मन्त्री पदको ‘लालसा’ र आश्वासनमा ‘विकास’

पुनम वि.सी
सुर्खेत,२४ कात्तिक ।
चुनावी आमसभालाई सम्बोधन गर्न मंगलबार कर्णालीका जिल्ला दौडाहमा रहेका प्रचण्डले चुनावी सभाहरुमा बोल्ने क्रममा मन्त्री पद् बाँड्ने र विकासको आश्वासन दिने काम उच्च प्राथमिकताका साथ गरेका छन् । प्रचण्डले कालिकोटमा बोल्ने क्रममा महेन्द्रबहादुर शाहीलाई, जुम्लाको सभामा भने गोमा गौतम कुँवर र हुम्लाको सर्केगाडको सभामा बोल्दा छिरिङ डम्डुल लामालाई संघीय सरकारमा मन्त्री बनाउने लालसा देखाएका हुन् ।
हालका मुख्यमन्त्री एवं गठवन्धनका उम्मेदवार कांग्रेसका जीवनबहादुर शाहीतर्फ संकेत गर्दै प्रचण्डले हुम्लाले कर्णालीको मुख्यमन्त्री पाउने बताए । माओवादीकातर्फबाट गठवन्धनका उम्मेदवार बनेकामध्ये शाही यसअघि संघिय सरकारको ऊर्जा मन्त्री र कर्णालीको पहिलो मुख्यमन्त्री हुन् भने कुँवर पूर्व पशुपंक्षी विकास राज्यमन्त्री तथा लामा कर्णालीको आर्थिक तथा योजना मन्त्री हुन ।
महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको सफल मुख्यमन्त्री महेन्द्रबहादुर भइसकेको जिकिर गर्दै प्रचण्डले आगामी निर्वाचनमा उनलाई जिताए क्याबिनेट मन्त्री बनाउने आश्वासन समेत दिए । यसैगरी जुम्लाबाट प्रतिनिधिसभाको उम्मेदवार गोमा गौतम कुँवरका पक्ष्मा भोट माग्दै उनले, ‘गोमा गौतम कुँवर पहिला राज्यमन्त्री हुनुहुन्थ्यो, तपाईंहरुले बहुमत दिएर जिताउनु भयो भने मन्त्री बनाउने जिम्मा मेरो हो ।’

ओलीको खेदो
निर्वाचन आचारसंहिताले प्रतिष्पर्धी दल नेता विशेषप्रति नकारात्मक टिप्पणी गर्न वर्जित गरेपनि एमाले अध्यक्ष केपी ओलीविरुद्ध एकोहोरो खनिए । ओलीप्रति लक्षित गर्दै प्रचण्डले विकास र समृद्धिको बाधकलाई जुनसुकै हालतमा पराजय गर्नुपर्ने टिप्पणी गर्दै खस सभ्यता र साम्राज्यको भूमिबाट एमाले नामको पार्टीलाई नामेट पार्न गठबन्धनलाई जिताउनुपर्ने जिकिर गरे । एमाले अध्यक्ष ओलीलाई संविधान मिच्ने, प्रतिगमनका पक्षधरको आरोप लगाउँदै प्रचण्डले केपी ओलीले जनतासँग मत माग्ने नैतिक अधिकार गुमाइसकेको टिप्पणी गरे ।
‘केपी ओली कुन मुख लिएर जनतामाझ जान्छन्? हामीले देशमा स्थायित्व र विधिको शासनका लागि उनलाई प्रधानमन्त्री बनाएका थियौं,’ उनले भने, ’जे नगर्नु थियो त्यही गरेपछि उनको नैतिकता कहाँ रहन्छ ? ७० वर्षसम्म संघर्ष गरेर ल्याएको परिवर्तनलाई ओली एक निमेषमै सकाउन खोजेको आरोप लगाउँदै उनले भने, ‘हामीले कुनामा मिल्काएको राजतन्त्रको पक्ष लिने ओलीले अग्रगमन चाहने जनताको घरमा गएर मत माग्ने नैतिक अधिकार छैन ।’
२०७४ सालमा एमालेसँग तालमेल र पार्टी एकता गर्दा केपीमा सुधार आएको भन्ठानेपनि ओलीले एम्बुस थापेर बसेको टिप्पणी गर्दै उनले जनताको त्याग र तपस्याबाट प्राप्त संविधानलाई च्यात्न एम्बुस थापेर बसेका कारण दुई दुई पटक प्रतिनिधि सभा भंग गराएको दाबी गरे । ‘यस्ता काम गर्ने ओलीलाई अब मत माग्ने कुनै अधिकार छैन ।
जनताले ओलीलाई सोध्न आवश्यक छ, उनले भने ‘कम्युनिष्ट पार्टी धुजा धुजा पार्नेलाई किन भोट दिने ? संविधानले दिएको अधिकार ओलीमार्फत लुटाउन किन भोट दिने ओलीले संविधान मिचेर अपराध गरेको बताउँदै मत माग्नुअघि संसद भंग गर्नु गलत थियो भनेर जनतासमक्ष मागी माग्नुपर्ने माग गरे ।
संयमित खड्का
प्रतिष्पर्धीको आलोचना गर्ने सवालमा माओवादी सुप्रिमो प्रचण्ड कडारुपमा प्रस्तुत भएपनि उनीसंगै कर्णालीका चुनावी सभाहरुमा सम्वोधन गर्न हिंडेका कांग्रेस उपसभापति पूर्णबहादुर खड् का भने केहि संयमित देखिए र विकासका मुद्दामा बढि केन्द्रित भए । आप्mनो सम्वोधनका क्रममा कुनै पार्टी विशेष र व्यक्ति विशेषको नाम नलिएपनि घुमाउरो पारामा प्रतिगमनको विरोध गर्ने निहुँमा संसद विघटन गर्ने एमाले अध्यक्ष ओलीको प्रयासको भने आलोचना गरे ।
‘म कर्णालीका जनताको तर्फबाट भन्न चाहन्छु, ओलीको प्रतिगमनलाई परास्त गर्ने काम कर्णालीबाट भएको हो,’ उनले भने,‘ राष्ट्रिय नेताहरुले यो कुरालाई बुझ्नुपर्ने हुन्छ र कर्णालीलाई प्राथमिकता दिइनुपर्छ ।’ उपसभापति खड्काले मंसिर ४ गतेको दिन प्रतिगामी शक्तिलाई विजयी गराउने वा अग्रगमनलाई जिताउने भन्ने फैसला गर्ने अधिकार जनताको हातमा रहेको भन्दै मुलुकको राजनीतिलाई कता लैजाने भन्ने सोचविचार गरेर निर्णय गर्न आग्रह गरे ।
‘स्थानीय तहमा प्रतिगमनलाई पराजित गरेर आयौँ । ’ उनले भने, ‘अब ७० वर्षभन्दा लामो इतिहासबाट बनाएको गणतन्त्र, संघीयलाई बचाउन र अग्रगमनलाई अगाडि बढाउन गठबन्धन जनताको बीचमा आएको छ ।’ दुई तिहाईको सरकार बनाएर राष्ट्र निर्माणको नयाँ अभियानको एजेण्डा बोकेर गठबन्धन चुनावमा होमिएको उनले बताए । ‘ म कर्णालीका जनताको तर्फबाट भन्न चाहन्छु, ओलीको प्रतिगमनलाई परास्त गर्ने काम कर्णालीबाट भएको हो,’उनले भने,‘ राष्ट्रिय नेताहरुले यो कुरालाई बुझ्नुपर्ने हुन्छ र कर्णालीलाई प्राथमिकता दिइनुपर्छ ।’
साथै खड्काले कर्णाली करिडोर लगायतका ठूला परियोजनालाई मूर्तरुप दिनका लागि सरकारले प्रमुख प्राथमिकता राख्नुपर्ने बताए । राज्यबाट कर्णाली जहिले विमुख भइरहेको बताउँदै उनले अब त्यसको सम्मान गरेर विकसित कर्णाली निर्माणमा जोड दिनुपर्ने बताए ।
विकासे आश्वासनको थुप्रो
कर्णालीका मतदातालाई विकासकै बारेमा बोलेर मत बटुल्न सकिन्छ भन्ने मनस्थितिमा देखिएका प्रचण्डले आप्mना सबै भाषणमा दोहो¥याई तेह¥याईकन कर्णालीको विकासको आवश्वासन र प्रतिद्धता व्यक्त गरे । आफुले सम्वोधन गरेका सबैजसो सभामा प्रचण्डले कर्णालीलाई आगामी बन्ने गठबन्धनको सरकारले देशैभरमा पहिलो प्राथमिकतामा राख्ने दाबी गर्दै जहाँ कार्यक्रम भयो त्यहिकै विकास गर्ने आश्वासनसमेत दिए ।
‘बजेटमा पहिलो प्राथमिकता दिन्छौं, कर्णाली करिडोरको स्तरोन्नति गर्छौं, फूकोट जलविद्युत आयोजनालाई चाँडै सम्पन्न गराउँछौं ।’ उनले भने, ‘ कर्णालीमा सबैभन्दा पछि परेको कालिकोटलाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्छौं ।’ यसैगरी जुम्लाको सभामा बोल्ने क्रममा प्रचण्डले कर्णालीमा बढिभन्दा बढि बजेट विनियोजन गराउनका लागि आफु जुनसुकै मूल्य चुकाउन तयार रहेको उल्लेख गरे ।
जुम्ला र समग्र कर्णालीको विकास गठबन्धनको बलबाट मात्रै सम्भव भएको भन्दै प्रचण्डले भने, ‘तपाईहरुले गठबन्धनलाई साथ दिनुभयो भने चाँडै नै कर्णाली राजमार्ग पिज गर्ने मेरो दायित्व हो ।’ लोकतन्त्रको विकास र संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको टिप्पणी गर्दै प्रचण्डले गठबन्धनको आवश्यकता सरकार बनाउनलाई मात्रै नभई दीर्घकालीन विकासका लागि भएको जिकिरपनि गरे ।






