हिउँले खुट्टा खाएपछि परिवारै अपाङ्गता, अशक्त बृद्ध आमाको उद्धार

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), २१ चैत्र ।
आर्थिक अभावले गर्दा उपचार नपाएर ६ महिनादेखि थला पर्नु भएकी ७६ बर्षकी सेतु कामीलाई उपचारको लागि उद्धार गरिएको छ । नलगाड नगरपालिका वडा नं. १ चिउरी जाजरकोट निवासी बृद्ध आमा सेतु कामीको थप उपचारका लागि उद्धार गरिएको हो ।
भारतमा काम गर्न गएको बेला हिउले खाएपछि आमाको छोरासहित पाँच जना परिवारपनि अपाङ्गता हुनुहुन्छ । कामको लागि भारतको लदाख भन्ने ठाउँ गएको बेला हिउँमा परेर उहाँहरुले आफ्नो हात खुट्टा गुमाउनु भएको थियो । हिउँमा परेपछि खुट्टामा बनेको घाउँ पाक्दै गएपछि बृद्ध आमा र उहाँको परिवार समस्यामा थियो ।
उहाँको जेठो छोरालाई आइएनएफले ४५ हजार भन्दा बढी पर्ने ह्वील चेयर सहयोग गरेको छ । उहाँको आर्थिक अवस्था र परिवारको स्वास्थ्य समस्या जानकारी पाएपछि ह्वील चेयर सहयोग गर्ने निर्णय गरिएको थियो ।
पत्रकार प्रकाश पन्त, डा. नवराज केसी, डा. रुपक कँडेल र आइएनएफ सुर्खेतका प्रमुख उदयनाथ योगीको पहलमा आमाको उद्धार गरिएको हो । उपचार नपाएर घरमै खुट्टा गल्न लागेकी आमालाई उपचारको लागि उद्धार गरी सुर्खेत ल्याईएर निःशुल्क उपचार थालिएको छ ।
पत्रकार प्रकाश पन्त लेख्नुहुुन्छ ‘नजिकै रहेको सरोकारवाला निकायले उहाँको समस्यालाई महशुस नगर्दा तपाईहरुले कम्तिमा पनि टाढै भएपनि त्यो मर्म त बुझ्नुभयो ।’
पत्रकार प्रकाश पन्तको एउटा सानो आग्रहमा निःशुल्क उपचार गर्न सहयोग गर्ने डा. केसी र कँडेलका साथै कर्णाली केयर अस्पताल र सुर्खेतबाट गाडी ल्याएर विरामी आमालाई उहाँको घरमै आएर लैजाने सहयोग गर्ने आइएनएफ सुर्खेतका प्रमुख उदयनाथ योगी, उदय हमाल, नारायण खड्का र उहाँको टिमलाई धन्यवाद दिइएको छ ।
आमाको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र उपचारको लागि व्यवस्था गर्न वारम्वार आग्रह गर्ने परिमल राना र महेश चनाराका साथै उद्धार र उपचारको लागि साथ दिने समाजसेवी धनवीर चनारा, सुरेश सुनार, धमेन्द्र सुनार, स्वास्थ्यकर्मी तप्त चनार र कृष्ण खडकाप्रति पनि आभार व्यक्त गर्नुभएको छ ।
पत्रकार पन्त भन्नुहुन्छ ‘आर्थिक अभावले गर्दा अस्पतालसम्म जान नपाएको देख्दा मलाई त्यो कुराले साह्रै नै पिरोलेको थियो । आमालाई उपचारको लागि मैले थालेको पहल कदमीले सार्थकता पाएको छ । आशा छ उहाँ चाडै निको भएर फेरी पहिले जस्तै घुमफिर गर्नु हुनेछ ।’
परिवारका सदस्य शसे कामीसंग गरिएको कुराकानी
१. हजुरको आमा कसरी यो अवस्थामा पुग्नुभयो बताइदिनुस् न ?
– यो गत वर्ष को कुरा हो, आमा अहिले ७० बर्ष को हुनुहुन्छ आमाको नाम सेतु कामी हो यो भन्दा पहिले खासै विरामी हुनुहुदैन्थ्यो । तर एक्कासी के भयो भयो बिरामी भएर घरमा थला नै पर्नुभयो ।
बिस्तारै बिस्तारै निको होला भन्ने आसामा झन–झन स्वास्थ्यमा खतरा देखिँदै गयो । आर्थिक अवस्था कमजोर भएर उपचार गर्न कतै लान सकिएन । त्यसपछि बिरामी भएको एक महिनापछि बिस्तारै खुट्टाको औलाहरु खस्न थाले त्यसरीनै यो अवस्था आएको हो ।
२. हजुरलाई यस्तो अवस्थामा देख्दा नलगाड नगरपालिका ले केहि सहयोग गर्यो कि गरेन ?
–हामीलाई यस्तो अवस्थामा देख्दा नलगाड नगरपालिका ले दिने सेवा सुबिधा हामीलाई थाहा भएन । वडाले पनि केहि वास्ता गरेन, लाष्टमा मलाई अहिले यो अवस्थामा देख्दा पत्रकार प्रकाश पन्तले सहयोग गर्नुभयो ।
अरु हाम्रो घरमा भेट्न हेर्न कुनै पनि मान्छेहरु आउनुभएन । नलगाड नगरपालिकाले सहयोग भनेको एउटा भत्ता दिने गरेको छ, महिनाको २००० दिएको छ । यो पैसाले घर खर्च चलाउने कि उपचार गर्ने, हामी अल्मलिएका छांै ।
३.अनि तपाइले कसरी हातखुट्टा गुमाउनु भयो ?
– म पहिला काम गर्न भारतको लदाग जानुपर्ने बाध्यता थियो । घरमा बर्षै पिच्छे सदस्य बृद्धि हुन लाग्यो, घरमा छोराछोरी भाइ–बैनि सबै साना काम गर्न नसक्ने थिए । अनि म घरमा सबैको पेट भर्नलाई भारत को लदागमा काम गर्ने क्रम म हिउँले खाएको हो ।
म संगै मेरा छोरी–ज्वाई, मेरा दुइटा छोरा पनि हिउँले खाएर अपाङ्ग भएका सोहि परिवारका सदस्य लाल बहादुर कामी, अबिलाल कामी, यादब चनारा, अष्मिता चनारा गरी ४ जना हुन ।
४. हजुरलाई अहिले सहयोग क–कसले गर्नुभयो ?
– हामीहरु सबै यसरी नै थला परेका थियौं, एक्कासी प्रकाश पन्त भन्ने मान्छे मेरो घरमा आउनु भयो सबै सोध्नु भयो र तपाइलाई म सक्दो सहयोग गर्नेछु भनेर जानुभयो त्यसको ठिक ५ दिनमा उहाँले हामीलाई घरमै आएर उद्दार गर्नुभएको हो । यो खासमा प्रकाश पन्तको पहलमा सुर्खेत साइनिङ हस्पिटलले गाडी, ह्विलचियर सहित आइएनएफको उदय हमाल सरको पनि ठुलो भुमिका रहेको छ ।
यसमा थप हौसला दिनुहुने । महेश, परिमल, दिपेन्द्र शर्मा, जाजरकोट भेरी ज्ञानोद्यका पूर्व प्रमुख चन्द्र बहादुर बुढा, बद्री पन्त, पदम के सि लगायतले दिनुभयो । निःशुल्क उपचारको लागि सुर्खेत कर्णाली कियरमा पठाएको छ । कर्णाली कियर का डाः नवराज केसी र रुपक कंडेल सरले आमालाई निःशुल्क उपचार सुरु गर्नुभएको छ ।










