छाउगोठ विद्रोहबाट प्रदेश सभाको यात्रा

दैलेख, २७ मंसिर ।
छाउपडी प्रथाविरुद्ध तत्कालीन नेकपा (माओवादी)ले गाउँगाउँमा अभियान चलाएको थियो। महिनावारी भएर गोठमा बसेका महिला तथा किशोरीलाई जबरजस्ती घरघरमा ल्याएर राखियो। डरैडरले धेरैले यसको प्रतिरोध गर्न सकेनन् तर नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गाउँगाउँमा छाउगोठ ठडिए। छाउ बार्न महिला फेरि गोठमा बस्न थाले।
आठबीस नगरपालिका–१, सात्तलाका गमता विकलाई माओवादीको ज्यादती मन नपरे पनि छाउपडीविरुद्धको आन्दोलन राम्रो लाग्यो। शान्ति प्रक्रियापछि गाउँमा विभिन्न गैरसरकारी संस्थाको चहलपहल बढ्यो। गैरसरकारी संस्थाको छाउपडीविरुद्धको अभियानमा निरक्षरी गमता विक सहभागी हुन थालिन । २०६६ सालमा प्रौढ शिक्षा लिएपछि गमताले छाउपडीविरुद्धको अभियानमा सशक्त सहभागिता जनाउन थालिन ।
छाउपडीविरुद्धको अभियान चलाउन गमताले पहिला आफ्नै घरबाट विद्रोह गरिन। उनले श्रीमानसंग विद्रोह गर्दै महिनावारी भएका बेला के बिग्रिँदो रहेछ भनेर घरमै बस्न थालिन्र । महिनावारी भएको बेला घरमै बसेको थाहा पाएपछि गाउँलेले ‘बिग्रेकी आइमाई’ भने तर उनि डराइनन । महिनावारी भएका बेला भैँसीसमेत दुहिन । छाउ भएका बेला गरिएका यस्ता गतिविधिले खासै केही असर नपुगेपछि उनलाई लाग्यो– सबैभन्दा ठूलो चेतना नै रहेछ।
न तलबभत्ता, न त कतैबाट प्रशंसा। उल्टै गाली पाउँदासमेत निराश नभई छाउपडी न्यूनीकरणका लागि छाउ अन्धविश्वास हो भन्ने सन्देश ग्रामीण महिलालाई उनले दिइन । महिनावारी भएका बेला पोषणयुक्त खाना खानुपर्छ भनेर जानकारी गराइन ।
त्यस अभियानलाई सहयोग गर्न तत्कालीन लकान्द्र–४ की रूपा विक, सिँगौडी–२ की कृष्णा शाहीलगायतका महिला दिदीबहिनीले सहयोग गरेपछि उनमा थप हौसला प्राप्त भयो। उनले भनिन , “उनिहरूले हौसला र साथ नदिएको भए मेरो अभियानले सार्थकता पाउने थिएन। त्यसकारण यो अभियानमा सहयोग गर्ने उनिहरूलाई सधैँ सम्झिन्छु।”
सामाजिक कुसंस्कारका रूपमा रहेको छाउपडी प्रथा हटाउन पहिला महिलालाई नै सचेत पारिएको अभियन्ता गमता विकले बताउनुभयो। उहाँले तत्कालीन गाविसअन्तर्गतमा क्रियाशील आमा समूहका बैठक, सहकारीका बैठकमा जम्मा हुने र त्यहाँ छाउपडी हटाउने प्रस्ताव ल्याएर पास गर्ने अभियान थालिन । उनले भनिन , “पहिला धेरैले कुरा काट्दै हिँडे पनि पछिपछि धेरैले विस्तारै पत्याए।”
सुरुवात कसले गर्ने भन्ने मात्र रहेछ।” उनले अचेल आफ्नो गाउँघरमा छाउगोठ कमै रहेको बताइन । महिनावारी भएको बेला एउटै शौचालयसमेत प्रयोग गर्न नपाइने अवस्था गाउँमा थियो। अहिले सबैले एउटै शौचालय प्रयोग गर्छन्। गमतालाई सामाजिक अभियन्ता भएपछि गाउँले सबैजनाले चिने।
नेकपा (एमाले)बाट राजनीतिक यात्रा सुरु गरेकि उनि पार्टीका विभिन्न कमिटीमा आबद्ध भइन र अहिले पार्टीको प्रदेश कमिटीमा छन्र । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखको उम्मेदवार भई पराजित भएकी गमतालाई यस पटक कर्णाली प्रदेश सभा सदस्यमा समानुपातिकतर्फ राखिएको थियो। नेकपा (एमाले)को सचिवालय बैठकले निर्वाचन आयोगमा बुझाएको प्रदेश समानुपातिकमा दलितबाट सिफारिस भएसँगै उनि प्रदेश सभा सदस्य हुने निश्चित भएकि छन्र ।
गाेरखापत्र






