सल्यानमा सबैभन्दा पुरानो स्कुलको अवस्था– ’शिक्षक चार, विद्यार्थी शून्य’

सल्यान,२३ मंसिर ।

 जिल्लाकै सबैभन्दा पुरानो विद्यालयको रुपमा चिनिने शारदा नगरपालिका ३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालय विद्यार्थी बिहीन बनेको छ । स्थानीय अभिभावकहरूले आफ्ना सन्तानलाई निजी स्कुलहरूमा लैजाने क्रम बढिरहँदा उक्त विद्यालय विद्यार्थी शून्यप्रायः बनेको हो ।

शिक्षकहरुले राम्ररी नपढाएको भन्दै अभिभावकहरूले आफ्ना बच्चा निजी स्कुलमा लैजाने गरेको र नियमित विद्यार्थीहरू पनि पढ्न नआउने गरेको स्थानीय अगुवाहरू बताउँछन् । एकदेखि पाँच कक्षासम्म संचालित विद्यालयमा प्रधानाध्यापकसहित तीन स्थायी र एक बालविकास सहयोगी गरी उक्त विद्यालयमा चार जना शिक्षक कार्यरत छन् ।

विद्यार्थी बिहीन भए पनि उनीहरू विद्यालयमा हाजिर गरेर दिउँसो एक बजेतिरै घर फर्कने गरेका छन् । यसैबीच विद्यार्थी नहुँदा यो विद्यालय सुनसान मात्र नभई बन्द हुने अवस्थामा पुगेको छ । वि.स. १०९० ताका भाषा पाठशालाको रुपमा संचालित उक्त विद्यालय लामाचौतारास्थित खड्गदेवी मन्दिरको प्रांगणमा भवन निर्माण गरेपछि ४० वर्षअघि खड्गदेवी प्रावि नामाकरण गरिएको थियो ।

प्रधानाध्यापकदेखि सबै शिक्षक महिला रहेको विद्यालयमा शिक्षक र सम्बन्धित निकायले अनुगमन पनि नगर्दा पठनपाठनको गुणस्तर पनि खस्किँदै गएको स्थानीय अगुवाहरूको गुनासो छ । जसकारण आफ्ना बालबालिकालाई अन्यत्र लैजानु परेको अभिभावकहरू बताउँछन् ।

कतिपय बालबालिकाहरू त विद्यालय नै जाने गरेका छैनन् । अभिभावाक आइतु सिंह भन्छन्, ’दुई जना नातीनतिना स्कुल जानै छोडेका छन् । पढ्न जाऊ भन्दा पनि पढाइ नै हुँदैन किन जाने भनेर घरमै बस्छन् ।’

सम्बन्धित निकाय र शिक्षकहरूकै लापरबाहीका कारण यो पुरानो विद्यालय अहिले नाजुक अवस्थामा पुगेको स्थानीय डिल्ली बस्नेतले गुनासो गरे । शिक्षकहरूले पनि शिक्षा सुधारका लागि कुनै उपाय नखोजेको बस्नेत बताउँछन् ।

बस्नेतका अनुसार कुनै बेला २ सयसम्म विद्यार्थी भर्ना हुने गरेको उक्त विद्यालयमा हाल १६ जना मात्रै भर्ना भएका छन् । अघिल्लो वर्ष भने जम्मा १९ जना भर्ना भएका थिए । त्यसमा पनि उनीहरू नियमित रुपमा पढ्न जाने गरेका छैनन् ।

त्यसो त, विद्यालय यस्तो अवस्थामा पुग्नुमा शिक्षकहरू मात्रै नभएर अन्य सम्बन्धित निकाय पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन् अभिभावकहरू ।

प्रधानाध्यापक मिजु महर्जन भने अन्य सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ भइरहँदा यहाँ त्यस्तो अवसर नहुँदा विद्यार्थीहरूको आकर्षण घटेको बताउँछिन् । साथै अभिभावकको भूमिका निर्वाह गर्ने कोही नहुँदा व्यवस्थापनमा केही कमजोरी भएको उनले स्वीकार गरिन् ।

प्रअ महर्जन भन्निछन्, ‘विद्यार्थी बढाउन हामीले कोसिस नगरेका हैनौं । घरघरमा पुगेर विद्यार्थी खोजेर समेत ल्यायौं तर हाम्रो प्रयास प्रभावकारी हुन सकेन,’ उनले भनिन् ‘अभिभावकबाट खासै सहयोग मिलेन । बच्चाबच्ची पनि धेरै छैनन् । हुनेखानेका छोराछोरी सबै निजीमा गइसके । यहाँ त आर्थिक अवस्था कमजोर भएका मात्रै भर्ना भए । ती पनि नियमित आएनन् । अहिले त आउनै छाडेका छन् ।’

मर्जमा समस्या

उनका अनुसार आर्थिक वर्ष २०७२ मा विद्यार्थी नभएकै कारण शारदा नगरपालिका ३ बडाखोलास्थित द्धारिका र सिरुवारस्थित बीपी स्मृत्ति प्रावि खडगदेवी प्राविमा गाभिएका थिए । तीन विद्यालय मर्ज हुँदा ५० देखि ६० विद्यार्थी भएका थिए । अहिले शून्य छन् । विद्यार्थी कम भएपछि आफूहरूले केही वर्षदेखि नै मर्ज गर्न आग्रह गर्दै आए पनि सम्बन्धित निकायले चासो नदेखाएको महर्जनको गुनासो छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सरिता महर्जन भने सम्बन्धित निकायले विद्यालय संरक्षणमा ध्यान नदिएको र शिक्षकहरूले गुणस्तर शिक्षा दिन नसकी झारा टार्ने काम गरेकाले विद्यालय विद्यार्थी बिहीन बन्न पुगेको बताउँछिन् ।

शारदा नगरपालिका सल्यानकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले पनि पछिल्नो समय अभिभावकहरू निजी स्कुलमा आकर्षित हुँदा खड्गदेवी प्रावि विद्यार्थी बिहीन बन्न पुगेको बताइन् ।

यद्यपि वडामा एउटै विद्यालय भएकाले विद्यार्थी बिहीन भए पनि मर्जको प्रक्रिया अगाडि नबढाएको उनी बताउँछिन् । तर विद्यालयमा कार्यरत शिक्षकलाई भने आउने शैक्षिक सत्रदेखि अन्य विद्यालयमा पठाउने तयारी भइरहेको उनले बताइन् ।

कान्तिपुर 

सल्यानमा सबैभन्दा पुरानो स्कुलको अवस्था– ’शिक्षक चार, विद्यार्थी शून्य’

आजदेखि फेरि काठमाडौंका घर–घरमा आउँदैछ मेलम्चीको पानी

सल्यानमा सबैभन्दा पुरानो स्कुलको अवस्था– ’शिक्षक चार, विद्यार्थी शून्य’

राउटे समुदायमा छैन महिनावारी विभेद

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!