी.
सुर्खेत, २७ मंसिर ।

कर्णालीका सात स्थानमा जलविद्युत आयोजना सञ्चालनका लागि अध्ययन भईरहेको छ । प्रदेश जिल्लाहरु डोल्पा, जाजरकोट, रुकुम पश्चिम, हुम्ला, कालिकोट र मुगुमा ठूला जलविद्युत आयोजना निर्माणका लागि अध्ययन सुरु भएको हो ।

हाल निर्माण प्रक्रियामा रहेको भेरी बबई ड्राईभर्सन आयोजनाभन्दा पनि ठूला क्षमताका जलविद्युत आयोजना सञ्चालनका लागि यी स्थानमा ऊर्जा तथा जलस्रोत मन्त्रालयले अध्ययन गरिरहेको छ । डोल्पाको भारवुङ्ग नदीमा पाँच सय १२ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि मन्त्रालयले अध्ययन गरिरहेको छ ।

यसैगरी जाजरकोट–रुकुम क्षेत्रमा डाँडागाउँ खलंगा भेरीमा एक सय २८ मेगावाट क्षमता, हुम्लामा हुम्ला कर्णाली आयोजना, मुचुमा ६२ मेगावाट क्षमता, सोहि क्षेत्र नजिकै हुम्लाकर्णाली आयोजनामा नौं सय १६ मेगावाट विद्युत उत्पादन क्षमता आयोजनाको अध्ययन भईरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ ।

यसैगरी कालिकोटको कर्णाली–१ आयोजनामा एक सय ८४ मेगावाट, लोहरे खोला–१ मा ८१ मेगावाट र मुगु– कर्णाली आयोजनामा एक सय मेगावाट विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयले जनाएको छ । कुल १८ हजार मेगावाट विद्युत क्षमता बोकेको कर्णालीमा यी सम्भाव्यता अध्ययन सुरु भएका आयोजना सञ्चालन हुन सकेमा एक हजार नौं सय ८३ मेगावाट विद्युत उत्पादन हुन सक्छ ।

यसैगरी प्रदेशमा ६ वटा आयोजनाहरुमा हाल निर्माण कार्य सञ्चालन भईरहेको छ । पाँच मेगावाट उत्पादन क्षमता रहेको जुम्लाको भेरी खोला, ४८ मेगावाट क्षमता रहेको सुर्खेतको भेरी बबई डाईभर्सन आयोजनाहरु निर्माण प्रक्रियामै छन् । यसैगरी जुम्लामा चार मेगावाट बढीको ल्याउरीगाड आयोजना र १७ मेगावाट बढीको ज्वाला खोला आयोजना निर्माण चरणमा रहेको मन्त्रालयको विवरण छ ।

हुम्लामा ३० मेगावाट क्षमताको क्वादी खोला आयोजना र ४९ मेगावाट बढीको लोटी कर्णाली आयोजना निर्माण चरणमा छन् । विद्युत विकास विभागको तथ्यांक अनुसार कर्णाली प्रदेशमा करिब १८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता रहेको छ ।

विद्युत उत्पादन सम्भावनाका हिसाबले सात प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा परेपनि अहिले यो प्रदेशबाट साढे ३ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ । प्रशस्त सम्भावना भएर पनि जलविद्युतमा लगानी गर्न र उत्पादन बढाउन नसक्दा कर्णाली प्रदेशको अधिकांश भूभाग अहिले पनि बिजुलीको पहुँचभन्दा धेरै टाढा छ ।

पहाडी जिल्लाहरुमा पनि दियालो र टुक्कीको साहारामा बाँच्नुपर्ने अवस्था रहेको छ । एक तथ्यांक अनुसार कर्णालीका ७१ प्रतिशत नागरिक विद्युतको राष्ट्रिय प्रसारण लाइनको पहुँचभन्दा बाहिरै रहेका छन् भने ४० प्रतिशत नागरिक अझै पनि बिजुलीको पहुँचमा पुग्नै सकेका छैनन् । १० मेगावाट विद्युत उत्पादन कर्णालीमा हाल १० दशमलव ७० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार यस प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता करिब १८ हजार मेगावाट रहेपनि प्रदेशमा हालसम्म जम्मा १० दशमलव ७० मेगावाट विद्युत उत्पादन भएको तथ्यांक छ ।

दैलेखमा रहेका पदम खोला र द्वारीखोला साना जलविद्युत आयोजनाबाट क्रमशः ४ दशमलव ८ मेगावाट र ३ दशमलव ७५ मेगावाट विद्युत उत्पादन भइरहेको छ । त्यसैगरी, हुम्लाबाट शून्य दशमलव ५० मेगावाट, मुगु र कालिकोटबाट समान शून्य दशमलव ४० मेगावाट र रुकुम पश्चिमबाट शून्य दशमलव ३५ मेगावाट विद्युत उत्पादन भएको प्राधिकरणको तथ्यांक छ ।

कर्णालीमै धेरै विद्युत चुहावट

कर्णालीमा आपूर्ति भएको विद्युत रुकुम पश्चिम, सुर्खेत, जाजर कोट, दैलेख र सल्यान गरी पाँच स्थानबाट प्रदेशभर विद्युत वितरण हुने गरेको छ । जसमध्ये रुकुम पश्चिम क्षे त्रमा सबैभन्दा बढी विद्युत चुहावट भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ मा कर्णालीमा ६ करोड युनिट विद्युत आपूर्ति भयो ।

आ.व. २०७८÷०७९ को वैशाख मसान्तसम्ममा कर्णालीमा आपूर्ति भएको विद्युतमध्ये १६ दशमलव ८० प्रतिशत विद्युत चुहावट भएको छ । नेपाल विद्युत प्राधिकरणले कर्णालीका लागि वैशाख २०७९ सम्ममा कर्णालीमा कुल ६ करोड ७० लाख २१ हजार ६ सय ५६ युनिट आपूर्ति गरेको थियो ।

त्यसमध्ये पाँच करोड ५७ लाख ६१ हजार पाँच सय ९३ युनिट विजुली खपत भएको नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ । बाँकी एक करोड १२ लाख ६० हजार ६३ युनिट विजुली चुहावट भएको हो ।

नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालून गरि एको अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष कर्णालीमा विद्युत चुहावटमा झिनो सुधार मात्र देख्न सकिन्छ । प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ ।

गत २०७८ वैशाखसम्म कर्णालीमा १६ दशमलव ८१ प्रतिशत विद्युत चुहावट थियो । हाल २०७९ वैशाखसम्ममा १६ दशमलव ८० प्रतिशत विद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ । २०७९ बैशाख सम्ममा रुकुम पश्चिममा आपूर्ति भएकोमध्ये २० दशमलव ०३ प्रतिशत विद्युत चुहावट छ ।

यसैगरी सुर्खेतमा १७ दशमलव ९१, जाजरकोटमा १४ दशमलव ९७, दैलेखमा १२ दशमल ६७ र सल्यानमा १० दशमलव २८ प्रतिशत विद्युत चुहावट हुने गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । गत २०७८ वैशाखसम्ममा रुकुम पश्चिममा २९ दशमलव ३१, सुर्खेतमा १६ दशमलव ६३, जाजरकोटमा १२ दशलव ५३, दैलेखमा १४ दशमलव ८९ र सल्यानमा १३ दशमलव ३३ प्रतिशत विद्युत चुहावट थियो ।

 

१९ सय मेगावाट उत्पादनको सम्भाव्यता अध्ययन

कुरा कर्मयाेगीका : लेबरी गरेर छोराछोरी पढाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!