लिमीवासीले अझै पाएनन् भत्ता

हुम्ला,२५ मंसिर ।

उत्तरी नाम्खा गाउँपालिका–६, हिमालपारिको लिमीका तीनवटा गाउँका सेवाग्राहीले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बैङ्कमा निकासा भएका कारण सेवाग्राहीले भत्ता पाउन नसकेका हुन्।

लिमीको तिल गाउँका सेवाग्राही फुर्वा लामाले अघिल्लो एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताए । उनले सधैँ असारदेखि भदौ महिनामा हातहातमा पाइराखेको सामाजिक सुरक्षा भत्ता १७ महिना बित्दासम्म पनि नपाएको गुनासो सुनाए ।

उनले आफूजस्तै लिमीका सेवाग्राहीले अघिल्लो वर्ष र यस वर्षको पहिलो त्रैमासिक भत्ता पाउने समय हुँदासम्म पुरानै भत्ता नपाउनु विडम्बना भएको बताउनुभयो।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नयाँ नियमका कारण लिमीका सेवाग्राही सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको बताए । उनले लिमीबाट बैङ्क खाता सञ्चालनका लागि केवाईसी अद्यावधि गर्न गाउँपालिका केन्द्र याल्वाङ पुग्न तीन दिन लाग्ने र सेवाग्राहीलाई आउजाउमा सहज नभएका कारण बरु भत्ताको माया मार्ने मनस्थितिमा लिमीका सेवाग्राही पुगेको जनाए ।

लिमीको विकटतालाई मध्यनजर राखी सहज रूपमा सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्थाका लागि बैङ्क तथा गाउँपालिकालाई उनले आग्रह गरे । उनले कतिपय ज्येष्ठ, अपाङ्गता भएका नागरिक र बालबालिका आउन नसक्ने, आउन सक्ने पनि पाउने सुविधा सबै आउजाउमै खर्च गर्नुपर्ने भएका कारण पनि आउन नमानेको बताए ।

नाम्खा गाउँपालिकाका लेखा प्रमुख अश्विनीकुमार देवकोटाले नयाँ व्यवस्थाका कारण लिमीका २२४ जना सेवाग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताए ।

उहाँले अहिलेको विद्युतीय भुक्तानी प्रणालीको व्यवस्थाले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सिधै रकम सिटिजन्स बैङ्कको खातामा गएको तर लिमी सेवाग्राही बैङ्क खाता सञ्चालनका लागि केवाईसी अद्यावधि गर्न आउन नसकेका कारण हालसम्म भत्ताको रकम बैङ्कको खाता रहेको जानकारी दिए ।

लिमीका सामाजिक सुरक्षा भत्ताका लागि ९० लाख रुपियाँ बैङ्कमा निकासा गइसकेको छ। सेवाग्राही केवाईसी अद्यावधिका लागि गाउँपालिका केन्द्र याल्वाङमा स्थापना भएको सिटिजन्स

बैङ्कको शाखा वा सिमकोटको शाखामा आउन नमान्ने भएका कारण रकम बैङ्कमै रोकिएको छ। असारमै बैङ्कको खातामा सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गएको थियो। उनले यसबीचमा बैङ्कको कर्मचारी लिमी गएर केवाईसी अद्यावधिका लागि जान गाउँपालिकाले आग्रह गर्दा बैङ्कले नमानेको बताए ।

कर्मचारी जान नमानेपछि बैङ्कलाई सो रकम गाउँपालिकालाई नै फिर्ता निकासा दिन पनि आग्रह गरिएको थियो। बैङ्कले सो रकम दिएको भए गाउँपालिकाले कर्मचारी खटाएर नगदै वितरण गर्ने विकल्प पनि सफल हुन सकेन।

बैङ्कले नगद लिएर जान वा कर्मचारी खटाउन सुरक्षाका कारण देखाएर जान मानेको छैन। उनले धेरै प्रयास गर्दा पनि कुनैमा सफल नभएका कारण अब बैङ्कलाई निकासा गएको छ महिना पुगे सो रकम राज्य कोषमा फिर्ता जाने बताउनुभयो। छ महिना आगामी पुसमा पुग्दै छ। त्यसपछि लिमीका सेवाग्राही एक वर्षको सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्नेछ।

गाेरखापत्र 

लिमीवासीले अझै पाएनन् भत्ता

भ्रष्टाचारको बढ्दो मानचित्र

लिमीवासीले अझै पाएनन् भत्ता

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!