कर्णालीमा तरकारी उत्पादन : दुई प्रतिशतले उत्पादन बढ्यो, अझै दुई तिहाई आयात

पुनम वि.सी.
सुर्खेत, २२ जेठ ।
कर्णाली उत्पादनका रुपमा आफैमा सक्षम प्रदेश होइन । यहाँको मुख्य बजार नै छिमेकी मुलुक भारत रही आएको छ । समय–समयमा उत्पादनका रुपमा कर्णालीमा बहसहरु कुर्दै आएपनि त्यसले कार्यान्वयन भने गरेको देखिँदैन ।
कर्णाली उत्पादनका तवरमा अघि सरेको छैन । प्रदेशमा खपत हुने तरकारी, फलफूल तथा मसलाजन्य उपज उत्पादनमा कर्णालीले अझै ध्यान दिन नसकेको देखिन्छ । प्रदेशभर करिव दुईलाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा छ ।
सबै जमिन खेतीका लागि कर्णालीले प्रयोगमा ल्याउन सकेको छैन । कुल खेतियोग्य जमिनको ७३ प्रतिशत जमिन मात्र खेतीका लागि प्रयोग भएका छन् । अर्को विडम्वना, खेती गर्ने गरिएका सबै जमिनमा समेत सिंचाई सुविधा पुगेको छैन ।
खेती सञ्चालन भईरहेका कुल जमिन मध्ये ३१ प्रतिशत हाराहारी जमिनमा मात्र प्रयाप्त सिंचाई सुविधा पुगेको छ । ३८ हजार ३३ हेक्टर क्षेत्रफल जमिनमा मात्र बर्षभरी सिंचाई सुविधा उपलब्ध हुन्छ ।
यस तथ्यांकले कर्णाली प्रदेशमा आधा भन्दा धेरै खेती योग जमिनमा कृषि उपज उत्पादनको क्षमता रहेपनि खास प्रयोगमा आउन सकेका छैनन् । यसको प्रत्येक्ष असर कर्णालीको अर्थतन्त्रमा देखिन थालेको छ । प्रदेशमा उत्पादन नभएपनि आयात मात्र गरिरहँदा कर्णालीको अर्थतन्त्र कमजोर बनिरहेको छ ।
प्रदेशका लागि आवश्यक तरकारी, फलफूल र मसलाजन्य उपजको करिव एक तिहाई भाग मात्र कर्णाली आफैले उत्पादन गर्ने गरेको तथ्यांक देखिन्छ । चालुु आर्थिक बर्षको १० महिनामा सुर्खेतमा रहेको कृषि बजारमा भएको कृषि उपजहरुको कारोवार तथ्यांक हेर्दा खपतमा आधारमा कर्णालीमा बाहिरबाट अत्याधिक आयात भएको देखिन्छ ।
कर्णालीमा मुख्य गरी छिमेकी मुलुक भारतबाट कृषि उपज आयात आईरहेको छ । त्यसैगरी बाँके, महेन्द्रनगर, चितवन, बर्दिया लगायतका स्थानबाट कर्णालीमा कृषि उत्पादन आयात भएका छन् । प्रदेशमा बाहिरबाट आयात गरी खरिद बिक्रि गर्ने कृषि उत्पादनको मुख्य बजार नै वीरेन्द्रनगर स्थित सुर्खेतको कृषि बजार हो ।

६८ प्रतिशत कर्णालीको लागि तरकारी आयात भएको छ । कुल खपत तरकारीको परिमाणमा ५१ प्रतिशत तरकारी भारतबाट मात्रै आयात भएको देखिन्छ ।
त्यसैगरी चालु आर्थिक बर्षको वैशाखसम्ममा कर्णालीको कृषि उपज बजारमा नौं हजार नौं सय ६२ मेट्रिक्टन फलफूलको कारोवार भएको छ । यसमध्ये ३१ प्रतिशत फलफुल कर्णालीमा उत्पादन भएका हुन् । ६९ प्रतिशत फलफुल कर्णालीमा आयात गरिएको देखिन्छ ।
भारतबाट मात्रै ४८ प्रतिशत र चीनबाट १२ प्रतिशत फलफुलहरु आयात भएका छन् । कर्णालीको बजारमा चीनबाट स्याउ र लुसन मात्र आयात हुने गर्छ ।
त्यसैगरी मसला जन्य कृषि उपजतर्फ कर्णालीमा एक हजार १३ मेट्रिक्टन बजारमा पुगेको छ । जसमध्ये ५८ प्रतिशत उत्पादन कर्णालीको आफ्नै हो ।
४२ प्रतिशत मसला आयातमा कर्णालीमा भारतबाट ४२ प्रतिशत र चीनबाट दुई प्रतिशत मसलामा प्रयोग हुने कृषि उपज आयात भएका छन् बाँकी नेपालका अन्य जिल्लाहरुबाट आयत हुने कृषि बजार सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए ।
दुई प्रतिशत उत्पादन बढ्नुको झिनो आसा
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा कर्णालीमा कृषि उपज उत्पादन बढ्न थालेको भने छ । गत आर्थिक वर्षको तुलनामा कर्णालीमा दुई प्रतिशतले कृषि उत्पादन बढेका छन् ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा कुल ९७ हजार नौं सय ३२ क्वीन्टल तरकारी जन्य कृषि उत्पादन भएको छ । विगत आर्थिक वर्षको तुलनामा यो संख्या दुई प्रतिशतले भने बढेको हो ।
प्याजसमेत उत्पादन गर्न सकेन कर्णालीले
कर्णाली आयात हुने तरकारीहरुमा सबैभन्दा बढी प्याज नै रहेको छ । यसका साथै टमाटर, आलु, तितेकरेला, केरा, स्याउ, सुन्तला, काँक्रा, खुर्सानी र लसुन कर्णालीमा सबैभन्दा धेरै आयात गरिने कृषि उत्पादनहरु हुन् ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कर्णालीमा भारतबाट मात्रै २८ हजार ६ सय ३० क्वीन्टल प्याज आयात भएको तथ्यांक छ । यो वर्ष कर्णाली आफैले प्याज उत्पादन गर्न सकेन । कुल खपतको शतप्रतिशत नै भारतबाट प्याज आयात भएको देखिन्छ ।
त्यसैगरी २३ हजार तीन सय ९२ क्विन्टल आलु भारतबाट मात्रै आयात भएको छ । तीन हजार आठ सय ९७ क्वीन्टल आफु नेपालका अन्य जिल्लाबाट आयात गरिएको छ ।
चालु आर्थिक बर्षको वैशाख मसान्तसम्ममा कर्णालीमा ४३ हजार ४८ क्वीन्टल आलु खपत भएको थियो । खपतको तुलनामा ६३ प्रतिशत भन्दा बढी आलु आयात भएको छ । फलफुलतर्फ भने कर्णालीमा सबैभन्दा धेरै केरा आयात भएको छ ।
भारतबाट मात्रै ३७ हजार सात सय ९७ क्विन्टल केरा कर्णालीका लागी आयात गरिएको छ । त्यसैगरी प्रदेशका बाह्य जिल्लाहरुबाट भने पाँच हजार चार सय ७५ क्वीन्टल केरा आयात भएको छ । कुल खपतको ९९ प्रतिशत प्रदेश बाहिरबाट केरा आयात भईरहेको छ । त्यसैगरी हरियो खुर्सानी र लसुनको आयात पनि उहि तुलनामा छन् ।








