मापदण्डविपरीत दूध र पानी बिक्री

सुर्खेत, २२ कात्तिक ।
सुर्खेतमा कम गुणस्तरका दूध तथा दुग्धजन्य पदार्थ र पानी बिक्री हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चालू आर्थिक वर्षको तीन महिनामा अनुगमनका क्रममा फेला परेका गुणस्तरहीन तेल, घिउ, दूध र दुग्ध पदार्थ नष्ट गरेको छ । २१ हजार ९१० रुपियाँ बराबरको तेल तथा घिउजन्य पदार्थ र ७२० रुपियाँको दूध तथा दुग्ध पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख भेषबहादुर थापाले पछिल्लो समय दूध, पिउने पानी र तेलका सम्बन्धमा समस्या भएका गुनासा आउने थालेपछि अनुगमन बढाएको बताए । सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ ल्याएको छ। खर्चिलो हुने भएकाले यो निर्देशिकाले तोकेको मापदण्ड पूरा गर्न साना डेरी उद्योग÷पसलले नसकेको उनको भनाइ छ ।
अघिल्लो वर्ष १६ वटा डेरी कारबाहीमा परेकामा यस पटक पाँच÷छवटामा अनुगमन गरिएको उनले बताए । कार्यालयले चालू आर्थिक वर्षमा दूध तथा दुग्ध पदार्थ अनुगमनका क्रममा तीनवटा नमुना परीक्षण गरिएको थियो। एउटा नमुनामा न्यून गुणस्तर पाइएको छ। प्रमुख थापाले पिउने पानीमा लेबल कैफियत पाइएको बताए । चालू आर्थिक वर्षको तीन महिनामा १० वटा पानीको नमुनाको परीक्षण गरिएको थियो।
गोरखापत्र






