भोट हालेर श्रम गर्न विदेश जानुपर्ने अवस्था अन्त्य होस्

सुर्खेत, २५ कात्तिक ।

सुर्खेत चिङ्गाड गाउँपालिका रानीवासका ५८ वर्षीय खडक रोकायले रोजगारका लागि भारतको कालापहाड आउजाउ गरेर चार दशक बिताए । यसबीचमा धेरै पटक मतदान गरेका रोकायको अपेक्षा थियो, मुलुकमै रोजगारी पाइएला या केही उद्यम गरौँला ।

यद्यपि रोकायका छोरासमेत श्रमका लागि भारत पुग्नुपर्ने बाध्यता छ ।रोकायले भने , “पटक पटक भोट हालियो। न गाउँमै रोजगार पाइयो, न राम्रोसँग विकास भयो।” रोजगारीका लागि भारतकै भरमा रहेका रोकायले भने , “कमाउन भारत नगई सुख छैन।

अब निर्वाचनमा मत हाल्नै पर्ने होला तर श्रम बेच्न भारत जानुपर्ने अवस्थाको अन्त्य होस्।” दैलेख नारायण नगरपालिकाका २९ वर्षीय तत्पप्रसाद गौतम पनि विगत आठ वर्षदेखि कमाइका लागि भारत आउने जाने गर्दै आएका छन् । कमाइका लागि भारत जानु रहर नभएर बाध्यता भएको उनले बताए ।

निर्वाचनको समयमा रोजगार दिने, विकास गर्ने झुट्टा आश्वासन मात्रै राजनीतिक दल र नेताबाट पाएको उनको बुझाइ छ । उनले,भने “अघिल्लो चुनावमा गाउँमै रोजगारी दिन्छौँ भनेर आश्वासन दिए। जिताउन पनि लागियो। अहिले फेरि कमाउन भारत नै जानुपर्यो । ” “चुनावका बेला आश्वासन दिने र पछि फर्किएर नहेर्ने गर्दा हामीले दुःख पाएका छौँ।

अब कालापहाड र अन्य देशमा श्रम बेच्न जान नपरोस्,” गौतमले भने ।रोजगारीको अवसर नहुँदा र लगाएको खेतीले वर्षभरि खान नपुग्दा कर्णाली प्रदेशबाट कमाइका लागि ठूलो जनसङ्ख्या कमाइका लागि भारत जान्छन् । केही मात्रामा तेस्रो मुलुकमा पनि जाने गर्छन् ।

राजनीतिक दलले रोजगारीका ठोस योजना ल्याउन नसकेको र आश्वासन दिने गरेको नागरिकको गुनासो छ। राजनीतिक दल तथा उम्मेदवारले अहिले आफ्ना प्रतिबद्धता पत्रसहित मत माग्दै घरदैलो गरिरहेका छन् ।राजनीतिक दल तथा उम्मेदवारले ल्याएका घोषणापत्रमा युवालाई उत्पादनसँग जोड्ने, औद्योगिक क्षेत्रहरू स्थापना गर्नेलगायत रोजगारी सिर्जना गर्ने नारा उल्लेख गरिएका छन्।

रोजगारी दिने खास एजेन्डा नहुँदा चुनावी नारा मात्रै हुने गरेको नागरिकको गुनासो छ। दैलेखको भगवतीमाई गाउँपालिका–२ रुमका रत्न विकले अहिलेसम्म नेताबाट आश्वासन मात्र पाइरहेको बताए । १६ वर्षदेखि कमाइका लागि भारतमा रहेका विकले आफ्नै ठाउँमा विकास हुने आश्वासनले अहिलेसम्म हालेको मत खेर गएको बताए ।

उनले भने भारत नगई हामीलाई गुजारा नै चल्दैन। खेतीले छ महिना पनि खान पुग्दैन । उनले भने ,अहिले फेरि गाउँमै रोजगारको व्यवस्था गर्छौं भनेका छन्। मत एक जनालाई त हाल्नै पर्छ । तर हामीले नेता मानेर भोट हालेकाले हामीलाई पनि आफ्ना सम्झेर केही गर्नुपर्यो। भोट हालेर सधैँ भारत जाने दिनको अन्त्य होस् ।

गोरखापत्र

भोट हालेर श्रम गर्न विदेश जानुपर्ने अवस्था अन्त्य होस्

बोकाका टाउका बेचेर छ लाख सङ्कलन

भोट हालेर श्रम गर्न विदेश जानुपर्ने अवस्था अन्त्य होस्

गठबन्धनका साझा उम्मेदवार घरदैलो गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!