जिल्ला अस्पताल मुगुको वार्षिक कार्ययोजना सार्वजनिक

मुगु,२१ मंसिर ।
जिल्ला अस्पताल मुगुले आर्थिक वर्षमा २०७९÷८० मा सम्पादन गर्ने कार्य योजना सार्वजनिक गरेको छ । अस्पतालले मंगलबार कार्य योजना सार्वजनिक गर्दै लक्ष्य अनुसार काम सम्पादन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
अस्पतालले चालु आर्थिक वर्षमा दादुरा खोप सेवामा जिल्लामा ७३.४ प्रतिशतबाट वृद्धि गरी घुम्ती खोप सेवा मार्फत ९६ प्रतिशतमा पुराउने जनाएको छ ।
जिल्लामा पुर्णखोप अभियानलाई सार्थकता दिन खोपमा ७०.५ प्रतिशत प्रगति देखिएकोमा यसलाई विस्तार गरी ९६ प्रतिशत पुराउने र अभियानलाई सफल बनाउन चैत भित्र घरधुरी सर्भेक्षण गरि छुटेका बालबालिकालाई पहिचान गर्ने अस्पतालले आफ्नो योजनामा उल्लेख गरेको छ ।

जिल्लामा अतिशिघ्र तथा शिघ्र कुपोषित बालबालिकाका पहिचान भएका सतप्रतिशतको उपचार गरिँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिने योजनामा उल्लेख छ । त्यस्तै किशोरावस्थामा हुने गर्भवती २०० बाट झारेर १६० पुराउने अस्पतालको लक्ष्य छ ।
अस्पतालको कार्ययोजनामा संस्थागत सुत्केरीमा आमा र बच्चाको स्वास्थ्यका लागि स्वास्थ संस्थामै सुत्केरी गराउनका लागि संस्थागत कार्यक्रम संचालन गरि हाल एक हजार २१६ गर्भवतीले अस्पालमा सुत्केरी गराउँदै आएकोमा यसलाई वृद्धि गरि १४ सय पु¥याउने उल्लेख छ ।
जिल्ला अस्पतालका प्रमुख उमेश गौतमले जिल्ला अस्पतालमा कामको प्रगति ल्याउनका लागि यो कार्यतालिकाको योजना गरिएको बताए । अस्पताल व्यावस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले जिल्ला अस्पाल मुगुलाई नमुना अस्पतालको रुपमा विकास गर्न सर्बसाधारणले सहजै उपचार पाउने गरि अस्पतालका कार्ययोजना कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।
गोरखापत्र






