पानीको मुहान संरक्षण गर्दै पालिका

दैलेख,२१ मंसिर ।
गुराँस गाउँपालिकाले पानीको मुहान संरक्षण र नयाँ आयोजनाको सर्वेक्षण कार्यक्रम अघि बढाएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा गाउँपालिकाले बृहत् खानेपानी योजना निर्माण गर्न सर्वेक्षण कार्य सुरु गरेको हो। गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीका अनुसार एक घर एक धारा निर्माणका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग छलफल गरी गाउँपालिकाभित्र रहेका पानीको मुहानको खोजी र नयाँ योजनाको सर्वेक्षण थालिएको हो।
उनले गाउँपालिकाका तीन हजार पाँच सय घरधुरीलाई खानेपानी पु–याउनका लागि एक अर्ब रुपियाँ बराबर लागतको बृहत् खानेपानी योजना अघि बढाउन योजनाको सर्वेक्षण गरिएको बताए ।
वातावरणीय प्रभाव मूल्याङ्कनबिनै निर्माण गरिएका सडक छेउका पानीका मुहान सुक्खा भइसकेका छन्। कतिपय ठाउँमा मुहान पुरिएका छन् भने केही ठाउँमा मुहान भासिएका छन्। प्राकृतिक रूपमा रसाउने मुहान जोगाउनका निम्ति पालिकाले विशेष पहल गरिरहेको अध्यक्ष बीसीले जनाए ।
उनले भने, “बस्ती डाँडामा छ अहिले गुराँस गाउँपालिका–५, रानीमत्ताको बजारका लागि गुराँस गाउँपालिका–५ मा रहेको मुहानबाट पानी ल्याइए पनि त्यसले दीर्घकालीन रूपमा नपुग्ने हुँदा लिफ्ट प्रविधिमार्फत भित्री खोला र भद्रे खोलाबाट पानी ल्याउने गरी योजना बनाउँदै छौँ।”
गुराँस–५ रानीमत्ताका व्यवसायी देवीराम जैसीले गुराँस गाउँपालिकाले खानेपानीको समस्या भोग्दै आएको बताए । उनले एक मात्र लिफ्ट आयोजनामार्फत ल्याएको पानी कहिलेकाहीँ बिग्रिँदा पानी बोकेर होटेल व्यवसाय सञ्चालन गरेको जानकारी दिए । व्यापारी जैसीले भने, “पानी कहिले एक हप्तासम्म आउँदैन। त्यसबेला निकै कठिन हुन्छ। कहिले डबल गैराभन्दा तल पुगेर पानी ल्याउनुपर्छ।”
गोरखापत्र






