नक्सामा समेटिएको भूगोल एमालेले फिर्ता ल्याउँछ : ओली

काठमाडौं,१९ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूगोलमा पनि ल्याउने दाबी गरेका छन्। दार्चुला सदरमुकाम खलंगामा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘हामीले चुच्चे नक्सा जारी गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्ने सन्देश दिइसकेका छौं। अब भूगोल ल्याउन पनि एमालेको सरकार चाहिन्छ। मंसिर ४ मा एमालेको सरकार बन्छ। नक्सामा समेटिएको भूगोल पनि फिर्ता ल्याइन्छ’ ओलीले भने।

उनले विशाल भूगोल भएको भारतले सिमानाका स–साना कुरामा सानो मन गर्न नहुने जिकिर गरे। ‘भारतको भूगोल ठूलो छ, ठूलो भूगोल भएको भारतले स–साना कुरामा सानो मन गर्नु हुँदैन’ ओलीले भने। उनले सानो खोल्सो देखाएर काली नदी भनिएको, सानो कृत्रिम मन्दिर बनाएर काली मन्दिर भनेर भारतले नेपालीहरूलाई गुमराहमा राखेको आरोप लगाए।

‘सानो खोल्सो देखाएर काली नदी भनिएको छ। कृत्रिम मन्दिर भनेर काली मन्दिर भनिएको छ। तर हामीलाई थाहा छ, हाम्रो भूगोल कहाँसम्म हो भनेर। त्यसैले नक्सा जारी भयो। नेकपा एमाले भूगोल ल्याउने प्रतिबद्धता गर्दछ’ ओलीले भने  उनले नदीले कटान गरी सर्नेबित्तिकै सिमाना नसर्ने बताए। उनले भने ‘म भारतलाई के भन्न चाहन्छु भने नदीले कटान गरेर सर्नेबित्तिकै देशको सिमाना सर्दैन।’ सत्ता गठबन्धनका उम्मेदवार दिलेन्द्र बडूलाई भोट माग्न आउँदा पटकपटक मन्त्री भएर अहिलेसम्म के गर्नुभयो भनेर सोध्न पनि मतदातालाई ओलीको आग्रह थियो।

‘गठबन्धनका उम्मेदवार बडूलाई सोध्नुस्। पटकपटक मन्त्री भएर अहिलेसम्म दार्चुलाका लागि के गर्नुभयो भनेर। खलंगाको जनसागर देखेर बडूजीलाई के भन्न चाहन्छु भने दार्चुला होइन, अब तपाईं काठमाडौंमै बस्नुस्’ ओलीले भने। दार्चुला सदरमुकाम खलंगामा उर्लेको जनताको भीड देखेर उत्साहित भएका ओलीले भने, ‘दुर्गम जिल्लाको दुर्गम ठाउँको यो जनसागर बिहानी हो, बिहानीले दिनको संकेत गरिसकेको छ।

’ उनले दार्चुला सदरमुकामको तटबन्धनको समस्या, दार्चुला–तिंकर सडक, महाकाली करिडोरजस्ता रणनैतिक महŒवका विकास पूर्वाधारहरू एमालेले सुरु गरेको र एमालेले नै सम्पन्न गर्ने दाबी गरे। अध्यक्ष ओलीले चुनावपछि एक दिन बस्ने गरी दार्चुला आउने वाचा गरे। ‘आज मैले तीन ठाउँमा चुनावीसभा सम्बोधन गर्नुछ। म चुनाव सकिएपछि एक दिन दार्चुला बस्ने गरी आउँछु। तपाईंहरूसँग बसेर कुरा गर्छु। तपाईंहरूसँग फोटो खिचाउछु,’ ओलीले भने।

अध्यक्ष ओलीले शुक्रबार नै बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई पनि सम्बोधन गरे। ‘पाँच÷पाँच पटक प्रधानमन्त्री भएका यसै क्षेत्रका नेता शेरबहादुर देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी देखेनन्। बैतडीको झुलाघाटको झोलुंगेपुल देखेनन्। महाकाली करिडोरको निर्माण सुस्ताएको देखेनन्। मध्यपहाडी लोकमार्ग देखेनन्। तर मेचीनगरको मान्छे, बैतडीका सबै समस्या मलाई थाहा छन्’ ओलीले भने।

बैतडीको पाटनमा पनि एमाले अध्यक्ष ओलीको सम्बोधन सुन्न हजारौं जनता उपस्थित थिए। उर्लिएको जनसागर देखेर उत्साहित भएका ओलीले भने, ‘यो जनसागर देखेर दामोदर भण्डारी र प्रदेशका दुवै सिट एमालेले जितिसके।’ नेकपा एमालेले बैतडीबाट प्रतिनिधिसभामा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई उठाएको छ।

उनले झुलाघाटमा पक्की पुल बनाउने ग्यारेन्टी एमालेले लिने बताए। ‘थोत्रो पुलले हुँदैन, अब पक्की पुल बनाउनुपर्छ। त्यो जिम्मा एमालेले लिनेछ, त्यो जिम्मा म लिन्छु,’ उनले भने। उनले बैतडी जिल्लामा रहेका फलाम, फस्फोरसलगायतका खानीको उत्खनन गरिने समेत बताए।

यसैगरी, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले विकासको ढोका सुदूरपश्चिमबाट खुल्ने बताएका छन्। बैतडीको पाटनमा आयोजना गरिएको विशाल चुनावी सभालाई सम्बोधन गर्दै भट्टले पार्टीले चुनावी अभियान सुदूरपश्चिमबाट गरेको र विकासको ढोका पनि यसै प्रदेशबाट हुने समेत बताएका छन्।

नेता ओलीले शुक्रबार नै कञ्चनपुरको महेन्द्रनगरमा पनि चुनावी सभालाई सम्बोधन गरे अधिकांश समय गठबन्धनको आलोचनामा खर्चेका ओलीले भने, ‘प्रचण्डले सहिदको रगत बेचे। प्रचण्डले भन्ने गरेको महान् जनयुद्ध गरे, के का लागि ? बुहारीका लागि, छोरीका लागि, ज्वाईंका लागि, भाइ र भतिजाका लागि। मैले एकातिर प्रचण्डको अनुहार सम्झिन्छु, अर्कोतिर ती सहिद परिवार र घाइते अपांगहरू।’
कञ्चनपुरको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओली

उनले प्रचण्डलाई पिँध नभएको भाँडाजस्तै भएको आरोप लगाए। ‘प्रचण्डजस्ता पिँध नभएका मान्छे ल्याएर पार्टी एक बनाएँ, झन्डै दुई तिहाइको सरकार बनाएँ, त्यतिबेला रामले हनुमान, सुग्रिबजस्ता बानरहरू लगेर लंकामा कसरी युद्ध जिते होलान्, यहाँ त, घर भत्काए, बगैंचा उखबाडे, अनि कांग्रेसको पाली (पिँढी)मा गएर बसे’ ओलीले भने। उनले प्रचण्ड खरानी घसेर कांग्रेसको पालीमा गएको आरोप लगाए। ओली, शुक्रबार नै काठमाडौं फर्किएका छन् ।

अन्नपुर्ण

नक्सामा समेटिएको भूगोल एमालेले फिर्ता ल्याउँछ :  ओली

विद्यार्थी खुल्ला धुलो भएको चौरमा अध्ययन गर्न

नक्सामा समेटिएको भूगोल एमालेले फिर्ता ल्याउँछ :  ओली

कर्णालीका मुस्लिम समुदाय विकासको मूलधारबाहिर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!