मतदानमा खटिन हेलिकोप्टरको माग

हुम्ला,२४ कात्तिक ।
मङ्सिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारीहरू हेलिकोप्टरबाट पु¥याउने व्यवस्था गर्न माग गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले लिमीका तील, हल्जी र जाङ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई हेलिकोप्टरबाट पु¥याउने व्यवस्था गर्न निर्वाचन आयोगलाई माग गरिएको बताए ।उनले गत असोजमा परेको बाक्लो हिमपात अहिले पनि नपग्लिएको कारण कर्मचारी पैदल मार्गबाट लिमी जान नसक्ने अवस्था सृजना नभएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको बताए ।

लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । उनले हिमपातले गर्दा कर्मचारी र निर्वाचन सामग्री तीन वटै मतदान केन्द्रमा पु¥याउनु अन्य विकल्प नदेखिएपछि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको बताए ।
लिमीको एउटा मतदान केन्द्रका लागि मतदान र सहायक मतदान अधिकृत गरी सात जना कर्मचारी र आठ जना सुरक्षाकर्मी गरी जम्मा ४५ जना खटिएका छन् । लिमीका तीन मतदान केन्दमा जम्मा ५४१ मतदाता सङ्ख्या रहेको छ । हिमपातकै कारण लिमीमा मतदाता शिक्षा कार्यक्रम हालसम्म लागु हुन सकेको छैन भने दलका उम्मेदवारहरू पनि हालसम्म प्रचारका लागि जान सकेका छैन्न । दश दिन अघि लिमीका वडा अध्यक्ष पाल्जोर तामाङको चार जनाको टोली भने न्यालुुको हिउँ छिचोल्दै पाँच दिन लगाएर लिमी पुगेको थियो ।
गोरखापत्र






