उधारोमा बन्यो कर्णालीमा पुल

हुम्ला,२१ मंसिर ।

पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन ।

हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।

नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँलाई जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण गरिएको बताए। “स्थानीय उपभोक्ता समितिबाट पुल निर्माण गरिएको छ,”उनले भने ।

“लिमीको हल्जी र जाङगाउँमा गाडी गुडेको देखेपछि उधारो सम्झौतामा पुल निर्माण गर्न बाध्य भएका हौँ ।” नदीसम्म मोटरबाटो निर्माण भइसके पनि पुल नहुँदा सडक सञ्जालमा तिलगाउँ जोडिन सकेको थिएन । अन्य गाउँमा मोटर पुगेको देखेपछि गाउँलेले हतारिँदै सल्लीबाट काठ लगेर पुल निर्माण गरेका हुन् ।

गाउँलेले निर्माण गरेको २० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुलमा गाडी ओहोरदोहोर गर्न थालिसकेको छ । यसबाट गाउँले निकै खुसी भएका छन् ।

डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा सो पुल निर्माणको स्वीकृत योजना छ । पुल निर्माणका लागि ६० लाख रुपियाँ विनियोजन गरिएको छ । योजनामा परेकाले बजेट प्राप्त हुने सुनिश्चित भएपछि उधारोमै काम गरिएको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपात भएपछि चिसोले काम गर्न नसकिने भएकाले सबैको सहमतिमा पुल निर्माण गरिएको बताए ।

उनले अब डिभिजन वन कार्यालयसँग समन्वय गर्ने काम वडाले गर्ने उल्लेख गर्दै अब उपभोक्ता समितिले सो कार्यालयसँग आगामी चैत, वैशाखमा मात्रै औपचारिक सम्झौता गर्ने बताए । “सम्झौतापछि मात्र भुक्तानी पाइनेछ । त्यसपछि मात्र काठ ढुवानी र कामदारको ज्याला भुक्तानी गरिनेछ,” उनले भने ।

पुल निर्माणमा एक सय जना कामदारलाई संलग्न गराइएको छ । उनीहरूले १२ दिनमा पुल निर्माण सम्पन्न गरेका छन् । पुल निर्माणमा ३५ जना कामदार महिला थिए । प्रयोग गरिएका कामदारलाई रकम प्राप्त भएपछि मात्र भुक्तानी दिइनेछ । पुल निर्माणका लागि प्रयोग गरिएको मेसिनको ज्याला र निर्माण गरिएको ग्याबिनको पनि रकम उधारो नै छ ।

उधारोमा काम गर्ने चलन यहाँका लागि नयाँ होइन । यसअघि पनि लिमीवासीले हरेक वर्षका विकासे योजना सहमतिका आधारमा उधारोमै निर्माण गर्ने गरेका छन् ।

गोरखापत्र

उधारोमा बन्यो कर्णालीमा पुल

वाद र विचारभन्दा माथि उठ्न जरूरी– महामन्त्री

उधारोमा बन्यो कर्णालीमा पुल

जिल्ला अस्पताल मुगुको वार्षिक कार्ययोजना सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!