मुक्तक कसरी लेख्ने ?

उत्तम पौडेल ।
सुर्खेत,१९ कात्तिक ।

भर्खर मुक्तक लेख्न प्रयासरत मित्रहरुलाई सजिलोको लागि तल केही जानकारी दिने प्रयास गरिएको छ । कृपया यसलाई बामे सर्न आवश्यक ज्ञानको रूपमा लिनुहोला । अन्य कुनैपनि कला वा सिप हासिल गर्नको लागि जस्तै राम्रो मुक्तक लेख्न पनि निरन्तर अभ्यास, अध्यन र साधना जरुरी हुन्छ । मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो ।

मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ । हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द÷अंश लाई अनुप्रास भनिन्छ । मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ । दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ । समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ  तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार÷झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ ।

चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ । मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ । मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ । लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०÷२२ भन्दा कम अक्षर भए राम्रो । कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन ।

सकेसम्म सबै हरफहरु एकै लम्बाइका होउन् , सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस् । (अभ्यस्त मुक्तकारहरूले धेरै स्वरवर्णको प्रयोग गरेर सजिलोसँग पढ्न मिल्नेगरी लामा हरफहरू पनि कोर्न सक्छन्, त्यतातिर अहिले नजाऔँ ।) चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन । मुक्तकले भाव र गहिराइको माग राख्दछ ।

एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ । मुक्तकका हरफहरु बीच एक–आपसमा अन्तरसम्बन्ध हुनुपर्छ । माथि भर्खरै पढ्नुभएको नियम र मुक्तक राम्रो बनाउने तत्वहरुलाई उदाहारणमा हेरौंः– मुक्तकः १ ( लेखकः भूपि शेरचन ) प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ ( उठान) प्रत्येक रंगिन चरालाई बनको मजुर भन्न मनलाग्छ ( समर्थन, पृष्ठभूमि तयार भयो अब ) चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त (स्वतन्त्र हरफ , मार हान्न ठिक्क) बाटामा कुनै गधा देखेपनि हजुर भन्न मनलाग्छ ।

( मार हान्ने हरफ ) माथिको मुक्तकमा हरफ १, २ र ४ का पछिल्ला तीन शब्दहरु ‘अनुप्रास’ हुन् । यो मुक्तकले ‘चाकडी प्रवृति’ को बारेमा बोलेको छ, व्यंग्यात्मक भाषामा । मुक्तकः २ (लेखकः कृष्णप्रसाद पराजुली, नेपाली मुक्तक विधाका प्रणेता, ‘सय थुँगा फूल’ बाट) आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी (पृष्ठभूमि वा उठान) म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी (पृष्ठभूमिको लागि थप समर्थन) आऊ अझ मेरा झरेका सपनाका पातहरुमा टेकेर (स्वतन्त्र हरफ जसले लक्षभेदन गर्छ) क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी ।

(लक्ष भेदनको परिणाम, प्रभाव दिन्छ ।) हामीलाई लाग्छ, यी दुईवटा मुक्तकले चतुष्पदीय मुक्तक संरचना र मुक्तकको आधारभूत रूप, सार र सौन्दर्य पक्षबारे धेरथोर जानकारी दिन्छन् ।

(स्रोत :  मुक्तक मनोहर

कथा : सोझी मैयाँको कमाल

मुक्तक : सम्झिन्थे तिमीलाई मेरी दिलकी रानी

Leave a comment

Your email address will not be published. Required fields are marked *