युरो कपबाट घर फर्किए ‘ग्रुप अफ डेथ’ का तीन पावरहाउस

काठमाडौं । युरो कप फुटबलको ग्रुप अफ डेथ मानिएको समूह एफबाट अन्तिम १६ मा प्रवेश गरेका तीनै टोली बाहिरिएका छन्। फुटबलकाे पावरहाउसको रूपमा रहेका फ्रान्स, पोर्चुगल र जर्मनी समूह एफबाट नकआउट चरणमा स्थान बनाएका थिए।
तर, मंगलबार इंग्ल्याण्ड जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ बाटै तीनै टोली बाहिरिएका छन्। ग्रुप अफ डेथमा साबिक विजेता पोर्चुगल, उपविजेता फ्रान्स र जर्मनी प्रतियोगिताको अन्तिम आठमा पनि पुग्न सकेनन्।
समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए। समूहमा सबै खेल निकै प्रतिस्पर्धात्मक रहँदा अन्तिम खेलसम्म पनि फ्रान्ससँगै सबै तीन टोलीको अघि बढ्ने सम्भावना जीवित थियो।
अन्तिम दिनको खेल अवधिभर सबै चार टोलीले शीर्ष दुई स्थान पनि लिएका थिए। समूह एफ मा फ्रान्सले ३ खेलमा ५ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको थियो। जर्मनी र पोर्चुगलले समान ४–४ अंक जोडे पनि हेड टू हेडमा जर्मनी अघि रहँदै दोस्रो भयो।
राउन्ड अफ १६ मा पोर्चुगल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। साबिक विजेतासमेत रहेको पोर्चुगलले १–० को हार बेहोरेको थियो। बेल्जियमका थोर्गन हाजार्डले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई घर फर्काएका थिए।
फ्रान्सले ३–१ को अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हार बेहोरेको थियो। पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो।
उक्त गोलमा गल्ती गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परिवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो। स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो।
बेन्जिमाले दुई मिनेटको अन्तरमा दुई शानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो। पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। तर, सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन। ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए। अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए।
फ्रान्सका लागि पल पोग्बा,ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौँ प्रहार गर्न आएका किलियन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए।






