एकतीस वर्ष प्रतिस्पर्धा, अहिले सहयात्रा

रुकुमपश्चिम,२६ कात्तिक ।
अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता गोपालजीजङ्ग शाह अहिले चुनावी अभियानमा सँगसँगै छन् । यद्यपि २०४८ सालदेखि उनिहरू चुनावी प्रतिस्पर्धीका रूपमा थिए । अहिले गठबन्धन सहकर्मीका रूपमा सँगसँगै छन् ।
सत्ता गठबन्धनको तर्फबाट शर्मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन । शाह निर्वाचन परिचालन समितिको संयोजक छन् । २०४८ सालमा तत्कालीन जनमोर्चाबाट चुनाव लडेका शर्मालाई शाहले पराजित गरेका थिए । २०५२ देखि नेकपा (माओवादी)ले सशस्त्र सङ्घर्ष सुरु ग–यो। नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि शर्मा पुनः चुनावी प्रतिस्पर्धामा उत्रिए ।
२०७० सालको चुनावको मैदानमा शर्मा र शाह दोस्रो पटक आमनेसामने हुनुभएको थियो। शर्माले २०४८ सालमा बेहोरेको हारलाई २०७० जितमा रूपान्तरण गरे । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसले शाहलाई र माओवादीले शर्मालाई नै उम्मेदवार बनायो। उनिँहरू बीच तेस्रो प्रतिस्पर्धा भयो। यसमा पनि बाजी शर्माले नै मारे ।

शाह चुनावी कमान्डर
२०४८ सालदेखि प्रतिस्पर्धा गर्दै आएका शर्मा र शाह बीचको सम्बन्ध निर्वाचनमा मात्र होइन अन्य समयमा पनि खास राम्रो हुन सकेको थिएन । सार्वजनिक कार्यक्रममा एक अर्काप्रति खरो प्रतिवाद गर्ने उनिहरूको भाषण भने अहिले फेरिएको छ । एकअर्काविरुद्ध आलोचना तथा गाली गरेर नथाक्ने दुई नेताहरू अहिले एक अर्काको प्रशंसा गरेर नथाक्ने अवस्था रहेका छन्।
शाहले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने र हिजो एकअर्कालाई हराउन लागे पनि आज म शर्मालाई जिताउन लागिपरेको बताए । समयको माग र राष्ट्रको आवश्यकताले आफूहरूलाई एक ठाउँमा ल्याएको उनको भनाइ छ ।
द्वन्द्वको तिक्तता मेट्ने अवसर
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रुकुमपश्चिममा पहिलो पटक नेपाली कांग्रेस उम्मेदवारविहीन भएको छ। गठबन्धनअनुसार एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिमका सबै क्षेत्र माओवादीको भागमा परेका छन्। कांग्रेसभित्रको व्यापक असन्तुष्टिबीच अन्ततः कांग्रेस र माओवादी एउटै मञ्चमा अटाएका छन्।
जिल्लामा कांग्रेस र माओवादीका बीचमा ठूलो तिक्तता छ। माओवादी जनयुद्धदेखि नै माओवादी र कांग्रेस एकअर्काप्रति जाइलाग्दै आएका छन्। त्यो अहिलेसम्म पनि कुनै न कुनै रूपमा बाँकी नै छ। अहिलेको गठबन्धनलाई धेरैले कांग्रेस र माओवादी बीचको तिक्तता कम गर्ने अवसरका रूपमा पनि हेरिरहेका छन्। गठबन्धन दलहरूले संयुक्त चुनावी सभा सुरु गरेपछि जिल्लामा कांग्रेस र माओवादी पहिलो पटक एकै ठाउँमा उभिएका हुन्।
गोरखापत्र






