कर्णालीका मुस्लिम समुदाय विकासको मूलधारबाहिर

सुर्खेत,१९ कात्तिक ।
वीरेन्द्रनगर–११ का ६८ वर्षीय अहमद रज्जाले पञ्चायतकालदेखि नै आफूहरूको परिवर्तनको आशामा भोट हाल्दै आए । तर व्यवस्था परिवर्तन भए पनि आफूहरूको अवस्था कुनै पनि दल तथा नेताले फेर्न नसकेको गुनासो उनी गर्छन् । ‘भोट त हामीले कति हाल्यौँ कत्ति,’ उनी भन्छन्, ‘तर अब आस पनि मरिसक्यो, हाम्रो अवस्था फेरिदिन्छौँ भन्ने पनि धेरै आए तर खै चुनाव जितेपछि कोही पनि फर्किएर आउँदैनन्न ।’
नेपालको संविधानले सबै जातजाति, भाषाभाषी र समुदायलाई राज्यका हरेक निकायमा समान अवसर र अधिकार दिएको छ । अझ अल्पसंख्यकलाई आरक्षणको समेत व्यवस्था संविधानले गरेको छ । तर कर्णालीका मुस्लिम समुदायले समावेशिताको अवसरसमेत पाउन सकेका छैनन ।
कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा २०२४ सालदेखि बसोबास गर्दै आएका मुस्लिम समुदायको अवस्था अहिले पनि कमजोर छ । उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा अवसर पाउन सकेका छैनन् । त्यही कारण आर्थिक अवस्थामा पनि सुधार हुन सकेको छैन । गरिबी र अभावका कारण सानोतिनो खुद्रा व्यापारको भरमा उनीहरूले जीवनयापन गरिरहेका छन ।
०४६ सालदेखिका परिवर्तनमा कर्णालीका मुस्लिम समुदायको योगदान देखिए पनि राजनीतिक परिवर्तनले उनीहरूको जीवनस्तर सुधारमा सहयोग नपुगेको वीरेन्द्रनगरका अकबर खानको गुनासो छ । ‘उच्च शिक्षा हासिल गरेका व्यक्ति हाम्रो समुदायमा निकै कम छन्,’ उनले भने, ‘अन्य मुस्लिम समुदायको भन्दा कर्णालीका मुस्लिम समुदायको पहुँच राज्यका निकायसम्म पुग्न सकेको छैन, हाम्रो समुदायमा १२ पास गरेकाले पनि अटो चलाउनुपर्ने बाध्यता छ ।’
![]()
कर्णालीका मुस्लिम समुदायका अधिकांश युवाहरू अटो तथा जिप चालक छन् । आफूहरूलाई बाटो, बिजुली, पानीसँगै संस्थागत विकास चाहिएको खानको भनाइ छ । ‘उच्च शिक्षा हासिल गर्न सक्ने धेरै समुदायको स्थिति छैन,’ उनले भने, ‘अनि युवाहरू सबै बीचैमा पढाइ छाडेर कोही विदेश जाने त कोही अटो र जिप चलाएर दैनिकी चलाइरहेका छन ।’
वीरेन्द्रनगरकै हनिफबक्स मियाँ आफूहरूलाई जति चुनाव आए पनि केही उत्साह नछाएको बताउँछन । ‘जति भोट हाले पनि हाम्रो समुदायको स्तर माथि उठ्न सकेको छैन,’ उनले भने, ‘धेरैको आर्थिक स्थिति न्यून छ, सामान्य खुद्रा व्यापार गरेर गुजारा चलाइरहनुपरेको छ ।’ मुस्लिम समुदायका बालबालिका वीरेन्द्रनगर–१० को पिपिरास्थित मदरसा मदिना माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्छन ।
त्यसपछि अधिकांशले बीचैमा पढाइ छाड्ने गरेका छन् । बेलघारीमा रहेको मुस्लिम समुदायको बस्तीमा १ सय ६७ घरधुरी छन । यो समुदाय शिक्षा, स्वास्थ्य र रोजगारीमा निकै पछाडि छ । यहाँ तीन जना मात्रै स्नातक तह उत्तीर्ण गरेका तीन जना मात्रै छन ।
कर्णाली प्रदेशमा मुस्लिम समुदायको जनसंख्या करिब ८ हजार छ । अल्पसंख्यक मुस्लिम समुदायबाट एक जना मोहम्मद युसुफले स्नातकोत्तर गरी मध्यपश्चिम विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा अध्यापन गराइरहेका छन् । त्यसबाहेक कर्णाली प्रदेशबाट यो समुदायका कुनै पनि व्यक्ति माथिल्लो तहका पुग्न सकेका छैनन ।
सरकारले मुस्लिमलाई आरक्षण कोटाको व्यवस्था नगरेको होइन । तर उक्त कोटा मधेसी मुस्लिमले मात्र पाउँदा कर्णाली प्रदेशका मुस्लिमले लाभ लिन सकेका छैनन । राजनीतिक पहुँच नहुँदा आफूहरूको वृत्ति विकाससमेत असर परेको मदरसा मदिना माविकी शिक्षिका खतिजा बिबी बताउँछिन । ‘अहिले चुनावमा पनि कुनै नेताले हाम्रो मागलाई प्राथमिकतामा राखेका छैनन्,’ उनले भनिन् ।
कान्तिपुर





