कुरा कर्मयाेगीका : लेबरी गरेर छोराछोरी पढाउने ‘शिक्षिका’

सिर्जना बुढाथोकी
सुर्खेत,२७ मंसिर ।
अभावमय बाल्यकालः
जाजरकोट जिल्लाको हालको भेरी नगरपालिका–१, कालेगाउँमा वि.सं. २०२५ सालमा मेरो जन्म भएको हो । गाउँले परिवेशमा जन्मिएकी म दुःखका कुरा गरेर साध्य हुन्न। मेरो परिवारमा बुवाआमा र हामी आठ भाईबहिनी हौ ।
चारभाई चारबहिनीमध्येकी माइली छोरी हो म । मेरो बुवा गाउँमा प्रधान हुनुहुन्थ्यो । लगभग २८ वर्ष मेरो बुवाले पञ्चायतकालमा प्रधानको रुपमा गाउँमा हुने हरेक समस्यादेखि विकासका काम गर्नुभयो । प्रधान भएपनि मेरो बुवाको सोचमा छोरीलाई पढाउनुपर्छ भन्ने सोच कहिल्यै आएन् ।
दाईभाई पढ्न जाँदा मलाईपनि विद्यालय जान मन लाग्थ्यो । तर हामी दिदीबहिनीको काम जंगल जाने घाँस दाउरा, गोठालो हुन्थ्यो । तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै मैले भातभान्साको काम सकेपछि गोठालो गएको समयमा गाईवस्तुलाई चर्नका लागि चरनमै छोडेर विद्यालय जान्थे अनि फर्किदा जंगलमा छोडिएका गाईवस्तु लिएर घर आउँथे ।

जहिलेसुकै एघार– बाह्र बजे विद्यालय पुग्थे । बुवालाई फकाएर ‘म पनि विद्यालय जान्छु’ भन्न मलाई निकै समय लाग्यो र अन्त्यमा गाईवस्तु हेर्दै पढ्ने भन्ने शर्तमा मैले पढेँ । दुई जना सर र ५ वटा माटोले बनेका ढुगांको छानो भएको भवन थियो । हाम्रा शिक्षक त्यो समयमा सात कक्षा पास गरेका हुनुहुन्थ्यो ।
गाउँकै कक्षा ५ सम्म भएको विद्यालयमा मैले पढे अनि दाईभाई पढ्नका लागि सदरमुकाम खलंगा जानुपर्ने समयमा दाईभाईलाई खाना पकाएर खुवाउने अनि आफुपनि पढ्ने भनेर म पनि खलंगा लागे । त्यहाँ रहेको त्रिभुवन मा.वि खलंगामा मैले पढ्दै जाँदा निरन्तर पास हुँदै राम्रोसंग पढे ।
मासिक रुपमा विद्यालयमा तिर्ने महिना शुल्क रु ६ पनि जुटाउन मलाई निकै सकस हुन्थ्यो । कहिले त नभएर रोएर आमासंग माग्थे तर बुवाबाट कहिल्यै पाएन । बुवाआमाले न, कहिले कहि टीका लाएर दक्षिणा पाएको एक दुई रुपैयाँ जम्मा गरी गरी कापीकलमको जोहो गर्ने र महिनाभरीको फि तिर्थे ।
कक्षा ९ सम्म पुग्दा फि बढेर २२ रुपैयाँसम्म पुग्यो । त्यो समयमा महिनामा १० रुपैयाँपनि मलाई निकै मुश्किलले मिल्थ्यो । खाजाका कुरा नगरे हुन्थ्यो । हाम्रो खाजा नास्ता जे भने पनि रोटी नै थियो । बिहान बेलुकापनि रोटी तरकारी, दिउँसोपनि रोटी तरकारी । गाउँले परिवेशमा हुर्किएकोले मेरो बुवालाई काम नै प्यारो थियो ।
क्रान्ति र बुहार्तन
विद्यालयमा पढ्दै जाँदा त्यो समयमा माओवादी आतंक थियो । बालबालिकाभन्दा अलि माथि उक्लीना साथ माओवादीले आफनाे साथमा लगिहाल्थे । मेरो बुवा, दाईभाई, गाउँले, साथीभाई सबै माओवादीमा गएर मलाई पनि लगियो । हामीपनि जंगल लाग्यौ । हामीले उनीहरुको साथमा लागेर नाचगान गर्ने काम गर्थेयाै ।
माओवादीकै अभियानमा हिंड्ने क्रममा मैले अन्तरजातीय विवाह गरे । म ब्राम्हणको छोरी, बस्ने त (क्षेत्री) संग विवाह गर्दा मलाइ माइतीमा निकै गार्हो भयो । माअाेवादी म गएकाले अझ त्यति समस्या भएन किनकी जातभातका कुरा गर्दा बेस्सरी पिट्ने गर्थे त्यतिबेला । त्यसपछि म विवाह गरेर घरमा गए ।
आठ बहिनी चारभाई अनि सासू ससुरा भएको मेरो घरमा मैले कति दुःख गरेकी म सम्झन पनि चाहन्न । यो दुःखपछि बल्ल मलाई महशुस भयो कि म त माइतीमा सुखैमा रहेछु। रातीनै उठेर घरधन्दा, गाईभैसी, खानापिनादेखि एक एक काम मेरो थियो । किनकी गाउँमा अझै पनि बुहारीलेनै सबै गर्ने भन्ने चलन छ झन त्यो समयमा त कुरै नगरौ ।
शिक्षण पेशामा प्रवेशः
एकजना मेरो साथीले अस्थायीमा शिक्षकको लागि खुलेको छ खलंगामा जाउँ भन्ने सल्लाह दिए अनि मैले पनि त्यसै गरे । म छानिएँ त्यसमा । अनि दुई दिन जंगल हिडेर जानुपर्ने लामीडाँडा भन्ने ठाउँको एउटा विद्यालयमा मलाई पठायो, म त्यहाँ पढाउन थाले । टाढा भएकाले मलाई समस्या भयो । मैले तलब ६ हजार पाउँथे त्यतिबेला ।
नजिकको लागि रामीडाँडा भन्ने ठाँउ आए म । त्यसपछि मेरो छोरी जन्मिन् । बच्चा बोकेर तीन घण्टाको बाटो हिंडेर म पढाउन जान थाले । बिहान बेलुका घरधन्दा सकेर, बच्चालाई बोकेर विद्यालय जान थाले अनि पढाउने बेला आप्mनै साथमा राखेर छोरीसंगै विद्यार्थीको रेखदेख गर्न थाले । मेरो श्रीमान्ले पनि मलाई धेरै दुःख दिनुभयो ।
जागिर थिएन, जाँडरक्सी खाने, कहिलेकाहि कुट्ने, कराउने गरेर मलाई निकै सकसपूर्ण जीवन जिउनु पर्नेभयो । यसरीनै मेरा दिन कट्दै गए । घरपरिवारको हेरचाह, माइतीको आमाबुवा, छोराछोरीको रेखदेख गरेरै करिब २६ वर्ष विद्यालयमा पढाएँ, यसरीनै यस क्रममा मेरा चारभाई छोराछोरी पाएर हुर्काइसकेको थिएँ ।
दुःखपछि पलाएको खुशीको आशाः जति दुःख गर्नु थियो, खाई नखाई गरेर आधा जीवन काटे । तलबले मात्रै नपुगेर कहिलेकहिं बाटोका काम, सरकारी संरचना निर्माणमा पनि कामदारका रुपमा लेबरी गरेर छोराछोरीलाई लाईनमा लगाए ।
जेठी छोरी बी.एड पास गरेर ल्याब पढिन, माईली छोरी धरानमा बसेर स्टाफ नर्स पढिन्, छोरालाई काठमाण्डौंमा आइ.एस.ई, देहरादुन (भारतको उत्तराखण्ड)मा बी.एस.इ.ए.जी पढाएँ र कान्छी छोरीले मध्यपश्चिम प्राविधिक शिक्षालयमा स्टार्फ नर्स पढेर सकिन् ।
अहिले माईली छोरी स्थायी जागिरे भैसकिन्, छोरा पढाई सकेर अब लोकसेवा तयारीमा छ र कान्छी छोरी छात्रवृत्ति कोटाबाट नाम निकालेर अब जागिरको तयारीमा छिन् । अलिकति समस्या जेठी छोरीको भयो उसले विवाह गरिसकी । जे होस्, मेरो जीवनको संघर्ष अझै जारी छ, पढाउन त पढाएँ तर अब जागिर खुवाएर सबैलाई आत्मनिर्भर बनाएपछि मात्रै मेरो जीवनको भोगाई अनि गरेका दुःखले शान्ति पाउने छ ।
मेरो त्याग, संघर्ष भनेकै अब छोराछोरीको रोजगारीपछि सन्तोष मिल्ने छ । मैले असल अभिभावकत्व कत्तिको निर्वाह गरे त्यो मैले भन्न सक्दिन तर मैले कुनै कसर बाँकी छोडिन उनीहरुलाई शिक्षा दिनका लागि । किनकी शिक्षाले मानिसलाई कति सफल बनाउँछ भन्ने कुरा मैले बुझेकी थिएँ ।
सायद मैले त्यो समयमा काममा मात्रै व्यस्त हुने, नढ्ने गरेको भए आज मेरा बालबच्चा कहाँ पुग्थे के हुन्थे भनेर म सजिलै आँकलन गर्न सक्छु। त्यसैले दुःख सुख मानिसका जीवनका पाटा हुन् हामीले असल तरिकाले निभाउन सक्ने र सहि निर्णय लिन सक्ने क्षमता राख्नुपर्ने हुन्छ ।
मेरा छोराछोरीले पनि यो कुरा, मेरो दुःख, संघर्ष बुझेका थिए र त आज यो दिन आयो । नत्र धेरै सम्पन्न परिवारका बालबालिका पनि गलत बाटोमा लागेका हामीले देखेका छौ । मैले आफनाे जीवनकालको २६ वर्ष शिक्षिका भएर बिताएँ । अहिले म घरमै छु।
तरकारी खेती, खरायो, खसी बाख्रा पालेर बसेकी छु। विभिन्न संघसंस्था, सहकारीमा आवद्ध छु। यसले मलाई जीवनमा सफल हुने मार्गपनि देखाएको छ । समय समयमा विभिन्न तालिमहरुका लागि जिल्ला बाहिर हिड्ने गर्छु किनकी मलाई अझै सिकाई पुगेको छैन । खाली समय खेर फाल्नुभन्दा केहि एक दुई कुरा जान्न पाए हुन्थ्यो भन्ने मलाई । सिकाई र संघर्ष जीवनमा कहिलै सकिदैन् ।






