प्रतिबद्धता पूरा नभएको मतदाताको गुनासो

सल्यान, २२ कात्तिक ।

चुनाव नजिकिएसँगै सल्यानका उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् । अधिकांश उम्मेदवारले पूर्वाधार विकास निर्माणका पुरानै मुद्दालाई चुनावी नारा बनाएका छन् । उम्मेदवारले राप्ती राजमार्ग, मदन भण्डारी राजमार्ग, रिङरोडलगायत राजमार्गलाई चुनावी मुद्दा बनाएका छन् ।

यद्यपि, सल्यानको मुख्य सडक राप्ती राजमार्ग स्तरोन्नति गर्ने प्रतिबद्धता आजअघिका उम्मेवारले पटक–पटक गरे पनि काम हुन सकेको छैन । दाङ–सल्यान ६५ किलोमिटर राप्ती राजमार्ग स्तरोन्नति गर्ने नारालाई यस पटक समेत सबै उम्मेदवारले मुख्य नारा बनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्रवीर रायले राप्ती राजमार्गको अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने बताए । राप्रपा नेपालबाट २०७४ मा प्रदेश सभा उम्मेदवारी दिएका रायले यसअघि पनि सडक पूर्वाधार प्राथमिकतामा रहेको बताउँदै आएका थिए ।

राप्ती राजमार्ग, दाङ, सल्यान, रुकुम सडकखण्ड, मदन भण्डारी राजमार्ग र प्रदेश राजधानी जोड्ने खलङ्गा वालुवासँगह्री सडकको काम पनि अधुरो अवस्थामा छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले आफूले अघिल्लो पटक जनतामा प्रतिबद्धता जनाएका योजना निर्माणाधीन अवस्थामा रहेकाले पूरा गरिने विकासका मुद्दा मात्र लिएर मतदाताकहाँ पुगेको बताए ।

यसअघि वाम गठबन्धनबाट निर्वाचित भएर ज्वाला कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको थियो । यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन रहेको छ । नेकपा (एमाले) र राप्रपा एक्लाएक्लै चुनावमा होमिएका छन् । सबै दलका उम्मेदवारले पर्यटन विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सडक स्तरोन्नतिजस्ता मुद्दालाई मुख्य रूपमा अघि सारेका छन् ।

नेपाली कांग्रेसका प्रदेश सभा (ख)का उम्मेदवार सुरेश अधिकारीले पहिलो प्राथमिकता भनेको सडकलगायतका पूर्वाधार भएको बताए । उनका अनुसार कच्ची सडक सबै पालिका केन्द्र र ग्रामीण क्षेत्रमा विस्तार भएको छ । त्यसलार्ई सुधार गरी उत्पादन वृद्धिका क्षेत्रमा लगानी बढाउने गरी योजना अघि बढाइनेछ ।

सल्यानमा प्रतिनिधि सभा सदस्यमा छ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । प्रदेश सभामा १२ जनाले प्रतिस्पर्धा गर्दै छन् तर सबैका एजेन्डा एकै र उस्तै छन् । चुनावमा गरेका वाचा र प्रतिबद्धता, जित्नका लागि मात्र नभएर साँच्चिकै पूरा हुन्छ भन्नेमा सल्यानवासी त्यति आशावादी देखिँदैनन् ।

छत्रेश्वरी गाउँपालिका–६ की निर्मला केसीले विगतका निर्वाचनका समयमा दल र उम्मेदवारले गर्ने प्रतिबद्धता कार्यान्वयनमा नआएको बताए । उनका अनुसार धेरै कुरा गर्ने तर काम नहुने गरेको छ । दार्मा गाउँपालिका–२ का हेमन्त शर्माले दलले मत माग्दा एउटा र जितिसकेपछि अर्को व्यवहार गर्ने गरेको बताए । उनका अनुसार चुनावको समयमा धेरै कामको वाचा गर्ने तर पूरा नहुने समस्या दोहोरिने गरेको छ ।

गोरखापत्र

प्रतिबद्धता पूरा नभएको मतदाताको गुनासो

मापदण्डविपरीत दूध र पानी बिक्री

प्रतिबद्धता पूरा नभएको मतदाताको गुनासो

प्राविधिक शिक्षामा छात्रवृत्ति : छोरी–बुहारीलाई राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *