दलित महिलाहरु सरकारी सेवा सुविधाबाट बञ्चित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका दलित महिलाहरु सरकारी सेवा सुविधाबाट बञ्चित भएको गुनासो गरेका छन् । दलित महिला संघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसमक्ष दलित महिलाले सेवा सुविधा पाउन नसकेको गुनासो गरेका हुन् ।
उनीहरुले दलित महिलाहरु आर्थिक अभावका कारण न्याय पाउन नसकेको, आत्मनिर्भर बन्न खोज्दा पनि रकमको अभाव हुने गरेको, केही रकम जुटाएर व्यवसाय गर्न खोज्दा थप पूँजी पाउन नसकेको हुँदा सेवसुविधा पाउनबाट बञ्चित भएको बताएका छन् ।
यस्तै घरेलु हिंसाबाट पीडित हुँदा सहज र छिटो छरितो न्याय सम्पादन हुन नसकेको, दलित लक्षित बजेट पहुँचवालाहरुले मात्रै लिएको गुनासो उनीहरुको छ । सरकारी निकायमा अनुदान माग गनँ जाँदा कोभिडलाई देखाएर पन्छाउने गरेको पनि उनीहरुले बताएका छन् ।
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले भने समूहमा आवद्ध दलित महिलाहरुको आयआर्जन बृद्धिका लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले नगरपालिकाले महिला स्वरोजगारका लागि एक करोड र दलित लक्षित कार्यक्रमका लागि २५ लाख बजेट छुट्याएकोले इच्छा र जाँगर भएका महिलाहरुलाई सहयोग गरिने बताइन् ।

दलित महिलामात्र नभइ नगरका सवै महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विभिन्न योजनाहरु बनाइरहेको हुँदा त्यसमा सहयोग गनुपर्ने उनको भनाइ छ ।
दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले दलित महिलाको अवस्था अझैसम्म पनि उस्तै रहेको बताइन् । दलित महिलालाई आत्मनिर्भर बनाउन भनी छुट्याइएको बजेट खर्च गर्न नसकेर फ्रिज भएमो दुःख प्रकट गर्दै उनले जसका कारण उनीहरुको अवस्था जस्ताको तस्तै रहेको बताइन् । आत्मनिर्भर हुन नसक्दा दलित महिलाहरु न्यायबाट बञ्चित हुनुपर्ने पनि उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालका वडा नं. ६ का वडाअध्यक्ष मोतीप्रसाद कँडेलले पहुँचवालाहरुले गर्दा विपन्न र दलित महिलाहरुलाई आशा गरे अनुसारको न्याय दिन नसकिएको बताए । उनले कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नि दलितमाथि विभेद कायमै रहेको जनाए ।
कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रमुख प्रहरी सहायक निरीक्षक डिला विक, आवाज संस्थाका बरिष्ठ मनोविमर्शकर्ता निशा पौडेललगायतले दलितको अवस्था उकास्न थुप्रै रकम खर्च भए पनि अवस्था जस्ताको तस्तै रहेको बताए । उनीहरुले आत्मनिर्भर बनाउनका लागि सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।
दलित महिला संघका सचिव खगिसरा वलीले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक सीता नेपालीले दलित महिलाको मानवअधिकार परियोजनाबाट वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका दलित महिलाहरुमा बचत गर्ने बानीको विकास भएको, दलित लक्षित बजेटको खोजी गर्न सक्षम भएको बताइन् ।






