बालश्रमको जोखिममा बालबालिका : दुई सय ५८ बालबालिका घरेलु श्रमिक

पुनम वि.सी
सुर्खेत,२६ कात्तिक ।
घटना १ः बुवा–आमाले नै श्रममा पठाए
वीरेन्द्रनगर–१२ स्थित एक घरमा १३ वर्षीय बालिका घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी छन् । खाना बनाउने, भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्ने जस्ता काम उनको दैनिकी हो । अन्तै घर भएकी ती बालिकाको आर्थिक अवस्था कमजोर भएकै कारण आफनै बाआमाले उनलाई अर्काको टाँसो लगाएका ्हुन् ।
उनलाई पढ्न लेख्नका लागि नजिकैको सामुदायीक विद्यालयमा भर्नापनि गरिएको छ, तर उनी विद्यालय भने नियमित जाँदिनन् । बालखैमा आइपरेको घरायसी कामको बोझले ती बालिकाको पढाई अनियमित हुने गरेको हो ।

घटना २ः सात वर्षको उमेरमा एक्लै छाडियो
वीरेन्द्रनगर–५ स्थित एक टोलमा यसैगरी साहूका घरमा काम गर्न थालेको ११ वर्ष पूरा भइसकेकी बालिका घरेलु श्रमिक रहेकी छन् । ११ वर्षअघि बुवाआमाले छाडेर गएपछि उनी ६ वर्षको उमेरदेखि अर्काको भान्सा र सरसफाईको काममा छिन । जन्मदिने बाआमाले नै छोडेर गएपछि सोहि क्षेत्रकी एक महिलाले उनलाई आश्रय दिइन् ।
बाआमा कोहि नभएपछि आश्रय दिएकी घरधनी महिलाले नै उनको जन्म दर्ता बनाईदिएकी छिन् । घटना ३ः अभिभावकको गैरजिम्मेवारीपन वीरेन्द्रनगर–५ अर्को टोलमा बसोवास गरिरहेको एक परिवारको आर्थिक तथा सामाजिक अवस्था कमजोर भएका कारण बालबालिकाहरु दैनिक श्रममा जान बाध्य छन् ।
घरमा रहेका ९ जना बालबालिकामध्ये १४ वर्षीय बालिका ज्याला मजदुरीका लागि दैनिक काममा जान्छिन् । परिवारका अर्का सदस्य १२ वर्षीय बालक तरकारी मण्डीहरुमा तरकारीका बोरा लोड अनलोड गर्ने र कवाड खोज्ने काम गर्छन् । ९ बालबालिकामध्ये ८ जना बालबालिकाको उमेर पढ्ने लेख्ने भएपनि उनीहरु कोहिपनि विद्यालय भने जाँदैनन् ।
दैनिक ज्यालादारी मजदुरीका लागि जाने बालबालिकाबाहेक परिवारमा एउटा बच्चा एक महिनाको छ । अन्य चार जना बालबालिकाहरुमा स्वास्थ्य समस्या छ, उनीहरु बिहान–साँझ आखा देख्दैनन् । अरु दुई बालबालिकाहरुमा समेत स्वास्थ्य समस्या छ । परिवारको आर्थिक समस्याका कारण उनीहरुलाई विद्यालय पठाईएको छैन । माथि उल्लेखित प्रतिनिधिमूलक घटना मात्र हुन् ।
बालश्रमसँग जोडिएका यी घटना तथा पात्रहरु वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा प्रशस्तै छन् । नगरक्षेत्रमा घरेलु श्रमिकका रुपमा मात्र दुई सय ५८ बालबालिका काममा छन् । नगरमा बालश्रममा रहेका बालबालिकाको संख्या हेर्ने हो भने तीन सय ८६ जना बालबालिकाको संख्या छ । बालश्रममा रहेका बालबालिकाहरु आवद्ध कामलाई वर्गीकरण गर्ने हो भने घरेलु श्रमिकको संख्या सबै भन्दा धेरै हो । होटल, रेष्टुरेण्ट तथा पसलमा अहिले १३ जना बालबालिका गरिरहेका छन् ।
यसैगरी दैनिक ज्याला मजदुरीको काम गर्ने ७३ जना, कृषि काम गर्ने तीन जना, पशुपलनमा ३ जना, सिलाई–कटाईमा सहयोग गर्ने १३ जना, काठको काम तथा फर्निचरमा काम गर्ने २० जना, कवाड खोज्ने दुई जना र ग्यारेजमा काम गर्ने एक जना रहेका छन् । श्रममा संलग्न यी बालबालिकाहरुमध्ये दैनिक तीन घण्टा एक सय ५१ जनाले काम गर्छन् ।
चारदेखि ६ घण्टा काम गर्ने एक सय ५७ जना, ७ देखि ९ घण्टा काम गर्ने ४५ जना र १० घण्टा भन्दा माथि काम गर्ने ३३ जना बालबालिका रहेको वीरेन्द्रनगरस्थित आवाज संस्थाको ‘बालश्रमको अवस्था पहिचान सम्वन्धि सर्वेक्षण’ले जनाएको छ । यसअघि वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा आवाज संस्थाले नगरका १६ वटै वडामा बालश्रम अवस्था सम्वन्धिको सर्वेक्षण गरेको थियो । सर्वेक्षणले वीरेन्द्रनगर क्षेत्रमा कुल एक हजार एक सय ५७ जना बालबालिका जोखिममा रहेको जनाएको छ ।
जसमध्ये तीन सय ८६ बालबालिका प्रत्यक्ष श्रमसंग जोडिएका छन् भने सात सय ७१ जना बालबालिकाहरु परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालश्रममा रहेको आवाजका कार्यक्रम व्यवस्थापक शुसिलकुमार कार्कीले जानकारी दिए ।
अभियानको तयारी
वीरेन्द्रनगरमा बालश्रम अन्त्यका लागि तीनै तहका सरकारको समन्वय आवश्यक रहने वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी (ढकाल) बताउँछिन् । ‘वीरेन्द्रनगरमा कर्णालीका अन्य स्थानबाट पनि बालबालिका श्रमका लागि आईपुग्ने हुन्छ, यस्तो अवस्थामा हामी एक्लै बालश्रम अन्त्य गर्न सक्दैनौँ । उनले भनिन्, तीन तहका सरकारबीच समन्वय गरेर यसलाई अभियानकै रुपमा अघि बढाइनुपर्छ ।’
यसका साथै वीरेन्द्रनगरमा हाल सञ्चालित बाल गृहहरुको कमजोर आर्थिक अवस्था तथा व्यवस्थापनका कारण जोखिम बढेको संकेत गर्दै नगरप्रमुख भण्डारीले जिम्मेवारीसहितको बालगृह सञ्चालनका लागि नगरपालिका अघि बढ्ने जनाइन् ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि बालश्रममुक्त पालिका अभियान सहित वीरेन्द्रनगर नगरपालिका अघि बढ्ने योजनामा रहेको उनले जानकारी दिइन् ।यसबीच वीरेन्द्रनगर नगरपालिकाले बिहीवार बालश्रममुक्त पालिका निर्माणका लागि सरोकारवालाहरुसँग छलफल कार्यक्रमको समेत आयोजना गरेको छ ।
वडैपिच्छे बालश्रम
वीरेन्द्रनगर नगरपालिकाका वडाहरुमा बालश्रमको अवस्था तथ्यांक हेर्ने हो भने पूर्वाधार विकासमा अघि रहेका वडाहरुमा धेरै बालबालिका श्रमिकमा रुपमा रहेका छन् । नगरको ६ नं वडामा मात्र ६३ जना बालबालिका श्रमिकका रुपमा छन् ।
यसैगरी १ नं. वडामा २७ जना, २ नं. वडामा ३५ जना, ३ नं. वडामा ११ जना, ४ नं. वडामा ४४ जना, ५ नं. वडामा २६ जना, ७ नं. वडामा ३१ जना, ८ नं. वडामा २१ जना, ९ नं. वडामा १४ जना, १० नं. वडामा १९ जना, ११ नं. वडामा २४ जना, १२ नं. वडामा २८ जना, १३ नं. वडामा ६ जना, १४ नं. वडामा २६ जना, १५ नं. वडामा दुई जना र १६ नं. वडामा ९ जना बालबालिका श्रमिकको रुपमा काम गरिरहेको देखिन्छ ।
बालश्रममा संलग्न रहेका बालबालिकाहरुको बुवाआमाको अवस्था सर्वेक्षणमा बुवा र आमा दुवैको मृत्यु भएका ३८ जना, बुवाको मात्र मृत्यु भएका ५३ जना, आमाको मात्र मृत्यु भएका १० जना बालबालिका छन् । यसैगरी बुवाआमा सम्पर्कविहिन भएका ४२ जना, बुवाआमा भारत गएको १६ जना, बुवाआमा दुबैले दोश्रो विवाह गरेका ३९ जना, आर्थिक अवस्था कमजोर भएका ३९ जना, अपाङ्गता भएका नौं जना र बुवाआमा थुनामा रहेका दुई जना बालबालिका छन् ।
यी बालबालिकाको उद्धारको लागि तीन सय २२ जना बालबालिकालाई शैक्षिक सहयोगको आवश्यकता दे खिएको आवाजका कार्यक्रम व्यवस्थापक कार्कीले जानकारी दिए । यसैगरी वासस्थानको समेत प्रबन्ध गर्नुपर्नेमा दुई जना, पो शाकलगायतको लत्ताकपडा आवश्यक भएका ३१ जना र २५ जनालाई सिपमुलक तालिम आवश्यक रहेको उनले जानकारी दिए । बालश्रममा रहेका बालबालिका मध्य ६ जना बालबालिकासँग अहिले पनि जन्मदर्ता कागजपत्र समेत छैन ।






