पहिरोले नहर भत्काएपछि सिमकोटमा विद्युत् सेवा अवरुद्ध

हुम्ला, १८ असोज ।
बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुुकाम सिमकोट लगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । हिल्दुम विद्युत् आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध भएको हो ।
हिल्दुम विद्युत् वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख सुुशीलकुमार थारुले नहरको पानी चुहावट भएर पहिरोले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए । पहिरोले नहर भत्काउनुुका साथै पन्ध्र बीस मिटर ग्याबिन लगाएको भाग पनि भासिएको उनको भनाइ छ ।

नहर भत्किएपछि सोमबार बेलुुकाबाट सिमकोट र खार्पुनाथ गाउँपालिका अन्धकार भएको छ । भत्किएको नहरको मर्मतका लागि मङ्गलबार बिहानैबाट केन्द्रका कर्मचारी खटिएको र काम भइरहेको थारुले बताए । कहिलेसम्म विद्युत् आपूर्ति गर्ने भन्ने अहिले नै भन्न नसकिने उनले बताए ।
भत्किएको नहरमा काम सुुरु भएको र सम्पन्न हुने बित्तिक्कै विद्युत् सुचारु गरिने उहाँले जानकारी दिए । दशैं अवधिभरि विद्युत् सुुचारु गर्न कठिन रहेको उहाँको भनाइ छ । विद्युत् अवरुद्ध हुँदा यहाँका दुुई हजारभन्दा बढी सेवाग्राही मर्कामा पर्नुभएको छ ।
सो आयोजनाको मुुहानबाट फर्बे ट्याङ्कीसम्मको नहर मर्मत गर्नुका लागि भदौ २८ गतेबाट असोज ५ गतेसम्म पनि विद्युत् सेवा अवरुद्ध भएको थियो । वर्षाका कारण काम गर्न कठिनाइ भइरहँदा पनि विद्युत् सुुचारु गरिएको थियो ।
गोरखापत्र






