नलगाड नगरपालिकाको प्रशासनिक भवन उद्घाटन

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), २१ चैत्र ।
नलगाड नगरपालिका दल्ली जाजरकोटको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । करिव ३ करोडबढीको लागतमा नवनिर्मित प्रशासनिक भवनमा कार्यालय प्रयोजनका लागि ३५ वटा कोठा रहेका छन् ।
पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले एक कार्यक्रमवीच सोमबार भवनको उद्घाटन गरिएको छ । उद्घाटनका क्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले जाजरकोट जिल्लाको समग्र विकासका लागि आफु रातदिन खटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘जाजरकोटको पूर्वाधार विकास, शैक्षिक विकास, खानेपानी, विद्यूतिकरण, सिंचाईमा गम्भिरतापूर्वक लागेको छु । एक जनप्रतिनिधि, जनताको सेवकको नाताले सम्पूर्ण समय जिल्लाकै विकासमा खर्च गरेको छु ।’
नगर प्रमुख टेक बहादुर रावलले प्रशासनिक भवन निर्माण गर्दा सामाग्री ढुवानी गर्न एकदमै कठिनाई भएपनि ४ बर्ष को अन्तरालमा निर्माण सम्पन्न गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रशासनिक भवन उद्घाटन कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, सबै क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा नगरपालिकाको विकासमा महत्वपूर्ण योगदान पुराउने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।









