प्राविधिक शिक्षामा छात्रवृत्ति : छोरी–बुहारीलाई राहत
सुर्खेत,२२ कात्तिक ।
कर्णालीमा सञ्चालित ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रमले अध्ययनमा सहज वातावरण बनाएको पाइएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रम अघि बढाएको थियो । सामाजिक विकास मन्त्रालयमार्फत कार्यविधि बनाएर सञ्चालनमा ल्याइएको यो कार्यक्रमले प्राविधिक विषय पढ्न आँट गर्ने कर्णालीका छोरी–बुहारीलाई राहत दिलाएको हो ।
नारायण नगरपालिका–७, दैलेखकी सुस्मिता कोइरालाले छात्रवृत्तिको रकमबाट आफूलाई प्राविधिक शिक्षा पढ्न सहज भएको बताईन । उनले कृषितर्फको तीनवर्षे बाली विज्ञान कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गरिरहेकि छन् । चालू शैक्षिक सत्रमा उनको कोर्स पूरा हुँदै छ ।

उनका अनुसार यो अध्ययन पूरा गर्न दुई लाख ५० हजार रुपियाँ लाग्छ तर उनले आफ्नोतर्फबाट एक लाख ७० हजार रुपियाँ मात्र तिरिन भने बाँकी ८० हजार रुपियाँ प्रदेश सरकारका तर्फबाट पाएको छात्रवृत्ति राहत पुगेको जनाइन । बाली विज्ञान विषयमा अध्ययनरत गुठीचौर गाउँपालिका–३, जुम्लाकी पूजा बुढाले पनि पाल्पाको देउरालीमा रहेको आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
उनले पनि प्रदेश सरकारबाटै पहिलो वर्ष छात्रवृत्ति पाएकि हुन् । उनको पनि यही वर्ष कृषितर्फको डिप्लोमा तह सकिँदै छ । उनले ७१ हजार रुपियाँ छात्रवृत्ति पाएकि थिईन । आर्थिक अवस्थाले कमजोर बनाइरहेको बेला छात्रवृत्तिले सहज बनाएको उनले बताइन । यसैगरी कालीकोटको शुभकालिका गाउँपालिका–३ की सङ्गीता धिताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनवर्षे एचए (हेल्थ असिस्टेन्ट) पढ्दै छन् ।
उनको स्वास्थ्यतर्फको डिप्लोमा अध्ययन वैशाखमा पूरा हुँदै छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एचए पढ्न चार लाख १६ हजार रुपियाँ लाग्छ । त्यसमध्ये एक लाख रुपियाँ उहाँले कर्णाली प्रदेश सरकारबाट छात्रवृत्तिस्वरूप पाएपछि राहत प्राप्त भएको बताइन । प्रदेश शिक्षा निर्देशनालयका अनुसार हालसम्म ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रममार्फत ५२१ छोरी–बुहारीले छात्रवृत्ति पाएका छन् ।
प्रदेश सरकारले यो कार्यक्रमका लागि प्रत्येक वर्ष एक करोड रुपियाँ विनियोजन गर्ने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा १५२ जना, २०७६÷७७ मा १०७ जना, २०७७÷७८ मा १३० जना, २०७८÷७९ मा १३२ जना छोरी–बुहारी प्रदेश सरकारको लक्षित छात्रवृत्ति कार्यक्रममार्फत लाभान्वित बनेको शिक्षा निर्देशनालयका कम्प्युुटर अधिकृत नवीन पौडेलले जानकारी दिए ।
उनका अनुसार हालसम्म छात्रवृत्ति पाएकाहरूले स्वास्थ्यतर्फ नर्सिङ, एचए, फार्मेसी, कविराज, ल्याब टेक्निसियन तथा रेडियोलोजिस्टमा तीनवर्षे डिप्लोमा अध्ययन गरिरहेका छन् । यस्तै बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानजस्ता विषय पढ्दै गरेको छोरी–बुहारीले पनि छात्रवृत्ति पाएको पौडेलले जनाए ।
सामाजिक विकास मन्त्रालयले छोरी–बुहारी छात्रवृत्तिलगायतका विविध छात्रवृत्तिसँग सम्बन्धित कार्यक्रमलाई एक ठाउँमा राखेर ‘एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८’ लागू गरेको छ । कर्णाली प्रदेश विनियोजन ऐन, २०७८ (९)मा रहेर मन्त्रालयले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि बनाएको हो ।
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०७८ भित्र प्राविधिक छोरी–बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेरिनरी उच्चशिक्षा छात्रवृत्ति, उच्चशिक्षा अपाङ्गता छात्रवृत्ति, उच्चशिक्षा दलित छात्रवृत्ति, उच्चशिक्षा जेहनदार छात्रवृत्ति, उच्चशिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिब तथा जेहेनदार छात्रवृत्तिका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम, जनआन्दोलन र जनयुद्ध शहीदका सन्ततिका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम पर्छन् ।
‘छोरी–बुहारी छात्रवृत्ति’अन्तर्गत छात्रवृत्ति पाउन कर्णाली प्रदेशमा स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । कर्णाली प्रदेशमा बसोबास भएका स्वास्थ्य क्षेत्रका प्रमाणपत्र तह वा सोसरह, कृषि, पशु विज्ञान तथा वन विज्ञान क्षेत्रका प्रमाणपत्र तह वा सोसरह, इन्जिनियरिङ तथा सूचना प्रविधि क्षेत्रमा प्रमाणपत्र वा सोसरह अध्ययनरत छोरी–बुहारीले उक्त कार्यक्रममार्फत छात्रवृत्ति पाउँछन् ।
गोरखापत्र





