नेकपा (एस) का अध्यक्षसहित एमालेमा समाहित

जुम्ला, २१ कात्तिक ।
नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका बहुमत कार्यसमिति सदस्य नेकपा (एमाले) मा समाहित भएका छन । एकीकृत समाजवादी र एमालेका दुई जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर जुम्ला पार्टी समायोजन भएको घोषणा गरेका हुन ।
एमाले जुम्लाले गरेको पत्रकार भेटघाटमा अध्यक्ष शान्तिलाल महतले दुई पार्टी समायोजन भएको जानकारी दिए । अध्यक्ष महत र नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा पार्टी समायोजन भएको जानकारी गराइएको छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको औचित्य नदेखेपछि एमालेको मुलघरमा समायोजन भएको न्यौपानेले बताउनुभयो । हिजो एमालेबाट समाजवादी हुँदा जुन प्रकारको उद्देश्य लिइएको थियो । त्यो औचित्य पुष्टि नभएको उहाँको भनाइ छ । आगामी मंसिर ४ मा हुने निर्वाचनमा एमालेलेलाई पहिलो पार्टी बनाउन एकमत भएको बताए ।

पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेको उहाँहरुको भनाइ छ । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको भए पनि अब नेता कार्यकर्ता पुरानै घरमा फर्किन लागेको स्थानीय नेता कार्यकर्ताको भनाइ छ ।
एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतका अनुसार पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने दाबी गरे । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ योगी रहनुभएको छ । प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तिर्थ बुढाले एकीकृत समाजवादी पाटी यथावत रहेको बताए । बहुमत सदस्यसहित एमालेमै फर्केको भन्ने हल्ला मात्रै रहेको दाबी गरे ।
कारबाहीको घोषणा
नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निस्काशनको घोषणा गरेको छ । पार्टी महासचिव डा. वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन लागिएको अवस्थामा जुम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेकाहरुले पार्टी विरोधी शक्तिसँग साँठगाँठ गर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको भुसालको भनाइ छ ।
गोरखापत्र






