पत्रकार सरोजराज अधिकारी होटलमा मृत फेला

काठमाडौं,२४ कात्तिक ।
पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्। अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् ।

’निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक ग¥यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो,’ एसएसपी बोहोराले भने, ’त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको देखियो । उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको उनले बताए । अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ। कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ’धम्बोजी, ’नोरा’, ’जासुसीको जालो’ र ’चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन्।
सेतोपाटी






