नेपथ्यबाट : उपेक्षामा कमरेड ‘विदुर’

पुनम वि.सी
सुर्खेत,२६ कात्तिक ।
अरिङ्गाले फेला पारे चुसेरै खोष्टो पारेर फाल्छन् टोक्न पाए, मानिसको ज्यानै समेत जान्छ, त्यसैले, हामीले यी अरिङ्गाललाई खत्तम पार्नुपर्छ ।’ यस्तै यस्तै भाव झल्कने कविता थियो, ‘अरिङ्गाल’ । वि.सं. २०२८ सालमा सुर्खेतका बालकृष्ण बीसीले कोरेको कविता त्यस बखतको ‘जूनकिरी’ पत्रिकामा छापिएको थियो ।
२२ वर्षे ठिटोले रचेको कविताले सुर्खेतको त्यो बेलाको राजनीतिक वातावरणमा भने प्रभाव जमाएको थियो । बीसीलाई सो कवितामा समावेश शब्दहरु अहिले सबै ट्याक्कै याद त छैन, तर युवा अवस्थाको जोश र देशमा व्यवस्था परिवर्तनको संकल्प भने अहिलेपनि उत्तिकै याद छ । पञ्चायत विरुद्वको आन्दोलमा यसै कविता कोरेवापत पनि उनले राज्य विरुद्धको अभियोग खेप्नपर्यो ।
पञ्चायती व्यवस्थाविरुद्ध जाइलाग्नुपर्ने प्रतिकात्मक यो कविता छापिएको पत्रिका भने भारतको वनारसमा छापेर लुकाईछिपाई सुर्खेत झिकाइएको थियो । पत्रिकामा बीसीका सहकर्मी ‘देवेन्द्र’ले पनि ‘माकुरो’ शीर्षकमा अर्को कविता लेखेका थिए । व्यवस्था परिवर्तनको आन्दोलनमा बीसीले पटक–पटक गरी ३३ महिना हिर ासतमा बिताए ।
उनी मात्र हैन उनले पढ्ने गरेका किताबसमेत हिरासतमा पर्थे त्यति बेला । पञ्चायतविरुद्धको त्यो आन्दोलनमा ‘कमरेड विदुर’ उपनामले प्रशिद्ध बीसीको भोगाई, अनुभव र विचार अहिले ‘नेपथ्य’ बनेको छ । ‘नेपथ्य’ अर्थात रंगमञ्चको पर्दा पछाडिको स्थान । सक्रिय राजनैतिक यात्रा २०२४ सालबाट सुरु हुन्छ, तत्कालिन महेन्द्र कलेजमा आईएसस्सी अध्ययन गरिरहेका १८ वर्षे युवा बीसीले कमरेड पुष्पलाललाई भेट्छन् ।

मित्र दुर्गाप्रसाद (मधुगुरु)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग भेट हुने वातावरण तयार गरिदिन्छन् । ‘पुष्पलाल कमरेडसँगको भेटपछि तत्कालिन व्यवस्थाविरुद्ध अघि बढें’, बीसीले स्मरण गरे । स्वतःस्फुर्त रुपमा मनमा गढेको त्यो यात्रा अहिले पनि बीसीसँग कायमै छ ।
क्रान्तिकारी शिक्षक
बीसीले शिक्षण पेशामा धेरै समय बिताए । २०२९ सालमा सुर्खेतको चोल्पा क्षेत्रमा निम्न माध्यमिक विद्यालय खोल्ने भएपछि उनी त्यहाँ शिक्षकको रुपमा पुगेका थिए । सोहि वर्षको भदौदेखि विद्यालय सुरु भयो भने पछि राष्ट्रिय शिक्षा आयोजना अन्र्तगत विद्यालयले पूर्णता पायो । २०३४ साल वैशाख १ गते बीसीलाई आनन्द व्यवसायिक माध्यमिक विद्यालय, गुमीमा सरुवा गरियो । २०३६ सालमा ऐलानी जग्गामा नागरिकले लगाएको केरा फँडानी गर्न थालियो ।
सो समयमा पञ्चायतले जग्गामा कर लगाएको थियो । जग्गा कर धेरै भएकोले नागरिकहरु कर तिर्नसक्ने अवस्थामा थिएनन् । त्यस्तो करका विरुद्धमा बीसीलगायतको समूह आन्दोलनको तयारी गरिरहेको थियो । ठीक त्यसैबेला पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोको मृत्यु भयो । त्यसैको प्रभावस्वरुप नेपालमा विद्यार्थी आन्दोलन चर्कियो ।
र, त्यहि आन्दोलनले पञ्चायत विरुद्धको आन्दोलनको रुप लिएको उनको भनाई छ । देशव्यापी आन्दोलन अन्र्तगत सुर्खेतमा पनि आन्दोलन सुरु भयो । २०३६ सालमा गुमी क्षेत्रबाट बीसीले नै ‘कमरेड विदुर’को उपनाम सहित आन्दोलनको नेतृत्व गरेका थिए । २०२५ सालमा बजेडीचौरस्थित विद्यालयबाट उनले अध्यापन सुरु गरेका हुन् । सोहि समयमा सहकर्मी शिक्षक जनकराज शर्माले ‘जूनकिरी’ नामक पत्रिका भेरी छात्र परिवारबाट प्रकाशित गर्ने योजना ल्याएका थिए ।
‘भारतमा छापेर मुश्किलले यहाँ ल्याइयो । पछि त्यहि मुद्दा २०२८ सालमा मैले खेपेको थिए । उनी भन्छन्, त्यहि पत्रिकामा कविता लेखेवापत हामीलाई राजकाज अपराध अन्र्तगत मुद्धा लगाइयो, लेख्न र बोल्न नै नपाइने अवस्था थियो ।’ आन्दोलनका क्रममा अर्को किसान आन्दोलनमा उनका कान्छा बुवाका छोरा ईन्द्र बीसी समेत शहीद भए ।
सो समयमा सुर्खेतको दशरथपुर क्षेत्रमा सात जना सहिद भएका थिए । दशरथपुरमा अहिले पनि शहीद चोक स्थापित छ । यसबीच उनी धेरै विद्यालयमा काम गरेका छन् । उनलाई पटक पटक तत्कालिन व्यवस्थाले विद्यालयबाट सरुवा गर्ने गरेको समेत थियो । दिनभरी पढाउने र रातभरी व्यवस्था विरुद्धको आन्दोलनमा लाग्थे उनी । २०३६ सालदेखि उनी देखिनेगरी नै राजनैतिक क्षेत्रमा सक्रिय भए ।
यसबीचमा उनी पटक–पटक पक्राउ परे, अस्पतालमै भर्ना हुने गरी प्रहरीबाट कुटिए पनि । अहिले पनि उनको त्यहि घाउचोटको शारीरिक समस्याले पटक पटक सताउँछ ।२०४० सालदेखि उनले शिक्षण पेशा छाडे । अध्यापन गराईरहेको विद्यालयबाट सरुवा गराईएपछि उनी सो क्षेत्रमा गएनन्, पछि तत्कालिन शिक्षा ऐन अनुसार काम नगरेको बताउँदै उनको जागिर खोसियो ।
व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका बीसीले जागिर गुमेकोमा दुःख मानेनन् । अदालत गएर जागिर फर्काउन सक्ने अवसर पनि थियो, तर पनि उनी अदालत पुगेनन् । २०५४ सालमा निर्वाचनमा उठ्ने मन थिएन, तत्कालिन खानीखोला गाउँ विकास समितिबाट गाविस उपाध्यक्षमा उम्मेद्वार पार्टीले बनायो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी पनि फुट्यो ।
त्यसपछि उनी सुर्खेत जिल्ला विकास समिति सभापति बने । पार्टी फुटेपछि उनी निर्विकल्प उम्मेद्वार थिए । त्यतिबेला नेकपा माओवादीको ‘जनयुद्धमा’ शुरु भइसकेको थियो । उनी भन्छन्, ‘त्यो बेला सुर्खेत जिल्लाभरको विकास बजेट २१ लाख रुपैयाँ हुन्थ्यो । सुर्खेतका ५० वटा गाउँ विकास समिति र एउटा नगरपालिकाको लागि यो रकम एकदम थोरै थियो । अहिलेका पालिकाको बजेट हेर्ने हो भने राम्रो अवसर छ । ईच्छाशक्ति हुने हो भने गर्न नसकिने केहि छैन ।’
पन्छाइएको महशुस
वर्तमान राजनैतिक व्यवस्था सम्पत्ति कमाउनको निम्ति भएको बीसीको आरोप छ । ‘ हाम्रो पेशा भनेको कृषि, शिक्षण, कर्मचारी यी सबै पेशा हुन् । राजनिति त समाजसेवा हो, उनले भने, यो कहिल्यै पेशा हुन सक्दैन। अहिलेको पुस्तालाई पेशा के हो भन्दै सोधियो भने राजनीति भन्छन् । यहि नै फरक छ ।’ २०६४ को निर्वाचनमा आपूmपनि इच्छुक रहेको तर पार्टीका अन्य नेताहरुले नमानेको उनी सम्झिन्छन् ।
२०५१, २०५६ र २०६४ को निर्वाचनमा एकै व्यक्ति मात्र उम्मेद्वार बन्दा पार्टीलाई समेत घात पुगेको उनको धारणा छ । यो प्रक्रियाले निराश बनाएको उनले बताए । २०६४ को निर्वाचनका बेला पार्टीबाटै उपेक्षामा परेको गुनासो पालेर बसेका बीसीलाई २०७० को निर्वाचनमा पार्टी, सहयात्री र जिल्ला नेतृत्वले सम्मानसहित सम्झिन्छ कि भन्नेमा उनी आसावादी थिए ।
तर पार्टीमै अन्र्तघात भएको उनले बताए । ‘त्यसपछि पार्टीमा व्यक्तिवाद हावी देखिन थाल्यो । उनले भने, नेताहरु अनुकूल वातावरण बनाउन सहयात्रीलाई पन्छाउदै जाने गरिएको छ ।’ हालको निर्वाचनमा समेत समानुपातिकतर्फ भएपनि नेतृत्वमा जाने आफनो इच्छा रहेपनि पार्टीमा व्यक्तिवाद हावी भएका कारण आफुलाई पन्छाइएको आरोपपनि उनले लगाए । ‘अहिले कोहिले बोलाएका पनि छैनन् मलाई । फोन पनि गर्दैनन् । उनले भने, ‘रुष्ट को सँग हुने म । के को लागि हुने ? म बुढोलाई ल्याएपछि उनीहरु स्वतन्त्र रुपमा चल्न सक्दैन भनेर होला बहिष्कार गरेको ।’





