असोजकाे पहिलो हप्ताबाट दशैका लागि टिकट बुकिङ खोल्ने तयारी
काठामण्डौ,२० भदाै ।
यातायत व्यवस्था विभागको सहकार्यमा असोज पहिलो हप्ताबाट बसको अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र महासंघको समन्वयमा दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँरले जानकारी दिए । ‘सकेसम्म असोजको पहिलो हप्ता बसको टिकट खोल्ने हाम्रो योजना हो,’ उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै सडकको हो।
कतैको सडक पनि अहिलेको अवस्थामा राम्रो छैन। त्यस्तै टिकट वितरणमा समेत राम्रो व्यवस्था छैन, अब अनलाइन टिकेटिङको व्यवस्था गर्ने बारे छलफल भएका छन्। यसै दशैमा अनलाइन मार्फत टिकट काट्न सकिने गरी महासंघ लागेको छ।’
उनका अनुसार अब अनलाइनमा मार्फत समेत टिकट काटेर सिधै बसपार्क जान सकिने छ । हाल नेपालमा पश्चिम नेपाल, पोखरा बस सेवा लगायत १०र१२ वटा रुटअनुसार आफ्नै अनलाइन टिकेटिङ एपहरु संचालन भइरहेका छन् । बससेवा तथा अन्य अनलाइन एपहरुमा साझा यातायात, धौलागिरी यातायात, शुभ जगदम्बा ट्राभल्स, स्वयम्भु मन्जुश्री, पोखरा जगदम्बा, मनकामना दर्शन, माउन्ट मकालु यातायात लगायतका डेढ सयभन्दा धेरै बस कम्पनी आबद्ध रहेको उनले बताए।
दाङमा राप्ती यातायात प्रालि, बुटवलमा पश्चिम नेपाल बस व्यवसायी, पूर्वमा मकालु, मेट्रो, पोखराका लागि जगदम्बा यातायात, साझा यातायात लगायत मुलुकका मुख्य गन्तव्यका लागि टिकट काट्न सकिने स्वाँरको भनाइ छ। साथै महासंघले व्यक्तिगत रुपमा संचालन भएका बस टिकेटिङ एपहरुलाई एउटै प्ल्याटफर्ममा ल्याउने तयारी समेत गरिएको अध्यक्ष स्वाँरले बताए।





