राउटे समुदायमा छैन महिनावारी विभेद

दैलेख,२३ मंसिर ।

कर्णालीमा फिरन्ते जीवनयापन गर्ने समुदाय हो, राउटे। उनीहरूको आफ्नै संस्कृति, परम्परा, रहनसहन, भेषभूषा र रीतिरिवाज छ। लोपोन्मुख राउटे नागरिक दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशील समुदाय हो। आफ्नै मान्यता तथा मौलिकताभित्र रही जीवनयापन गरिरहेका राउटे आधुनिक समाजबाट टाढै छन्। जंगल, वन्यजन्तु र प्रकृतिसँग निकट छन्। समुदायभित्र विभेद र वर्ग विभाजन छैन। यो नै राउटेको पहिचान हो।

उनीहरूको अर्को पहिचान हो, समुदायमा ‘महिनावारी विभेद’ नहुनु। कर्णाली र सुदूरपश्चिममा महिनावारी विभेद (छाउपडी) बस्ने चलन व्याप्त छ। महिनावारी भएको अवधिमा महिलाहरू बहिस्कृत हुने, छाउगोठ र गाई–भैंसी बाँध्ने गोठमा बस्नुपर्ने बाध्यता छ। विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार खेप्नुपर्छ। महिनावारी हुँदा छाउगोठमा बसेकै कारण कयौले अनाहकमै ज्यान गुमाइसकेका छन्। तर, राउटे समुदायका महिलाहरू महिनावारी हुँदा छाउगोठ भने बस्दैनन्।

बस्तीमा छुट्टै छाउगोठ छैन। महिनावारी हुँदा घरभित्र छुट्टै एक छेउमा परिवारसहित बस्छन्। महिनावारी भएकी महिला चुलोमा गएर खाना पकाउँदैनन् तर घरभित्रै बस्ने गरेको राउटे महामुखिया महिनबहादुर शाही बताउँछन्। ‘महिलाहरू महिनावारी हुँदा घरभित्री (झुपडी) बस्छन् तर, पाँचदेखि सातदिनसम्म खान पकाउन मिल्दैन। यो उनीहरूको आराम गर्ने समय पनि हो।’ महामुखिया शाहीले भने। कर्णाली र सुदूरपश्चिमका अन्य समुदायमा महिला महिनावारी हुँदा घरभित्र पस्न पाउँदैनन्। कतिपय स्थानमा घरको आँगनसम्म टेक्न बर्जित छ।

राउटे समुदायकी महिला सरिना शाही महिनावारीका बेला परिवारसँगै झुपडीमा बस्ने गर्छिन्। उनलाई महिनावारी हुँदा छट्टै छाउगोठमा बस्न जानुपर्दैन्। ‘छुई भएको बेला हामी भात पकाउँदैन्,’ सरिनाले भनिन्, ‘छुई भए पनि पर बस्नुपर्दैन।’ कहिलेकाहीँ महिनावारी भएको कुरा परिवारका सदस्यलाई थाहै नदिने गरेको उनको भनाइ छ।

यो समुदायका महिला प्याडको विषयमा भने उनीहरू अनविज्ञ छन्। महिनावारी भएको बेलामा भने कपडा प्रयोग गर्ने गरेको राउटे युवती सम्झना शाहीले बताइन्। ‘महिलाहरू छुई हुँदा झुपडी बाहिर बस्नु पर्दैन, हामी विभेद गर्दैनौं,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने।

समुदायमा राउटे परियोजनाबाट खटिएकी अनमी अमृता रोकायले राउटे महिलाहरूले महिनावारी विभेद भोग्नु नपरेको बताइन्। ‘समुदायमा महिला महिनावारी हुँदा घरभित्रै (झुपडी) बस्छन्, उनीहरू महिनावारी भएको नजिकका साथीहरूबाहेक अरूलाई थाहा नै हुँदैन्,’ रोकाय भन्छिन्, ‘पछिल्लो समय महिनावारी भएको समयमा उनीहरू सरसफाइमा ध्यान दिन थालेका छन्।’ उनीहरूलाई प्याड प्रयोगको बारेमा सिकाउन जरुरी रहेको रोकायको भनाइ छ।

राउटे समुदायमा महिनावारी विभेद अर्थात् छाउगोठ नहुनु भनेको अन्य समुदायलाई छाउगोठमा बस्नुहुँदैन भन्ने सकारात्मक सन्देश दिएको अधिकारकर्मी हीरासिंह थापा बताउँछन्। ‘राउटे नागरिकहरू अज्ञानतासँग रमाइरहेका छन्, तर समुदायमा महिनावारी विभेद छैन, बालबालिकाहरूमाथी पनि हिंसा छैन,’ थापा भन्छन्, ‘शिक्षित समाजमा भने महिनावारी विभेद कायमै रहनु राम्रो होइन्।’

गाईवस्तुको बच्चा अगेनोमा राख्ने तर, महिनावारी भएकी महिला र सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य हुनुपर्ने उनको तर्क छ। ‘भैंसीले पाडोपाडी जन्माउँछ, बाख्राले पाठोपाठी जन्माउँछ, गाईले बाच्छाबाच्छीे जन्माउँछ, भर्खरै जन्मिने ती पाडो, पाठो र बाच्छोलाई अगेनोमा राख्छौं, छुइछिटो गर्दैनौं तर हाम्रै घरको दिदीबहिनी, भाउजू र आमाहरू बच्चा अर्थात् शिशु जन्माउँदा होस् वा महिनावारी हुँदा गोठमा राख्छौं, यो त महिलाहरूलाई जनावरभन्दा पनि तल्लोस्तरमा राखेको भएन् र ?,’ उनले भने। यस्तो खालका कुसंस्कार र प्रथालाई अन्त्य गर्नुपर्ने उनको तर्क छ।

राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका–८ सालखर्क र भगवतीमाई गाउँपालिकाको हुलकाटाकुरामा गरी दुई स्थानमा बसोबास गरिरहेका छन्। हाल उनीहरूको जनसंख्या १ सय ४३ जना छ। रास्कोटी, कल्याल र सोमवंशी गरी तीन थर छन्। उनीहरू दैलेखको गुराँस गाउँपालिका–८ को बासिन्दा हुन्। गाउँपालिकाले २०७५ असार ३० गते परिचयपत्र प्रदान गरेको थियो।

अन्नपुर्ण

राउटे समुदायमा छैन महिनावारी विभेद

सल्यानमा सबैभन्दा पुरानो स्कुलको अवस्था– ’शिक्षक चार,

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!