कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

सुर्खेत,२५ मंसिर ।

 विगत दुई वर्षदेखि अवरुद्ध कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभीए प्रसारण लाइन विस्तार गर्न बाटो खुलेको छ । प्रसारण लाइनको टावर निर्माण गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको १७५ रोपनी जग्गा प्रयोगमा आउँछ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रफल बराबरकै जग्गा सट्टाभर्नाबापत दिने भएपछि प्रसारण लाइन विस्तारका सबै अड्चन हटेको हो ।

‘निकुञ्जअन्तर्गतको जग्गा प्रयोग गरेबापत अर्को स्थानमा जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भएको छ,’ प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियात यादवले बताए । उनका अनुसार १३२ केभीए प्रसारण लाइन विस्तार गर्न कुल १६२ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये ७४ वटा टावर निकुञ्ज क्षेत्रमा गाड्नुपर्ने र ४३ हेक्टर जमिन चर्चिनेछ ।

निकुञ्जका १३ हजार ५४ वटा रूख कटान गर्नुपर्ने हुन्छ । आयोजना विस्तार क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेंसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुन्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छन् ।

साविककै मध्यपश्चिमाञ्च विकास क्षेत्र हुँदा सुर्खेत सदरमुकाम वीरेन्द्र्रनगरमा मात्रै प्रयोग गर्न २०४४ सालमा ३३ केभीए क्षमताको प्रसारण लाइन बनाइएको थियो । हालसम्म सोही प्रसारण लाइनकै भरमा कर्णाली प्रदेशका ७ जिल्लामा विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।

निकुन्जले अनुमति नदिएकै कारण दुई वर्षअघि ६० करोड रुपैयाँमा ठेक्का लागे पनि प्रसारण लाइन विस्तारको काम अघि बढ्न सकेको थिएन । जसका कारण गत भदौमा ९ महिनाका लागि आयोजनाको म्याद थप गरिएको छ । प्रसारण लाइन विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ ।

सम्झौताअनुसार उसले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । अहिलेसम्म कम्पनीले ५० वटा टावरका लागि फाउन्डेसन निर्माण गरिसकेको जनाएको छ । यो आयोजनाको २० प्रतिशत मात्रै प्रगति हो । निकुन्जले व्यक्तिगत जग्गा उपलब्ध गराउन भनेपछि प्राधिकरणमार्फत असोज ६ मा निकुन्ज आसपासमा व्यक्तिगत जमिन बेच्न चाहनेलाई लक्षित गर्दै सार्वजनिक सूचना निकालिएको थियो ।

उक्त सूचनाअनुसार जग्गा पाइएपछि अहिले अभिग्रहण गर्न मूल्यांकनको काम सुरु भएको छ । कोहलपुरदेखि सुर्खेतसम्म झन्डै ८६ किलोमिटरको दूरीमा ९५ प्रतिशत भाग जंगल क्षेत्रभित्र पर्छ । निकुन्जसँग जोडिएको व्यक्तिगत जग्गा प्राप्त गर्न मूल्यांकनको काम सकेलगत्तै सो जग्गा निकुन्जलाई दिएर यहाँ भएका रूख कटानको काम सुरु हुनेछ ।

‘केही दिनभित्र जग्गा अधिग्रहणको काम पूरा हुनेछ,’ यादवले भने, ‘त्यसलगत्तै कोहलपुरदेखि सुर्खेतसम्म २६ वटा एंगल टावर निर्माणको काम सुरु हुनेछ ।’कर्णालीमा विद्युत् खपतको तुलनामा क्षमता थप नभएपछि स्थानीयले लामो समयदेखि लोडसेडिङको मार भोगिरहेका छन् ।

विद्युत् अभावकै कारण सिमेन्ट उद्योगलगायत ठूला उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् । अहिले सुर्खेत भएरै दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम पश्चिम र सल्यानको कोही भागमा विद्युत् लाइन विस्तार छ । डोल्पामा पनि यही प्रसारण लाइनमार्फत विद्युत् सेवा पु¥याउन तयारी भइरहेको छ ।

कर्णाली प्रदेशमा प्राधिकरणका एक लाख ग्राहक छन् । तर, कमजोर प्रसारण लाइनकै कारण विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । प्रसारण लाइन विस्तारसँगै सुर्खेत–जाजरकोट १३२ केभीए लाइन विस्तारका लागि मेहलकुनामा सबस्टेसन निर्माणको काम पनि सुरु गरिने यादवले जनाए ।

उनका अनुसार प्राधिकरणले जाजरकोटको कुदुबाट चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्मको प्रसारण लाइनसम्बन्धी पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्का समेत लगाइसकेको छ । कालिकोटबाट जुम्लाका लागि समेत नयाँ ठेक्का सदर भइसकेको छ । ‘कर्णाली प्रदेशमा विद्युत् नपुगेका जिल्लाहरू डोल्पा, हुम्ला र मुगुमा सेवा विस्तार गर्न काम भइरहेको छ,’ उनले भने ।

कान्तिपुर 

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

लिमीवासीले अझै पाएनन् भत्ता

कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

मोरक्को इतिहास रच्दै सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!