दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), २४ फागुन ।
प्रदेश तथा स्थानीय तह कार्य सम्पादन मुल्यांकनमा जाजरकोट जिल्लाभरीका स्थानीय तह मध्ये ६६.४८ अंकसहित बारेकोट गाउँँपालिका पहिलो भएको छ । नलगाड नगरपालिकाले ५७.६७ अंक प्राप्त गरी दोस्रो स्थान हाँसिल गरेको छ ।
संबिधानको धारा–२५१ को उपधारा १ को खण्ड (ख) बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकार लाइ प्रदान गरिने समानिकरण आर्थिक वर्ष २०७९/०८० प्राप्त गर्न प्रदेश तथा स्थानीय तह कार्य सम्पादन मूल्यांकन कार्यविधि २०७८ ले निर्धारण गरिएको मुल्यांकन अनुसार पहिलो र दोस्रो भएका हुन ।
बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको पहिलो तथा कर्णाली प्रदेशको आठौँ स्थानमा रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभएको छ ।
नतिजाले बारेकोट गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको काम गर्ने मनोबललाई उच्च बनाएको र सरोकारवालाहरुलाई सकारात्मक सन्देश प्रदान गरेको पनि अध्यक्ष शाहले बताउनुभयो ।
त्यस्तै नलगाड नगरपालिका पनि ५७.६७ अङ्क प्राप्त गरी जाजरकोट जिल्लाको सात स्थानीय तह मध्ये दोस्रो भएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले जानकारी दिनुभयो ।


